१३ असार २०८३, शनिबार
छैन मानव तस्करीसम्बन्धी कानून

ठगिएपछि मात्र प्रहरीमा पुग्छन् अमेरिका जान लाखौं बुझाउनेहरू, स्पष्ट कानूनको अभाव

असोज १५, २०८१
कास्की
ठगिएपछि मात्र प्रहरीमा पुग्छन् अमेरिका जान लाखौं बुझाउनेहरू, स्पष्ट कानूनको अभाव

पोखराका २८ वर्षीय एक युवाले अमेरिका जाने सपना देखेर दलाललाई ४५ लाख रुपैयाँ बुझाए । अवैध बाटो हुँदै अमेरिका पुगेर भविष्य बदल्ने उनको सपना थियो । तर, त्यो सपना पूरा हुन सकेन । दलालले उनलाई अलपत्र पारे । शुरूमा योजनाअनुसार यात्रा अघि बढिरहेको थियो । इन्डियाबाट विमानमा इन्डोनेसिया पुगे ।

बाटोमा पैसा आवश्यक पर्छ भनेर मोटो रकम बोकेका थिए । सरासर नेपालबाट अन्य देशमा सहजै पुग्दा उनलाई अमेरिका पुगिन्छ भन्ने लागेको थियो । तर, इन्डोनेसिया पुगेपछि आफू फसेको भान हुन थाल्यो । ७ महिना इन्डोनेसिया बसेपछि दलालले दुबई बोलाए । दुबई पुगेपछि दलाल सम्पर्कमा आउनै छाडे ।

‘इन्डोनेसियामा ६/७ महिना बिताइयो । त्यसपछि उसले हामीलाई दुबई बोलायो । शुरूमा दलाल कहिले सम्पर्कमा आउने, कहिले नआउने गर्न थाले । पछि त सम्पर्कमा आउनै छाडे,’ उनले भने ।

अमेरिका जान भनी पैसा बुझाएर अलपत्र पर्ने उनी मात्र होइनन्, पोखराकै अन्य पनि दलालबाट ठगिएका छन् ।

जग्गा धितोमा राखेर ऋण लिई अमेरिका जान हिँडेका युवाहरूको टोली अलपत्र परेपछि उनीहरू २०८१ वैशाखमा गुनासो लिएर वैदेशिक रोजगार विभाग काठमाडौंमा पुगे । पोखराबाट पुगेको टोलीले ५ जनाविरुद्ध उजुरी दिएपछि विभागले उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयहरूलाई पत्र पठायो ।

जाहेरी दर्ता भएपछि ठगिएका व्यक्तिले आपसी मिलेमतोमा केही रकम फिर्ता पाएका छन् । २ जना फरार छन्, जसलाई पक्राउ गर्न प्रहरी तातेको छैन । पोखराबाट अमेरिका जान भनी ३ युवकले ५ जनालाई विभिन्न समयमा रकम बुझाएका थिए । प्रतिव्यक्ति ४५ लाखभन्दा बढी रकम उठाएर दलाल फरार भएका छन् ।

पोखराकै राम अधिकारी (नाम परिवर्तन)ले आफ्नो छोरालाई अमेरिका पठाउनका लागि दलाललाई ४५ लाख बुझाए । सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका उनले ऋणधन जोडेर पैसा बुझाएका थिए ।

उनले पनि ५ जना दलालको खातामा पटक–पटक गरी रकम हालेका थिए । तनहुँकी सुमित्रा थापा, पर्वतका शिवप्रसाद रेग्मी, रुकुम पश्चिमका टेकबहादुर कुसारी, नेपालगञ्जका धिरजमान श्रेष्ठ, बागलुङका मनिषप्रसाद शर्माको व्यक्तिगत खातामा प्रयोजन खुलाएर पटक–पटक गरी ४५ लाख बुझाएका छन् ।

यी ५ मध्ये २ जना वैदेशिक रोजगार विभागमा उपस्थित भएर समन्वय पनि गरे । पीडितहरूलाई केही रकम फिर्ता गरे । तर, मुख्य दलाल मानिएका मनिषप्रसाद शर्मा र धीरजमान श्रेष्ठ अझै फरार छन् । 

‘यी मेन दलाल हुन्, जो दुबईबाट फरार भए । पैसा अलिअलि आयो । धेरै आउन बाँकी छ । पुलिसले किन पक्रिएन ? साउन ९ गतेको पत्र अहिलेसम्म थन्क्याएर राखिराछ,’ रामले भने । 

विभागले साउन ९ मा प्रहरीलाई पत्र पठाएको थियो । बाँके प्रहरीले भदौ २ गते सम्बन्धित व्यक्ति फेला नपरेको जवाफ पठाएको छ । बागलुङ प्रहरी भने निवेदक स्वयं प्रहरी कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछ ।

‘सम्बन्धित निवेदनवाला यहाँ उपस्थिति हुनुभयो भने हामीले यहाँबाट प्रोसेस गरेर त्यो मान्छे खोजी छलफलमा राख्छौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले भने ।

पोखराकै ज्ञान खड्का (नाम परिवर्तन)ले छोरालाई अमेरिका पठाउने भनी ३६ लाख बुझाए । उनको १५ लाख रकम फिर्ता आउन अझै बाँकी छ । उनले बैंकमा सम्पत्ति धितो राखेर ऋण निकालेका हुन् । 

‘सबै बैंकको ऋण हो, यहाँको घर धितो राखेर । २२/२५ हजार पेन्सन आउँछ, त्यो पेन्सनले के हुन्छ र ?’ खड्काले दुखेसो पोखे, ‘ब्याज त भनिसाध्ये छैन । बाँकी २ जनाबाट पैसा आउनुपर्ने थियो । विभागले हर्जानासहित उपलब्ध गराउन भनेको थियो, त्यसरी गरिएको छ । ’

उनी शुरूमा प्रहरीमा पुगे । प्रहरीबाट सहयोग नपाएपछि वैदेशिक रोजगार विभाग काठमाडौं पुगे । प्रयोजन खुलाएर रकम बुझाएको प्रमाण दिएपछि विभागले उनीहरूको कुरा सुन्यो ।

विभागले सम्बन्धित व्यक्तिहरूलाई बोलाएको थियो । केही उपस्थित भए, केही फरार छन् । दलालको व्यवहारमा शंका लागेर प्रश्न गर्दा भिसा लागेको नक्कली कागज समेत देखाउने गरेको उनको दाबी छ । 

स्पष्ट कानूनको खाँचो 

दुवै पक्षको सहमतिमा अवैध बाटोबाट वैदेशिक रोजगारका लागि सिमाना बाहिर जाने कार्य भए त्यसलाई मानवतस्करी भनिन्छ । मानवबेचविखन र मानवतस्करीबीच भिन्नता छ । नेपालमा मानबेचविखनलाई कानूनले स्पष्ट सम्बोधन गरेपनि मावनतस्करीका लागि अलमल छ ।

दुवै पक्षबीच सहमतिमै यो कार्य हुने हुँदा काम नभए मात्र ठगिएको भनेर उजुरी पर्ने गरेको छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार विभागमा दैनिक ३०–३५ वटा जाहेरी दरखास्त आउँछन् । ‘दर्ता भएका जाहेरी दरखास्त अनुसन्धान गरेर वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने खालका हुन्,’ उनले भने । 

यसरी आएका सबै उजुरी दर्ता हुँदैनन् । कतिपय पीडितसँग पैसा तिरेको ठोस प्रमाण समेत हुँदैन । प्रमाण भएमा पक्राउ पुर्जी जारी हुन्छ । तर, ठगिएका र ठग्ने फरक जिल्लाका हुन सक्छन् । कति त भर्चुअल माध्यमबाटै काम हुन्छ । त्यसरी ठग्ने व्यक्तिसँग पुग्न प्रहरीलाई पनि अप्ठ्यारो हुन्छ । 

‘कतिपयसँग प्रमाण खुलेका हुँदैनन् । कतिपयको पैसा दिएको देखिए पनि प्रयोजन खुलेको हुँदैन । त्यस्तो खालका समस्या छन् । ठगिने र ठग्ने अलग जिल्लाको हुँदा पनि समस्या हुने गरेको छ । पक्राउ पुर्जीसम्म जारी हुन्छ, मान्छे आउँदैन, त्यसले गर्दा अलिकति समय लाग्छ,’ उनले भने । 

स्पष्ट कानूनको अभावमा पनि समस्या हुँदै आएको अधिवक्ता रोशना प्रधान बताउँछिन् । 

‘तस्करीबाट प्रभावितहरूका लागि एक त कानून छैन । त्यसमा पनि प्रभावितलाई पीडित भन्ने कि नभन्ने एउटा प्रश्न छ । जो आफ्नो इच्छाले गइराखेको छ, उसलाई पीडित भन्ने कि नभन्ने ? उसलाई सपोर्ट कसरी गर्ने भन्ने स्पष्ट कानून भएन,’ प्रधानले भनिन् । 

अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलियाले मानवतस्करी र मानवबेचविखनलाई सम्बोधन गर्न स्पष्ट कानून बनाएका छन् । तर, हाम्रोमा कुन आधारमा मुद्दा चलाउने भन्नेमा प्रहरीहरू अन्योलमा पर्दै आएका छन् ।

नेपाल प्रहरीको मानवबेचविखन ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र यस्तो मुद्दामा कहिलेकाहीँ अन्योल हुने बताउँछन् ।

‘सबै एउटै हिसाबले अपराध हुन्छ भन्ने पनि छैन, पीडित एकै प्रकारका हुन्छन् भन्ने पनि छैन । अपराधको प्रकृति, त्यसभित्रको इलिमेन्टस हुन्छ,’ मिश्रले भने, ‘कहिलेकाहीँ यो केस वैदेशिक रोजगारमा जाने हो कि, ठगीमा जाने हो कि, मानवबेचविखनमा जाने हो कि भन्ने अन्योल हुन्छ । त्यसको इलिमेन्टस हेर्छौं अनि कतातिर बढी प्रमाण पुग्छ, त्यतै अगाडि बढ्छौं,’ उनले भने ।

उनका अनुसार मानवतस्करीका लागि दुबई ‘हब’ नै हो । अवैधबाटोबाट अमेरिका जानका लागि प्रतिव्यक्ति एक करोडसम्म असुली हुँदै आएको छ । निश्चित स्थानमा पुर्‍याउन नसके पैसा फिर्ता गर्ने सहमति पनि हुन्छ । ठाउँमा पुगेअनुसार किस्ताकिस्तामा पैसा बुझाउँदै जाने पनि हुन्छ ।

मानव तस्करीको शुरूआत सहमतिमै हुन्छ । सोही कारण अधिकांश ठगिएपछि मात्र उजुरी लिएर आउने गरेका छन् ।

कतिपयलाई अगाडि पुगिसकेपछाडि बन्धक बनाउने, थप शुल्क माग्ने जस्तो समस्या पनि देखिन्छ । मानवअधिकार आयोगको २०२३ को प्रतिवेदनले पनि यसलाई औंल्याएको छ । ‘उनीहरूलाई बाटोमा बन्धक बनाइन्छ । लुटपाटको घटना हुन्छ । यात्राका क्रममा मृत्युको जोखिम उत्तिकै हुन्छ । यो जोखिमसँगै उत्तिकै खर्चिलो पनि छ,’ प्रतिवेदनमा उल्लेख छ । 

मानवतस्करीको मुद्दामा प्रभावित व्यक्ति पनि खुलेर आउन चाहन्नन् । प्रतिवेदनले मानवतस्करीका लागि विभिन्न १३ मूलुकको बाटो प्रयोग भइरहेको देखाउँछ । तस्करले निश्चित देशमा पुर्‍याउनका लागि १२ देशको बाटो प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदनले अवैध बाटोमार्फत क्यानाडा पुग्नका लागि ११ वटा देशको बाटो प्रयोग गर्ने गरेको उल्लेख गरेको छ । कुबेत, लिबिया, रसिया, अमेरिका, क्यानाडा, पोल्यान्ड, इटाली, जापान, नर्वे, अस्ट्रेलिया, पोर्चुगलजस्ता देशहरूमा अवैधरूपमा नेपालीहरू गइरहेको सो प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्