१२ असार २०८३, शुक्रबार
मानव-सर्प द्वन्द्व घटाउने प्रयास

रहरै रहरमा सर्प उद्धारकर्ता बनेका प्रवीन

असोज ५, २०८१
कास्की
रहरै रहरमा सर्प उद्धारकर्ता बनेका प्रवीन

पोखराका प्रवीन पाण्डे दाइले सर्प समातेको नजिकबाट हेरिरहन्थे । उनका दाइसँग सर्प समाउने सोख थियो । कसैको घरमा सर्प पसेको थाहा पाए दाइ त्यहाँ पुगिहाल्थे । समातिएका सर्प विभिन्न स्टेज शोहरूमा प्रयोग गरिन्थ्यो । प्रवीनलाई यो काम अनौठोसँगै ठूलो लाग्थ्यो । 

null

हेर्दाहेर्दै उनी आफैँलाई पनि सर्प समात्न मन लाग्यो तर, फरक ढंगले । ‘किनकि दाइले गरेको सर्पको उद्धार ठीक थिएन । सर्पलाई हानी नपुगे पनि पर्यावरणीय हिसाबले यो ठीक थिएन । ‘स्टेजमा लगेर पर्फम गर्न सर्पलाई पनि असहज हुन्थ्यो,’ उनी भन्छन्, ‘मैले दाइलाई पनि भनेँ– अब सही अर्थमा उद्धार गरेर मानव र सर्पबीचको डर मेटाउनुपर्छ ।’

दाइलाई ‘कन्भिन्स’ गरेपछि प्रवीनले उनीबाटै सर्प समात्न सिके । जानेपछि उनी समात्न एक्लै हिँडे । चार वर्षअघि पहिलोपटक सर्पको उद्धार गर्न हिँडेका प्रवीन आजसम्म यसैमा लागिरहेका छन् । शुरूवातमा रहरले उद्धारमा खटिएका उनी आजकल भावनात्मक रूपमा जोडिन पुगेका छन् । 
शुरू–शुरूमा प्रवीन यसबारे धेरै जानकार थिएनन् । समातेको सर्प केही परको दूरीमा नै छोडिदिन्थे । ‘शुरूमा त सर्प उद्धार खाली देखाउनकै लागि हुन्थ्यो । सर्प संरक्षण समाजसँग जोडिएपछि स–साना कुरा बुझ्न थालें ।’ 

null

पहिले उनी सर्प समातेर फोटो खिच्थे । यही रहरले प्रवीनलाई पोखरामा रहेको ‘सर्प संरक्षण समाज नेपाल’सँग जोड्यो । समितिका ऋषि बरालले उनलाई सर्प उद्धारको प्राविधिक ज्ञान दिए । बराल र उनको टोलीसँगै समन्वय गरेर प्रवीन सर्पको उद्धारमा खटिन थाले । सर्पलाई स–सानो कुराले असर पुग्ने रहेछ भन्ने प्रवीनले बुझ्दै गए । 

‘ऋषि सरबाट सर्प उद्धारका धेरै प्राविधिक कुरा जानेँ । सुरक्षा सतर्कताबारे पनि सिकेँ । सर्प समाउने हुक पहिलोपटक औद्योगिक क्षेत्रमा प्रयोग गरें । ‘त्यसपछि सर्पको टाउको समाउन हुँदैन भन्ने बुझें,’ उनी भन्छन् । उद्धारमा खटिँदै गर्दा प्रवीनलाई सर्पले टोक्यो पनि । बिषालु सर्पले भने उनलाई आजसम्म टोकेको छैन । सर्पलाई चोट लागेको देख्दा आफ्नै परिवारको कसैलाई लागेको महसुस हुने उनको भनाइ छ । 

‘सर्प घाइते देख्नेवित्तिकै भित्रबाट नै आफ्नो फेमली मेम्बरलाई चोट लागेजस्तो हुन्छ । आजकल त मैले धेरै कन्ट्रोल गरेको छु । पहिला–पहिला त कसैले सर्पलाई घाइते बनाएको देख्नेवित्तिकै एकदमै रिसाउँथे,’ उनले सुनाए । 

null

प्रवीनका अनुसार उद्धार गर्न बोलाउँदा अक्सर यस्ता घटना भइरहन्छन् । सर्पलाई चोट पुगेकै हुन्छ । त्यसैमध्येको एक घटना उनले बेलिविस्तार लगाए । घटना पोखराकै लामाचौरको हो । राति साढे १० बजेतिर उनको फोनमा घन्टी बज्यो । लामाचौर पुगेर हेर्दा स्थानीयले सर्पलाई ब्लकले थिचेर राखेका थिए । सर्प बिषालु थिएन । तर, स्थानीय डराए, अनि ब्लकले थिचेर राखे । पछि सर्प मर्‍यो । यसबारे प्रवीन भन्छन्, ‘सर्पले आएर टोक्नै लागे डिफेन्स गर्नू । नत्र सर्पसँग डराउनु पर्दैन ।’

वनजन्तु वा जनावर मार्नेलाई कानूनअनुसार कारबाही हुन्छ । तर, वन्यजन्तुको उपचारको लागि पर्याप्त जनशक्ति छैन । उद्धारका लागि आवश्यक उपकरणको कमी छ । 

‘उपचार गर्ने भनेकै भेटनेरी डाक्टरले हो । तैपनि उहाँहरूलाई कसरी उपचार गर्नुपर्छ भन्ने थाहा छैन । लेखनाथबाट उद्धार गरेको घाइते सर्प वनविभागमा छोडेको थिएँ । बेटाडिन लगाएर टाइट बाँध्नुभएछ, त्यो मर्‍यो,’ उनले भने । 

null

चार वर्ष भयो प्रवीन यसरी सर्प उद्धारमा हिँड्न थालेको । तीनवर्ष उनले यत्तिकै काम गरे । अहिले आउने/जाने पेट्रोल खर्च माग्छन् । यसरी सर्प उद्धारमा खटिने प्रवीनलगायत अरू कसैको पनि जागिर होइन । आम्दानीको बाटो पनि होइन । कुनै सरकार वा संघ संस्थाले उनलाई सहयोग गरेका छैनन् । 

आफनो रुची र ईच्छाले काममा लागेका उनीहरू आफ्नो व्यक्तिगत खर्चमा नै हिँड्छन् । तर, पछिल्लो समय प्रवीनले भने शुरूमै स्पष्ट भन्छन् –‘मलाई अरु चाहिन्न आउने/जाने र सर्प छोड्नेसम्मको लाग्ने पेट्रोल खर्च दिनुपर्छ ।’

निकै कमले उनको कुरा बुझेर रकम दिन्छन् । धेरै स्थानमा यही विषयमा नोकझोकसमेत हुन्छ । संरक्षण समाजले एउटा आइडी कार्ड भने उपलब्ध गराएको छ । त्यसले हिँड्दा सहज हुन्छ । प्रहरीले चिन्छ र बुझ्छ । 

सर्पको उद्धार आफैंमा जोखिमपूर्ण काम हो । उनलाई हालसम्म विषालु सर्पले टोकेको छैन । सर्प उद्धारकै क्रममा कुनै भवितव्य भए जिम्मेवारी लिने कुनै सरकार वा संघसंस्था छैन । जोखिमबीच पनि उनले चार हजार बढी सर्प उद्धार गरिसकेका छन् । 

सर्प देख्नेवित्तिकै मानिस डराउँछन् । प्रवीनको बुझाइमा मानिसभन्दा बढी सर्प डराउँछ । सर्पले टोके पनि सबै विषालु हुँदैनन् । कहिले काही तसर्पले टोके पनि विष छोडिसकेको हुँदैन ।

यसो भन्दैमा हेलचेक्र्याइँ चाहिँ गर्न हुँदैन । सर्पले टोकेपछि समयमै उपचार नपाएको कारण पनि कतिको मृत्यु हुने गरेको उनी सम्झन्छन् । उनले यसबारे जनचेतना फैलाउन चाहेका थिए । तर, पोखराका विद्यालयले उनलाई सर्पबारे निःशूल्क एक घण्टाको समय माग गर्दासमेत दिएनन् । उनले दाङमा भने आफ्नै खर्चमा सचेतनामूलक कार्यक्रम गरेका छन् । किनकी त्यहाँ धेरैले सर्पले टोक्दा झारफुकमा भर परेर ज्यान घुमाएका छन् । 

null

उद्धारमा खटिँदा हरेक दिन नयाँ घटना र परिघटना जोडिन्छन् । चोटपटक लागेका सर्प कयौँपटक भेटिन्छ । केही घटना ताजै छन् । हातमा सर्प समाएपछि एकपटक एक जनाले मटितेल ल्याएर खन्याए । सर्पले आत्तिएर उनलाई टोक्यो । 

उनलाई किङ कोबरा सर्प मनपर्छ । यसैसँग जोडिएको एउटा सम्झना उनीसँग छ । उनले अर्घखाचीमा पहिलोपटक किङ कोबरा समातेका थिए । किङ कोबरा विषालु हुन्छ ।  ‘दाइसँग अर्घाखाँची जाने सल्लाह भयो । आवश्यक सामाग्री थिएन । सर्प समात्ने हुकको नाममा ट्रेकिङ स्टिक बनाएका थिए उनले । दाइले वनविभागबाट उपकरण ल्याउनुभयो,’ उनले भने, ‘अर्घाखाँची पुगेपछि असहज ठाउँमा थियो । उपकरण बिग्रेको परेछ ।' 

प्रवीनको उपकरणले कोबरा सर्पलाई धान्थेन । सानो कोठामा खाटमुनि थियो सर्प । उनी जोखिम उठाएर भित्र पसे । ‘हातैले सर्प समातें । हातले कोबरा समातें । हातमा र्‍याल चुहियो । सिरिङ्ग भयो । विष चुहेजस्तो लाग्यो । कोबरा समातेको त्यो पहिलोपटक थियो . डर पनि लाग्यो । किनभने स्वास्थ्यचौकी पनि एकघण्टा टाढा थियो । त्यहाँबाट हस्पिटल त परको कुरा,’ उनले सुनाए । 

पोखरा नजिकै एकपटक सर्प उद्धारको लागि फोन आयो । पानीको बहावका कारण झर्नाबाट सर्प खसेर चोट लागेछ । प्रवीन पुग्दा रगताम्य थियो ।

घाइते सर्पलाई पोखरा ल्याउन टाढा हुने भएकाले एक्याप पोष्ट अफिसमा राखियो । औषधि उपचार गरेर राखेपछि सर्प चलेको थियो । प्रवीनलाई लागेको थियो सर्प बाँच्छ तर, भोलिपल्ट सर्प मरेछ । प्रवीन भावुक भएर रोए ।

salt training

कमेन्ट गर्नुहोस्