
प्रायः हरेक सरकारी कार्यालयमा आकस्मिक फोन नम्बरहरू राखिएका छन् । तर, विपद्का बेला सर्वसाधारणले सम्पर्क ती हटलाइन नम्बरहरूमा फोन गर्दा उठ्दैन । जनताका आकस्मिक समस्या सुन्न र तिनको तत्काल समाधान खोज्न राखिएका सरकारी हटलाइन नम्बरहरू देखावटीजस्ता मात्रै बनेका छन् ।
गत बिहीबार रातिदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीनसहित २९ जिल्ला नराम्ररी प्रभावित भए । बाढी–पहिरोले दुई सय बढीको ज्यान लिएको छ । काठमाडौं उपत्यकामा मात्रै ८२ जनाले ज्यान गुमाए । सडक, पुल, ढललगायत अर्बौंका भौतिक संरचना ध्वस्त भएका छन् । तराईंमा हुने डुबानकै झल्को दिनेगरी उपत्यकाका खोला तथा नदीमा बाढी आयो । ठूला फाँटहरू भरिए, किनारका घरहरूमा बाढी पस्यो । रातारात उनीहरूको बिचल्ली भयो ।
बाढीले तबाही मच्चाउनअघि नागरिकले राज्य सम्झिएका थिए, उनीहरूले धेरै आकस्मिक नम्बरहरूमा फोन डायल गरे । सर्वसाधारणले सुरक्षा निकाय र प्रधानमन्त्री कार्यालयमै रहेको ‘हेलो सरकार’लगायत सरकारका हटलाइन नम्बरहरूका घण्टी बजाए । तर, अधिकांश कार्यालयको फोन उठेन ।
सोसाइटी अफ केमिकल इन्जिनियर्स नेपालका महासचिव इन्जिनियर सुरेश पाण्डेले आपतकालीन नम्बर नउठेको गुनासो गर्दै सामाजिक सञ्जालमा लामो पोस्ट गरेका छन् । शनिबार उनले गरेको पोस्टमा विपद्का बेला धेरै आकस्मिक नम्बरमा फोन गर्दा नउठेको उल्लेख छ ।
गत बिहीबार राति निरन्तर पानी परिरहेकै बखत उनले १२ बजेर ५८ मिनेटदेखि एक बजेर ३२ मिनेटसम्म विपद् प्रतिकार्य र विपदजन्य सूचनाको कामकारबाही के कसरी भैरहेको भनेर सरकारी कार्यालयका सूचना अधिकारी, राजनीतिक दलका पार्टी कार्यालयका नम्बर, प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ता, काठमाडौं महानगरपालिकाका मेयरलगायतलाई फोन गरेका थिए । त्यतिमात्रै होइन उनले प्रधानमन्त्री कार्यालयमै रहेको हेलो सरकारमा समेत फोन गरेका थिए ।
तर, केहीले मात्रै फोन उठाए, अधिकांशको फोन उठेन । हेलो सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ता र पार्टी कार्यालयहरूको नम्बर नउठेको उनले लेखेका छन् । ‘नेपाल सरकार र राजनीतिक दल जनताको जिउधनप्रति कत्तिको संवेदनशील छन् भनेर मैले विभिन्न निकायमा सम्पर्क गरें । तीमध्ये गृह मन्त्रालयका सूचना अधिकारी र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीको फोन उठ्यो, हामी निरन्तर लागिपरिरहेका छौं भन्ने सन्देश आयो,’ पाण्डेले लेखेका छन्, ‘बाँकी कसैको फोन उठेन ।’
पाण्डेले नयाँ र पृथक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत फोन नउठेको उल्लेख गरेका छन् । ‘नयाँ र केही पृथक भनिएको रास्वपा रातको समयमा पनि जनताप्रति संवेदनशील छ कि भनेर फोन गरें । त्यहाँ पनि फोन उठ्न सकेन,’ उनले लेखेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको त फोन स्वीचअफ गरेको उनले उल्लेख गरेका छन् । ‘विपद्को समयमा एकदिनको निन्द्रा मारेर भए पनि अन्तरनिकाय समन्वय र सहकार्य हुनुपर्ने थियो, तर त्यो हुँदै भएन,’ उनले लेखेका छन् ।
पाण्डेको पोष्टलाई पूर्वमुख्यसचिव लिलामणि पौड्यालले पनि फेसबुकमा शेयर गरेका छन् । पाण्डेको पोष्ट शेयर गर्दै पौड्यालले आकस्मिक नम्बरमा फोन नउठ्नु गैरजिम्मेवारीको नमूना भएको टिप्पणी गरेका छन् ।
पौड्यालले पाण्डेकै भनाइलाई आधार मानेर सोधखोज गरेर कारबाही र जिम्मेवार बनाउने काम होला ? भनि प्रश्नसमेत गरेका छन् । विपद्का बेला सार्वजनिक कार्यालयले आपतकालीन नम्बरहरू नउठाएको गुनासो आएपछि आफूले पाण्डेको पोष्ट शेयर गरेको बताए । ‘आपतकालीन नम्बरहरू सर्वसाधारणलाई पीडा, समस्या वा अन्य विपद् परेका बेला सम्पर्क गर्न राखिएका हुन् । समस्या समाधानबारे जानकारी गराउन राखिएका हुन्,’ उनले भने, ‘अब ती नम्बर नै उठ्दैनन भने किन राख्नु ? फोन नै नउठाएर गैरजिम्मेवारी देखाउने निकायमाथि सरकारले छानबिन गरेर कारबाही गर्नुपर्छ ।’
तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं सूचना अधिकारी डा. डिजन भट्टराई भने आफूले नियतबस कसैको पनि फोन नउठाउने नगरेको बताउँछन् । उनले लोकान्तरसँग भने, ‘गत बिहीबारदेखि मलाई दैनिक डेढ सयदेखि दुई सय बढी कल फोन आइरहेका छन् । मैले मध्यराति आएका फोन पनि उठाएको छु,’ उनले भने, ‘कुनै बेला नउठेको पनि होला तर नियतबस होइन ।’ भट्टराईका अनुसार बाटो खुलाउने, उद्धार गर्ने र राहत बाँड्नलाई व्यवस्था मिलाइदिनेलगायत फोनहरू तारन्तार आइरहेका छन् ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ आपत्का बेला आकस्मिक फोनहरू उठ्नुपर्ने बताउँछन् । ‘आकस्मिक फोनहरू उठाउनुपर्ने हो, अरूले नउठाए पनि सेना, प्रहरी र सशस्त्र प्रहरीका कार्यालयमा त पक्कै उठ्नुपर्छ,’ उनले भने, ‘केही गुनासो हामीलाई पनि आएको छ । यसबारे मन्त्रिपरिषद्मा कुरा उठाउँछु ।’
गुरुङले आपतकालीन नम्बर नउठाउनु भनेको गैरजिम्मेवारी भएको बताए । आकस्मिक फोन नउठेका गुनासो आएमा सरकारले कारबाही गर्ने उनले बताए ।
मुख्यसचिव एकनारायण अर्यालले सोमबार बसेको सचिवहरूको बैठकमा पनि यस विषयमा गुनासो आएको भन्दै आपतकालीन नम्बरमा फोन उठाएर सर्वसाधारणको समस्या सुन्न र तत्काल कार्यान्वयनमा जान निर्देशन दिएको बताए । उनले भने, ‘आपतकालीन नम्बरहरू सर्वसाधारणकै तत्कालीन समस्या सुन्न र समाधान गर्न राखिएका हुन्, फोन नउठाउने भन्ने हुँदैन, जसले उठाउँदैन, गुनासो आए कारबाही हुन्छ ।’