×

माहादेव र रविलाललाई जुरेको दुर्लभ संयोग

दाजुभाइ नै एकसाथ सचिव

बुटवल | असोज ५, २०८१

गुल्मीका दाजुभाइ माहादेव र रविलाल पन्थ एकसाथ निजामती सेवाको उच्च पदमा पुगेका छन् । निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बिरैलै जुर्ने यस्तो संयोग गुल्मीको रुरूक्षेत्र गाउँपालिका–४ बलेटक्सारका सहोदर दाजुभाइ माहादेवरविलाललाई मिलेको हो ।

Laxmi Bank

यी दाजुभाइबीच अर्को संयोग पनि छ । दाजुभन्दा भाइ पहिले सचिव बनेका छन् । विसं २०७८ असोज १९ गते रविलाल र २०८१ भदौं २७ गते माहादेव सचिव बनेका हुन् । दाजु माहादेव लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवको भूमिकामा छन् भने रविलाल निर्वाचन आयोगको सचिव पदमा कार्यरत छन् ।
निजामती प्रशासनमा दाजु र अर्कोमा भाइ वा बहिनी सचिव पदमा पुगेका उदाहरण पाइन्छन् । तर, नेपाल सरकारका ७० जना सचिवमध्ये एउटै समयमा एकैपटक दाजुभाइ बहाल रहेको संयोग माहादेवरविलाललाई जुरेको छ । 


Advertisment

तीन दाजुभाइ उमेश, श्याम र गोपी मैनाली पनि नेपाल सरकारको सचिव भएका थिए । त्यस्तै आत्मराम पाण्डे र शंकर पाण्डे पनि सचिव भएका थिए । तर, दाजुभाइ नै एकसाथ कार्यरत भने थिएनन् । माहादेव भन्छन्, ‘विगतमा दाजुभाइ वा दिदीभाइ पनि सचिव भएको इतिहास छ । तर, एउटै समयमा काम गर्नेगरी अहिलेसम्म सचिव भएको सायद हामी दाजुभाइ मात्र होजस्तो लाग्छ ।’


Advertisment

निजामतीमा गुल्मीले एकपछि अर्को कीर्तिमान बनाउँदै गएको अवस्थामा माहादेवरविलालको पनि एउटा नयाँ कीर्तिमान थपिएको छ । २०२५ सालमा जन्मिएर २०४४ सालमा निजामती सेवामा पाइला राखेका माहादेव निजामतीको सबैभन्दा तल्लो तह मुखिया, खरिदार, नायब सुब्बा (नासु), शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिव भएका हुन् । गएको साता बसेको मन्त्रिपरिषद् बैठकले माहादेवलाई सचिवमा बढुवा गरेको हो । 

अझै रोचक के छ भने – २०६३ मा उपसचिवको एउटै विज्ञापनमा माहादेव र रविलालले नाम निकालेका थिए । त्यो विज्ञापनमा माहादेव ५ र रविलाल ६ नम्बरमा सिफारिस भएका थिए । २०६९ मा सहसचिवको विज्ञापनको लिखित परीक्षामा दाजुभाइले नै नाम निकाले । तर, अन्तरर्वार्तामा भाइ रविलाल उत्तीर्ण हुँदा दाजु माहादेव भने अनुत्तीर्ण रहे । फेरि अर्को वर्ष २०७० मा माहादेवले पनि सहसचिवमा नाम निकाल्न सफल भएका हुन् । 

३६ वर्ष निजामतीको अनुभव बटुलेका माहादेव सार्वजनिक प्रशासन र सुशासनको क्षेत्रमा अब्बल मानिन्छन् । प्रशासकको नेतृत्व लिएर सरल तरिकाले जिम्मेवारी पूरा गर्नु माहादेवको विशेषता रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । काभ्रेपलाञ्चोकदेखि  लुम्बिनी प्रदेशसम्मसाढे तीन दशकको यात्रामा आफूलाई कुनै दाग नलागेको माहादेवको दाबी छ । 

त्यस्तै, २०२७ मा जन्मिएर २०५७ मा दाजुसँगै शाखा अधिकृतबाट सेवा प्रवेश गरेका रविलाल २०६३ मा उपसचिव, २०६९ मा सहसचिव र २०७८ मा सचिवमा बढुवा भएका हुन् । निजामती सेवामा सुधारवादी प्रशासकको छवि रविलालको छ । रविलाल निजामतीको कमान्डर (मुख्यसचिव) बन्ने बलियो सम्भावना रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।  

८७ वर्षीय बुद्धिप्रसाद पन्थका ६ छोरामध्ये माहादेव साइला र रविलाल काइला हुन् । बाँकी अन्य ४ भाइ पनि राष्ट्रसेवामा उच्च पदमा रहे । जेठा छोरा यदुलाल रूपन्देहीको शहीद नारायण पोखरेल रामपुर क्याम्पस प्रमुख भएर हालै सेवा निवृत्त भएका छन् । त्यस्तै माइला छोरा कृष्णप्रसादले निजामती सेवाको सहसचिवसम्म पुगेर केही समयअघि अवकास लिएका छन् । ठाइला विष्णुप्रसाद नेपाल टेलिकमको ९औं तहका (उपसचिवसरह) हुन् भने कान्छा डा. नुरापति त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भौतिकशास्त्र तर्फको सहप्राध्यापक छन् । उनले खुला प्रतिस्पर्धाबाट नाम निकालेर २० वर्षदेखि प्राध्यापन गरिरहेका छन् । सहप्राध्यापक सहसचिव सरहको पद हो । 

अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका रविलाल जनप्रशासन ‘एनपीए’को ‘गोल्डमेडलिस्ट’समेत हुन् । अधिकृतमा नाम निकालेपछि उनको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा भएको थियो । त्यसपछि उनी वन मन्त्रालय, लोकसेवा आयोग क्षेत्रीय निर्देशालय, पोखराको प्रमुख भए । फेरि लोकसेवा आयोगको कार्यालय, काठमाडौं आए । यसपछि रविलाल दाङ, महोत्तरी, सुनसरी, बाँके गरी ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भए । ‘मधेश आन्दोलन, नाकाबन्दी र भूकम्पको बेला म प्रजिअको रूपमा कार्यरत रहे,’ उनले भने, ‘तराईंका जिल्लामा भइरहेका आन्दोलनमा मैले बल प्रयोगभन्दा वार्ता र छलफलबाट धेरै समस्या समाधान गरेँ । जनधनको क्षति पनि कम भयो ।’ 

चार जिल्लामा प्रजिअको भूमिका निभाएपछि रविलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवलमा कार्यालय प्रमुख भएर काम गरे । बुटवल र सुर्खेतपछि उनी काठमाडौंस्थित अख्तियारको मुख्य कार्यालय आए । संघीयता कार्यान्वनपछि उनले कोेशी र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा सचिव पदमा रहेर काम गरे ।

तीन वर्षअघि सरकारले सचिवमा बढुवा गरेपछि लुम्बिनीमा कार्यरत रहेका रविलाल गण्डकी प्रदेश सरकारको प्रमुख सचिव भएर पोखरा गएका हुन् । त्यहाँ उनले २० महिना काम गरे । ‘प्रदेश सरकारको सचिव भएर २० महिना काम गरेको म मात्रै रहेछु । धेरै सचिव छिटो–छिटो सुरुवा हुने क्रम भए पनि मैले भने अलि लामो समय काम गरेँ,’ उनी भन्छन् । 

गण्डकीको प्रमुख सचिवपछि युवा तथा खेलकूद मन्त्रालयका सचिव र पछिल्लो ६ महिनायता निर्वाचन आयोगमा सचिव पदमा कार्यरत रविलाल मुख्यसचिवको दाबेदारमध्येमा मानिन्छन् । अब मुख्यसचिव बन्नेहोला नि ? भन्ने प्रश्नमा रविलालले भने, ‘निजामती सेवामा प्रवेश गरेको २४ वर्षमध्ये १४ वर्ष मोफसल र १० वर्ष काठमाडौंमा सेवा प्रवाह गरियो । मुख्यसचिव हुने योग्यता सबै पुगेको छ । यो पद संयोग पनि हो । किनकि सबै कुरा मूल्यांकन गरेर मात्रै सरकारले नियुक्त गर्छ । त्यसमा म पनि कम छैन भन्ने लाग्छ ।’

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका माहादेव २०४४ मा मुखियाबाट निजामती सेवा प्रवेश गरेको ३६ वर्षपछि सचिव बनेका हुन् । काभ्रेपलाञ्चोकबाट सेवा शुरू गरेका उनी पाल्पा, प्युठान, रुकुम, जुम्ला, बागलुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवलपरासी, सुर्खेत, काठमाडौं, रूपन्देही हुँदै अहिले आफ्नै गृहप्रदेश (लुम्बिनी)को सचिवमा कार्यरत छन् । 

लोकसेवा आयोग उतीर्ण गरेर राष्ट्रसेवा गर्ने युवाका लागि माहादेव र रविलाल प्रेरणाको स्रोत बनेका छन् । किनकि उनीहरूले गाउँमा घाँस–दाउरा गर्दै पढेको सबैले देखेका छन् । अघिल्लो पुस्ताको प्रेरणा र आफूमा अठोट अनि मिहिनेतको संयोजनबाट आफूहरू निजामतीमा सफल भएको उनीहरू बताउँछन् । 
‘मनमा दृढ रुचि हुने हो भने निजामती सेवा गाह्रो पनि होइन,’ आउन चाहने नयाँ पुस्तालाई प्रेरणा दिँदै रविलाल भन्छन्, ‘पढाइलाई निरन्तरता दिए, सफलता पर छैन ।’ 

अहिलेको प्रतिस्पर्धात्मक निजामती क्षेत्रमा युवाले कुशल नेतृत्व गर्नेगरी प्रवेश गर्न आवश्यक रहेको माहादेव बताउँछन् ।

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x