
ललितपुर महानगरपालिका वडा नम्बर– १४ कान्तिपुर कोलोनीनजिकै टहराबाट नख्खु खोलाले बगाएका ५ मध्ये ३ जनाको उद्धार भएको खुलेको छ ।
एक बालिकासहित २ जना बेपत्ता छन् ।
रौतहटका राजु साह, उनका भाइ राज साह र राजुकी ६ वर्षीया छोरी मेघना साहको उद्धार गरिएको हो । राजुकै ४ वर्षीया छोरी सेर्तु साह तथा देवराज कार्की बेपत्ता छन् ।
जस्ताको टहरामा बसेर उद्धारका लागि याचना गर्दागर्दै उनीहरूलाई खोलाले बगाएको थियो ।
त्यहाँबाट करिब ३०० मिटर तलसम्म बगेका राजुलाई कान्तिपुर कोलोनीतर्फ र राज तथा मेघनालाई पारिबाट उद्धार गरिएको हो ।
पाटन अस्पतालमा उपचाररत राजुले आफ्नी कान्छी छोरी र अर्का एक व्यक्ति बेपत्ता रहेको बताए ।
'मलाई कान्तिपुर कोलोनी तथा भाइ र छोरीलाई पारि भेटेको हो,' पाटन अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत राजुले भने, 'अर्को एउटा दाइसँग मेरो सानो छोरी थियो ।'
जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले पनि एक बालिकासहित २ जना बेपत्ता रहेको बताए ।
'भिडियोमा ४ जनाजस्तो देखिए पनि त्यहाँ ५ जना रहेको पाइएको छ । ३ जनाको उद्धार भएको छ भने देवराज कार्की र सेर्तु साह बेपत्ता भएका छन्,' अधिकारीले लोकान्तरसँग भने ।
खोलाले बगाउँदै पारि पुर्याएका राज र मेघनालाई काभ्रेका चणिकलाल तामाङले उद्धार गरेका थिए ।
किनार नजिकबाट बग्दै गरेका उनीहरूलाई तामाङले खोलामा हाम्फालेर बचाएका थिए ।
'यो केटा (राज साह)ले एउटा हातले बच्चालाई च्यापेर अर्को हातले पौडी खेल्दै थियो,' उद्धारपछि चणिकलालले भने ।

अर्को व्यक्तिलाई बचाउन नसकिएको उनले बताए ।
'अर्कोचाहिँ भंगालोमा पर्यो । भंगालोबाट लग्यो, बचाउन सकिएन,' उनले थपे ।