
पोखराका २८ वर्षीय एक युवाले अमेरिका जाने सपना देखेर दलाललाई ४५ लाख रुपैयाँ बुझाए । अवैध बाटो हुँदै अमेरिका पुगेर भविष्य बदल्ने उनको सपना थियो । तर, त्यो सपना पूरा हुन सकेन । दलालले उनलाई अलपत्र पारे । शुरूमा योजनाअनुसार यात्रा अघि बढिरहेको थियो । इन्डियाबाट विमानमा इन्डोनेसिया पुगे ।
बाटोमा पैसा आवश्यक पर्छ भनेर मोटो रकम बोकेका थिए । सरासर नेपालबाट अन्य देशमा सहजै पुग्दा उनलाई अमेरिका पुगिन्छ भन्ने लागेको थियो । तर, इन्डोनेसिया पुगेपछि आफू फसेको भान हुन थाल्यो । ७ महिना इन्डोनेसिया बसेपछि दलालले दुबई बोलाए । दुबई पुगेपछि दलाल सम्पर्कमा आउनै छाडे ।
‘इन्डोनेसियामा ६/७ महिना बिताइयो । त्यसपछि उसले हामीलाई दुबई बोलायो । शुरूमा दलाल कहिले सम्पर्कमा आउने, कहिले नआउने गर्न थाले । पछि त सम्पर्कमा आउनै छाडे,’ उनले भने ।
अमेरिका जान भनी पैसा बुझाएर अलपत्र पर्ने उनी मात्र होइनन्, पोखराकै अन्य पनि दलालबाट ठगिएका छन् ।
जग्गा धितोमा राखेर ऋण लिई अमेरिका जान हिँडेका युवाहरूको टोली अलपत्र परेपछि उनीहरू २०८१ वैशाखमा गुनासो लिएर वैदेशिक रोजगार विभाग काठमाडौंमा पुगे । पोखराबाट पुगेको टोलीले ५ जनाविरुद्ध उजुरी दिएपछि विभागले उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयहरूलाई पत्र पठायो ।
जाहेरी दर्ता भएपछि ठगिएका व्यक्तिले आपसी मिलेमतोमा केही रकम फिर्ता पाएका छन् । २ जना फरार छन्, जसलाई पक्राउ गर्न प्रहरी तातेको छैन । पोखराबाट अमेरिका जान भनी ३ युवकले ५ जनालाई विभिन्न समयमा रकम बुझाएका थिए । प्रतिव्यक्ति ४५ लाखभन्दा बढी रकम उठाएर दलाल फरार भएका छन् ।
पोखराकै राम अधिकारी (नाम परिवर्तन)ले आफ्नो छोरालाई अमेरिका पठाउनका लागि दलाललाई ४५ लाख बुझाए । सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका उनले ऋणधन जोडेर पैसा बुझाएका थिए ।
उनले पनि ५ जना दलालको खातामा पटक–पटक गरी रकम हालेका थिए । तनहुँकी सुमित्रा थापा, पर्वतका शिवप्रसाद रेग्मी, रुकुम पश्चिमका टेकबहादुर कुसारी, नेपालगञ्जका धिरजमान श्रेष्ठ, बागलुङका मनिषप्रसाद शर्माको व्यक्तिगत खातामा प्रयोजन खुलाएर पटक–पटक गरी ४५ लाख बुझाएका छन् ।
यी ५ मध्ये २ जना वैदेशिक रोजगार विभागमा उपस्थित भएर समन्वय पनि गरे । पीडितहरूलाई केही रकम फिर्ता गरे । तर, मुख्य दलाल मानिएका मनिषप्रसाद शर्मा र धीरजमान श्रेष्ठ अझै फरार छन् ।
‘यी मेन दलाल हुन्, जो दुबईबाट फरार भए । पैसा अलिअलि आयो । धेरै आउन बाँकी छ । पुलिसले किन पक्रिएन ? साउन ९ गतेको पत्र अहिलेसम्म थन्क्याएर राखिराछ,’ रामले भने ।
विभागले साउन ९ मा प्रहरीलाई पत्र पठाएको थियो । बाँके प्रहरीले भदौ २ गते सम्बन्धित व्यक्ति फेला नपरेको जवाफ पठाएको छ । बागलुङ प्रहरी भने निवेदक स्वयं प्रहरी कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछ ।
‘सम्बन्धित निवेदनवाला यहाँ उपस्थिति हुनुभयो भने हामीले यहाँबाट प्रोसेस गरेर त्यो मान्छे खोजी छलफलमा राख्छौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले भने ।
पोखराकै ज्ञान खड्का (नाम परिवर्तन)ले छोरालाई अमेरिका पठाउने भनी ३६ लाख बुझाए । उनको १५ लाख रकम फिर्ता आउन अझै बाँकी छ । उनले बैंकमा सम्पत्ति धितो राखेर ऋण निकालेका हुन् ।
‘सबै बैंकको ऋण हो, यहाँको घर धितो राखेर । २२/२५ हजार पेन्सन आउँछ, त्यो पेन्सनले के हुन्छ र ?’ खड्काले दुखेसो पोखे, ‘ब्याज त भनिसाध्ये छैन । बाँकी २ जनाबाट पैसा आउनुपर्ने थियो । विभागले हर्जानासहित उपलब्ध गराउन भनेको थियो, त्यसरी गरिएको छ । ’
उनी शुरूमा प्रहरीमा पुगे । प्रहरीबाट सहयोग नपाएपछि वैदेशिक रोजगार विभाग काठमाडौं पुगे । प्रयोजन खुलाएर रकम बुझाएको प्रमाण दिएपछि विभागले उनीहरूको कुरा सुन्यो ।
विभागले सम्बन्धित व्यक्तिहरूलाई बोलाएको थियो । केही उपस्थित भए, केही फरार छन् । दलालको व्यवहारमा शंका लागेर प्रश्न गर्दा भिसा लागेको नक्कली कागज समेत देखाउने गरेको उनको दाबी छ ।
स्पष्ट कानूनको खाँचो
दुवै पक्षको सहमतिमा अवैध बाटोबाट वैदेशिक रोजगारका लागि सिमाना बाहिर जाने कार्य भए त्यसलाई मानवतस्करी भनिन्छ । मानवबेचविखन र मानवतस्करीबीच भिन्नता छ । नेपालमा मानबेचविखनलाई कानूनले स्पष्ट सम्बोधन गरेपनि मावनतस्करीका लागि अलमल छ ।
दुवै पक्षबीच सहमतिमै यो कार्य हुने हुँदा काम नभए मात्र ठगिएको भनेर उजुरी पर्ने गरेको छ ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार विभागमा दैनिक ३०–३५ वटा जाहेरी दरखास्त आउँछन् । ‘दर्ता भएका जाहेरी दरखास्त अनुसन्धान गरेर वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने खालका हुन्,’ उनले भने ।
यसरी आएका सबै उजुरी दर्ता हुँदैनन् । कतिपय पीडितसँग पैसा तिरेको ठोस प्रमाण समेत हुँदैन । प्रमाण भएमा पक्राउ पुर्जी जारी हुन्छ । तर, ठगिएका र ठग्ने फरक जिल्लाका हुन सक्छन् । कति त भर्चुअल माध्यमबाटै काम हुन्छ । त्यसरी ठग्ने व्यक्तिसँग पुग्न प्रहरीलाई पनि अप्ठ्यारो हुन्छ ।
‘कतिपयसँग प्रमाण खुलेका हुँदैनन् । कतिपयको पैसा दिएको देखिए पनि प्रयोजन खुलेको हुँदैन । त्यस्तो खालका समस्या छन् । ठगिने र ठग्ने अलग जिल्लाको हुँदा पनि समस्या हुने गरेको छ । पक्राउ पुर्जीसम्म जारी हुन्छ, मान्छे आउँदैन, त्यसले गर्दा अलिकति समय लाग्छ,’ उनले भने ।
स्पष्ट कानूनको अभावमा पनि समस्या हुँदै आएको अधिवक्ता रोशना प्रधान बताउँछिन् ।
‘तस्करीबाट प्रभावितहरूका लागि एक त कानून छैन । त्यसमा पनि प्रभावितलाई पीडित भन्ने कि नभन्ने एउटा प्रश्न छ । जो आफ्नो इच्छाले गइराखेको छ, उसलाई पीडित भन्ने कि नभन्ने ? उसलाई सपोर्ट कसरी गर्ने भन्ने स्पष्ट कानून भएन,’ प्रधानले भनिन् ।
अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलियाले मानवतस्करी र मानवबेचविखनलाई सम्बोधन गर्न स्पष्ट कानून बनाएका छन् । तर, हाम्रोमा कुन आधारमा मुद्दा चलाउने भन्नेमा प्रहरीहरू अन्योलमा पर्दै आएका छन् ।
नेपाल प्रहरीको मानवबेचविखन ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र यस्तो मुद्दामा कहिलेकाहीँ अन्योल हुने बताउँछन् ।
‘सबै एउटै हिसाबले अपराध हुन्छ भन्ने पनि छैन, पीडित एकै प्रकारका हुन्छन् भन्ने पनि छैन । अपराधको प्रकृति, त्यसभित्रको इलिमेन्टस हुन्छ,’ मिश्रले भने, ‘कहिलेकाहीँ यो केस वैदेशिक रोजगारमा जाने हो कि, ठगीमा जाने हो कि, मानवबेचविखनमा जाने हो कि भन्ने अन्योल हुन्छ । त्यसको इलिमेन्टस हेर्छौं अनि कतातिर बढी प्रमाण पुग्छ, त्यतै अगाडि बढ्छौं,’ उनले भने ।
उनका अनुसार मानवतस्करीका लागि दुबई ‘हब’ नै हो । अवैधबाटोबाट अमेरिका जानका लागि प्रतिव्यक्ति एक करोडसम्म असुली हुँदै आएको छ । निश्चित स्थानमा पुर्याउन नसके पैसा फिर्ता गर्ने सहमति पनि हुन्छ । ठाउँमा पुगेअनुसार किस्ताकिस्तामा पैसा बुझाउँदै जाने पनि हुन्छ ।
मानव तस्करीको शुरूआत सहमतिमै हुन्छ । सोही कारण अधिकांश ठगिएपछि मात्र उजुरी लिएर आउने गरेका छन् ।
कतिपयलाई अगाडि पुगिसकेपछाडि बन्धक बनाउने, थप शुल्क माग्ने जस्तो समस्या पनि देखिन्छ । मानवअधिकार आयोगको २०२३ को प्रतिवेदनले पनि यसलाई औंल्याएको छ । ‘उनीहरूलाई बाटोमा बन्धक बनाइन्छ । लुटपाटको घटना हुन्छ । यात्राका क्रममा मृत्युको जोखिम उत्तिकै हुन्छ । यो जोखिमसँगै उत्तिकै खर्चिलो पनि छ,’ प्रतिवेदनमा उल्लेख छ ।
मानवतस्करीको मुद्दामा प्रभावित व्यक्ति पनि खुलेर आउन चाहन्नन् । प्रतिवेदनले मानवतस्करीका लागि विभिन्न १३ मूलुकको बाटो प्रयोग भइरहेको देखाउँछ । तस्करले निश्चित देशमा पुर्याउनका लागि १२ देशको बाटो प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सो प्रतिवेदनले अवैध बाटोमार्फत क्यानाडा पुग्नका लागि ११ वटा देशको बाटो प्रयोग गर्ने गरेको उल्लेख गरेको छ । कुबेत, लिबिया, रसिया, अमेरिका, क्यानाडा, पोल्यान्ड, इटाली, जापान, नर्वे, अस्ट्रेलिया, पोर्चुगलजस्ता देशहरूमा अवैधरूपमा नेपालीहरू गइरहेको सो प्रतिवेदनमा उल्लेख छ ।