३१ असार २०८३, बुधबार
अर्थतन्त्रको सुस्त चाल

सेयर बजारमा उतारचढाव, घरजग्गा कारोबार सहज हुँदा पनि अर्थतन्त्र किन चलायमान भएन ?

असोज ९, २०८१
काठमाडौं
सेयर बजारमा उतारचढाव, घरजग्गा कारोबार सहज हुँदा पनि अर्थतन्त्र किन चलायमान भएन ?
प्लटिङ गरिएको जग्गा ।

गत असार २६ गतेसम्म २१७५.४० को बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) साउनको अन्तिम कारोबारका दिन(साउन ३१ गते) बिहीबार ३०००.८१ को बिन्दुमा अडियो । एक महिनामै सेयर बजार तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । 

अर्थतन्त्रको ऐनामा रूपमा व्याख्या गरिने सेयर बजारको हलचलले बजारमा अर्थतन्त्र सुधारको संकेत देखिएको विश्लेषण गरिएको थियो । 

चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले सहजीकरण गरिदिँदा सेयर बजारमा उत्साह देखिएको विश्लेषकहरूको भनाइ थियो । यसमा निजी क्षेत्रका प्रतिनिधि पनि उत्साहित नै थिए । 

साउनमा घरजग्गा कारोबार पनि १०.४ प्रतिशतले वृद्धि भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । घरजग्गा कारोबारसँगै सरकारले संकलन गर्ने राजस्वमा पनि वृद्धि भएको थियो । घरजग्गा व्यवसायीहरूले लचिलो मौद्रिक नीतिका कारण उत्साह थपिएको बताएका थिए । तर, विश्लेषण गरिएजस्तो बजार चलायमान भएको भने देखिएन ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनमा आयात ०.६७ प्रतिशत र निर्यात ९.६३ प्रतिशतले घटेको देखियो । एक महिनामै १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ व्यापार घाटा भयो ।

व्यापार घाटा बढिरहेको बेला बजारमा महँगी पनि उस्तै बढेको छ । साउनदेखि चामलको मूल्यमा प्रतिबोरा २ सयदेखि ६ सय रुपैयाँसम्म वृद्धि भएको छ  । 

चालू आर्थिक वर्षको साउनसम्म आइपुग्दा बैङ्कहरूको औसत कर्जाको ब्याजदर ९.६८ प्रतिशतमा झरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जुन करिब ३१ महिना यताको न्यून कर्जाको ब्याजदर हो । 

चालू आर्थिक वर्षको पहिलो महिनामा आर्थिक गतिविधि चलायमान भएजस्तो देखिए तापनि भदौमा सबै गतिविधि पुनः सुस्त देखिएका छन् ।

साउनको अन्तिम कारोबारका दिन(३१ गते) ३०००.८१ को बिन्दुमा अडिएको नेप्से परिसूचक भदौ महिनाको अन्तिम कारोबारका दिन (भदौ ३१ गते) २५८०.७६ को बिन्दुमा कायम भयो । अहिले पनि सेयर बजारमा २५ सयको बिन्दुमै कायम छ । यसका साथै बैङ्कहरूले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर झन् घटेको छ । तर, ऋण प्रवाह भने बढेको छैन । घरजग्गा कारोबार पनि घटेको छ ।

भदौसम्म आइपुग्दा देशको व्यापारघाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । भदौसम्म पनि निर्यात ५.१२ प्रतिशतले घटेको भन्सार विभागको तथ्याङकले देखाउँछ । 

बैङ्कहरूले कर्जा लगानी पनि आवास कर्जामा बढी प्रवाह भएको देखिन्छ । उत्पादनमूलक क्षेत्रमा लगानी नबढ्दा अर्थतन्त्र चलायमान हुन नसकेको जानकारहरू बताउँछन् । 

देशको सुस्त अर्थतन्त्र उकालो लाग्न नसकेको अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । ‘अहिले आर्थिक वृद्धिदर पनि न्यून रहेको देख्न सकिन्छ ।त्यस्तै, मध्यम वर्ग र न्यून वर्गका सर्वसाधारणहरूले उपभोग गर्ने वस्तु तथा सेवाको मूल्य बढेको छ । कर्जा लगानी बढ्न सकेको छैन । कर्जा लिएर व्यवसाय गर्न मानिसहरूले आट गरिरहेका छैनन्,’ उनले लोकान्तरसँग भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले खुलेर भन्न भन्न सकेका छैनन् । वास्तवमै अर्थतन्त्र सुस्त छ ।’

कर्जाको ब्याजदर न्यून
चालू आर्थिक वर्षको साउन महिनासम्म आइपुग्दा बैङ्कहरूको औसत कर्जाको ब्याजदर ९.६८ प्रतिशतमा झरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जुन करिब ३१ महिनायताकै न्यून हो । 

अहिले बैङ्क तथा वित्तीय संस्थाहरूले अधिक तरलता थुप्रिएर रहेको छ । बैङ्कहरूले लगानी बढाउन सकेका छैनन् । जसले गर्दा कर्जाको ब्याजदर निरन्तर घट्दै गइरहेको हो । 

गत भदौ महिनामा मात्रै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासँग भएको अधिक तरलता व्यवस्थापनका लागि ५ पटकसम्म निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता हुनु र कर्जाको प्रवाह कम हुनुने अर्थतन्त्र चलायमान हुन नसकेको जानकारहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्