०५ साउन २०८३, मंगलबार

विदेशी नागरिक वारिस हुन पाउने ललितपुर जिल्ला अदालतको फैसला

असोज ९, २०८१
काठमाडौं
विदेशी नागरिक वारिस हुन पाउने ललितपुर जिल्ला अदालतको फैसला

ललितपुर जिल्ला अदालतले विदेशी नागरिक वारिस हुन पाउने फैसला गरेको छ ।​​​​​

दूषित वारिसनामा बदरको मुद्दामा न्यायाधीश पुनाराम खनालको इजलासले विदेशी नागरिकलाई वारिस हुन पाउने बाटो खुला गरिदिएको हो ।

बुद्ध एयर प्रालिका शेयरधनी विदेशी नागरिक शिवानी बस्नेत र अर्का शेयरधनी अर्चना बस्नेतले बुद्ध एयरलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा नेपाली मूलका अमेरिकी नागरिक शिवेन्द्रबहादुर बस्नेतलाई वारिस बनाइएको थियो । 

मुद्दामा वादीका तर्फबाट शुरूमा अमेरिकी नागरिक शिवेन्द्रलाई वारिस बनाइएकोमा दूषित वारिसनामा बदर गरिपाऊँ भनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ललितपुर जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएका थिए ।​

मंगलबारको बहसमा कानून व्यवसायीले विदेशी नागरिक वारिस हुन नपाउने जिकिर गरेका थिए भने विपक्षीका तर्फबाट वारिस बन्न कानूनले रोक्ने जिकिर गरेका थिए । ललितपुर जिल्ला अदालतले दाबी नपुग्ने भन्दै विदेशी नागरिकलाई वारिस बस्न पाउनेगरी बाटो खुला गरिदिएको छ ।

फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९(५)(ख) र अनुसूची ३६ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १४६ र अनुसूची १३ अनुसार कुनै पनि विदेशी नागरिकलाई मुद्दाको पक्षले आफ्ना तर्फबाट वारिस नियुक्त गर्न नसक्ने प्रस्ट व्यवस्था छ ।

फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९(५)(ख) मा वारिस हुने व्यक्तिको पूरा नाम, थर, टोलसहितको ठेगाना र उमेर, नागरिकता नम्बर र नागरिकता लिएको जिल्ला उल्लेख हुनुपर्ने लेखिएको छ ।

शिवेन्द्रका हकमा २०७३ सालमै अमेरिकाको नागरिकता लिइसकेको र उच्च अदालतमा वारिस दिँदा नेपाली नागरिकता प्रयोग गरेको भन्दै जिल्ला अदालत ललितपुरमा वीरेन्द्रले दूषित वारिस बदरको माग गरेका थिए ।

साक्षीका हकमा नेपाली वा विदेशी नागरिक जो पनि हुनसक्ने भए पनि वारिसका हकमा नागरिकता नम्बर नै उल्लेख गर्नुपर्ने हुँदा नेपाली नागरिक मात्र वारिस हुन योग्य रहन्छ ।

उच्च अदालतमा दिएको उजुरीपत्र दर्ता गर्न २८ र २९ असार २०८० गरी दुई वटा अलगअलग वारिसनामा पेस गरी मुद्दा दर्ता भएकामा एउटा मुद्दामा दुई वटा वारिसनामा पेस हुनु गैरकानूनी रहेको कानून व्यवसायीको दाबी छ ।

जिल्ला अदालत ललितपुरले विदेशी नागरिकलाई वारिस हुन बाधा नहुने ठहरसहित फैसलाले अब नेपालमा जुनसुकै देशको नागरिकले निर्बाध वारिस हुन पाउन सक्नेछन् । जिल्ला अदालतको फैसलाले कुनै नेपालीले अमेरिकाको नागरिकता लिएर आफ्नो पुरानै नागरिकता प्रयोग गर्दा पनि वारिस बदर नहुने नजिर स्थापित गरिदिएको छ ।

शिवेन्द्र अमेरिकन पासपोर्ट र नागरिकता लिइसकेका व्यक्ति भएको र उनले वारिस नियुक्तिमा नेपाली नागरिकता प्रमाणपत्र नम्बर २९३३० राखेका थिए । उनले जारी मिति २ असार २०४४ भएको सो नागरिकता ललितपुर जिल्ला प्रशासन कार्यालयबाट लिएका थिए ।

अमेरिकी नागरिकतासँगै अमेरिकी पासपोर्ट प्रयोग भएको अवस्थामा उनले प्रयोग गरेको नेपाली नागरिकता स्वतः निष्क्रिय रहने कुरा रवि लामिछानेविरुद्धको नागरिकता प्रकरणमा सर्वोच्चले नजिर स्थापित गरिसकेको छ । तर, जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको इजलासले विदेशी नागरिक वारिस हुन पाउन कुनै बाधा नहुने फैसला गरेसँगै गम्भीर प्रश्न भने उठेको छ ।

अर्का देशको नागरिकता लिएपछि स्वघोषित रूपमा आफैंले नागरिकता त्यागेको घोषणा गर्नुपर्नेमा बस्नेतले दोहोरो नागरिकताको प्रयोग गरिरहेको वारिसनामामा प्रयोग भएको नागरिकता नम्बरले पुष्टि गरेको छ । तर यूके, अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देशहरूको नागरिकता लिन अर्का देशको नागरिकता त्याग्नुपर्ने बाध्यकारी व्यवस्था छैन । नागरिकता त्याग्न बाध्यकारी नहुने कानूनमा टेकेर उनले दोहोरो नागरिकता लिएका थिए ।​

क–कसले गरेका थिए बहस ?

वादीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, श्यामप्रसाद खरेल पूर्णमान शाक्य, महेश थापा र अधिवक्ता सन्तोषकुमार महतोले बहस गरेका थिए ।

यस्तै, प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिस खरेल, रमेश गुरागाईँ र अधिवक्ता समीर शर्मा, सिर्जन गुरागाईँ र मनोजकुमार यादवले बहस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्