०२ साउन २०८३, शनिबार

चर्चा बटुल्दै 'रित्तो गाउँ', समाजको कथा बोल्ने 'लापत्ता सन्तान' र 'साइलेन्स टुर'

विदेशसम्म पुगेर प्रदर्शन गर्ने तयारीमा निर्माण टीम, समाजमा गहिरो छाप छाड्ने विश्वास
असोज १७, २०८१
काठमाडौं
चर्चा बटुल्दै 'रित्तो गाउँ', समाजको कथा बोल्ने 'लापत्ता सन्तान' र 'साइलेन्स टुर'

नेपालका गाउँबस्तीमा भइरहेको तीव्र जनसंख्या पलायन र त्यसले निम्त्याएको सामाजिक तथा सांस्कृतिक असरलाई चित्रण गरिएको डकुमेन्ट्री शर्ट फिल्म 'रित्तो गाउँ'ले अहिले चर्चा बटुलिरहेको छ ।

युवा विदेश पलायनले गाउँहरू कसरी सुनसान बनेका छन् भन्ने यथार्थलाई यसमा निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. उद्धव सिग्देलको टीमले गरेको अनुसन्धानलाई आधार बनाएर शर्ट फिल्म निर्माण गरिएको निर्देशक रामजी ज्ञवालीले लोकान्तरसँग बताए ।

४२ मिनेटको यो शर्ट फिल्मले गाउँघरको हृदयविदारक यथार्थसँग साक्षात्कार गराउने विश्वास ज्ञवालीको छ ।

यसका निर्माता आनन्द शर्मा वाग्ले हुन् भने स्क्रिप्ट निर्देशक ज्ञवाली स्वयंले लेखेका छन् । यसमा समावेश गरिएको ‘बोल्ने कोही छैन’ बोलको गीत युट्युब च्यानल ‘सेलिब्रिटी टाइम्स’ मा उपलब्ध रहेको ज्ञवालीले बताए ।

यस शर्ट फिल्मको विशेष शो समेत भइसकेको छ ।

यसलाई रोटरी क्लबमार्फत देशभर देखाउने गरी कुराकानी भइरहेको ज्ञवालीले बताए ।

'हामीले राजधानीमा यसको भव्य विशेष शो गरिसकेका छौं र आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रदर्शनका लागि छलफल भइरहेको छ,' निर्देशक ज्ञवालीले लोकान्तरसँग भने ।

युवा पलायनसँगै गाउँमा देखिएको सुनसानपन र यसको परिणामस्वरूप गाउँ समाजमा परेको असरलाई चित्रण गरिएकाले यसले दर्शकलाई एक गम्भीर सन्देश दिन सफल हुने विश्वास ज्ञवालीले व्यक्त गरे ।

ज्ञवालीकै निर्देशनमा तयार भएको अर्को प्रोजेक्ट हो, 'लापत्ता सन्तान' ।

'यस डकुमेन्ट्री शर्ट फिल्मले बा–आमा अलपत्र पारेर हराएका सन्तान र समग्र परिवारको हृदयविदारक कथा बताउँछ,' ज्ञवालीले भने । लगभग ३० मिनेटको यो शर्ट फिल्मको टिजर सेलिब्रिटी टाइम्स युट्युब च्यानलमा हेर्न सकिन्छ ।

लापत्ता सन्तानको निर्माण-निर्देशन दुवै ज्ञवालीले नै गरेका हुन् । यसलाई पनि देशविदेशमा देखाउने उनको लक्ष्य छ ।

ज्ञवाली अहिले अर्को प्रोजेक्टमा पनि व्यस्त छन्, त्यो हो– साइलेन्स टुर ।

'यसले युवापुस्ताले भोगिरहेको मानसिक स्वास्थ्य समस्यालाई बुझ्न र सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नेछ,' ज्ञवालीले लोकान्तरसँग भने, 'यो प्रोजेक्ट तयार हुन लगभग २ महिना लाग्नेछ ।'

स्क्रिप्टको काम सकिएको र दशैंलगत्तै छायांकनमा जाने तयारी भएको ज्ञवालीले बताए ।

मदन खनाल निर्माता रहेको यस शर्ट फिल्ममा निर्देशन र स्क्रिप्ट लेखन दुवै ज्ञवालीको छ ।

शर्ट फिल्महरू सिकाइको हिसाबले मात्र बनिरहेको सन्दर्भमा यी तीनवटैमा प्रोफेसनल टीम र फिल्म खिच्ने महंगा क्यामेरासहितका इक्विपमेन्ट प्रयोग गरिएको उनले जानकारी दिए ।

यी तीनै प्रोजेक्ट विदेशमा पुगेर समेत देखाउने तयारी भइरहेको ज्ञवालीले बताए ।

'हामीले केही देशमा लैजाने तयारी भइरहेको छ । केही देशको हकमा कुरा भइसकेको छ भने केही देशमा यदि कुनै संघ–संस्थाले च्यारिटीका लागि देखाउन चाहनुहुन्छ भने पनि हामी कुरा गर्न तयार छौं,' ज्ञवालीले भने ।

यी तीनै प्रोजेक्टले देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा गहिरो छाप छाड्ने ज्ञवालीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्