
एउटा चोट लागेको बिरालो भुइँमा सुतिरहेको छ । दायाँ–बायाँ अन्य कुकुर–बिराला पनि खेलिरहेका छन् । कुनैको एउटा खुट्टा छैन त कुनैमा चोट लागेको छ । कुनै भने निको भएर खेल्न व्यस्त देखिन्छन् । केही मिठो निन्द्रामा छन् । त्यही माहोलमा चोटले थलिएको बिरालोको घाउमा मल्हम लगाउँदै थिइन् चाँदनी थापामगर । भुइँमा लडिरहेको सो बिरालोको खुट्टा थिएन । गाडीले हानेपछि उपचारका क्रममा उसको खुट्टा काट्नुपरेको पोखरामा चाँदनी एनिमल केयर एन्ड रेस्क्यू सेन्टर खोलेर जनावरको सेवा गरिरहेकी चाँदनीले सुनाइन् । ‘यसलाई आजमात्र हस्पिटलबाट ल्याएको हो,’ घाउ सफा गर्दै उनले भनिन् ।
छोरेपाटनको तिब्बतियन क्याम्पको ठ्याक्कै पछाडि छ चाँदनी एनिमल केयर एन्ड रेस्क्यू सेन्टर । जहाँ भिरालो जमिन समाएर बनेको एकतले घर छ । त्यसको मूलढोकाबाट भित्र छिरेपछि झुम्मिन कुकुरहरू आइपुगिहाल्छन् । यी सबै बाटोबाट उद्धार गरेर ल्याएका हुन् । यो सानो स्थानमा जनावरप्रतिको प्रेमले चाँदनीको संसार अटाएको छ । जाँदनीमा सानैदेखि जनावरप्रतिको प्रेम पलाएको हो । त्यसैले पनि उनी सानैमा शाकाहारी भइन् । अहिले त ‘भेगन’ भइसकेकी छिन् उनी । भेगन बनेयता उनी दही, मोही वा अन्य जनावरबाट उत्पादित केही पनि चिज खान्नन् ।
चाँदनी सानैदेखि सडकमा डुलिरहने जनावरलाई खाना खुवाउँथिन् । पछि, यो उनको दैनिकी नै बन्यो । पोखराको एक सहकारीमा काम गर्ने उनले अव्यवस्थित जीवन बिताइरहेका सडकका जनावरलाई दैनिक खाना खुवाउन थालिन् । त्यसरी खाना खुवाइरहँदा घाइते, बिरामी र छाडा छोडिएका कुकुर र बिराला देखिन्थे । यस्तो देख्दा उनलाई घर बनाउन मन हुन्थ्यो । यस्तैले गर्दा उनले एनिमल केयर सेन्टर खोल्ने सोच बनाइसकेकी थिइन् । यो काम उस्तै अप्ठ्यारो र खर्चिलो हुन्छ भन्ने चाँदनीलाई थाहा थियो । उनले बुनेको भविष्यको योजनामा जनावरका लागि घर भने शुरूवातदेखि नै थियो । यसलाई पूरा गर्न एकपटक विदेश जानैपर्छ भन्ने उनले सोचिन् । किनकि एनिमल केयर सेन्टर खोल्नका लागि आर्थिकरुपमा बलियो हुनु थियो । तर उनले योजना बनाएअनुसार समय चलेन । परिदृश्य फरक बन्यो । किनकि कोरोना भाइरस आएसँगै लकडाउन भयो । त्यसमा सबैभन्दा बिचल्ली उनले प्रेम गर्ने जनावरको भयो । उनीहरू खानेकुरा जुटाउनै धौ–धौ पर्यो । कहिले व्यक्ति वा होटल रेष्टुरेन्टले दिएकोले जनावरले पेट भरे । त्यो पनि नहुँदा डस्टबिनमा फालिएको खानेकुरा समेत जनावरको पेट भर्ने स्रोत बन्यो । लकडाउन लम्बिँदा यी स्रोतहरू पनि बिस्तारै सुक्दै गए ।
निर्मलपोखरी घर भएकी चाँदनीलाई दैनिक बजार आउन सहज पनि हुँदैन थियो । यसपछि उनले घरमै कुकुर र बिराला लिएर जान थालिन् । घरमा लगिएका १८ वटा पुगिसकेका थिए । यसले गर्दा उनका लागि घरमा सहज वातावरण भएन । पैसा कमाएपछि खोल्ने भनिएको रेस्क्यू सेन्टर लकडाउनको समयमा नै आवश्यक रहेको उनले बुझिन् । सेन्टर त खोल्ने, तर पैसा ? यस्तो अन्योलबीच उनले आफैँलाई प्रश्न गरिन् । यो अन्यौलतालाई चिर्दै उनले ऋण नै लिएर भएपनि रेस्क्यू सेन्टर स्थापना गर्ने सुर कसिन् । काम गरिरहेको सहकारीबाट ७ लाख रुपैयाँ ऋण लिइन् ।
करिब ४ वर्षअघिको कुरा हो । छोरेपाटनमा भाइको सहयोगमा चाँदनीले घर बनाइन् । ‘त्यो बेला सहकारीमा जागिर गर्थेँ । त्यहीँबाट ७ लाख ऋण लिएर घर बनाएँ । भाइ र म आफैँले ढुंगा, ब्लक बोकेर घर बनाएका हौँ,’ चाँदनीले शुरूवाती ती दिन सम्झिइन् ।
यसरी शुरू भएको चाँदनीको एनिमल रेस्क्यू एन्ड केयर सेन्टरमा भाइसँगै आमाको पनि साथ रह्यो । किनकि संस्था खोल्नलाई चाँदनीलाई आमाले उपलब्ध गराइन् । यसले गर्दा भाडा तिर्ने झन्झट ब्यहोर्नु परेन । खर्च कम गर्न चाँदनी र उनका भाइले ढुंगा र बालुवा आफैँ बोकेका थिए । दिदीभाइ बिहान ३ बजे नै उठेर काम गर्ने गर्थे । खर्च कम गर्नेगरी काम गरेपनि सोचेजस्तो भने भएनन् । ‘मैले ७ लाख सोचेकी थिएँ १४ लाख भेट्यो । ऋण लिएको रकम सकियो । काम बाँकी नै थियो । ३ महिना काम नै रोकियो । बाँकी रकम कहाँबाट ल्याउने ? । फेरि मनमा प्रश्न उठ्यो,’ उनले भनिन् ।
जति दुःख आइलागे पनि चाँदनीले काम बीचमै थाती राख्न चाहिनन् । त्यसपछि फेरि ऋण लिइन् । रोकिएको काम पुनः शुरू भयो । कामसँगै गाली गर्ने आफन्त पनि बढे । यस्तो पनि चाँदनीलाई आमाको साथ रहिरह्यो । त्यसैले उनलाई अरुको मतलब नै भएन ।

त्यसरी शुरू भएको रेस्क्यू सेन्टरमा अहिले २४ वटा कुकुर र १७ वटा बिराला छन् । यही असोज ९ गते मात्रै पनि उनले बिरालो र कुकुर उद्धार गरेर ल्याएकी थिइन् । आफूलाई दैनिकजसो उद्धारका लागि कम्तीमा ६ वटा फोन आउने गरेको उनी बताउँछिन् । रेस्क्यू सेन्टरमा मात्र नभएर चाँदनीको घरमासमेत उद्धार गरेर ल्याएका ८ वटा कुकुर–बिराला छन् । एउटा गाई पनि छ । जसको स्याहार उनकी आमाले गर्छिन् ।
औषधोपचार, खानापान र स्याहारसुसारमा चाँदनीको मासिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । तर सहयोग कतैबाट छैन । आम्दानीको बाटो भनेको चाँदनीको जागिरमात्र हो । ‘खर्च जुटाउने बाटो भने छैन । संस्था बनाउँदा लिएको ऋणले आजकल मलाई थप तनाब थपेको छ । सहकारीको कामले नपुगेर बिहानदेखि अनलाइन जब पनि शुरू गरेकी छु,’ उनले भनिन्, ‘बिहान ४ बजे अनलाइन जागिरबाट मेरो दैनिकी शुरू हुन्छ । आम्दानीको स्रोत बढाउन फुर्सदको समयमा रेस्क्यू सेन्टरमै धुपबात्ती बनाउने काम पनि हुन्छ ।’
चाँदनीलाई अर्को एउटा समस्याले पनि दुःख दिने गरेको छ । घरमै पालेका जनावर बिरामी वा बूढो भए भने कतिपयले उद्धारका लागि उनलाई बोलाउँछन् । चाँदनीले अहिले राख्ने अवस्था नरहेको सुनाए बाटोमा फालिदिने धम्की दिन्छन् । ‘पहिला रेस्क्यू सेन्टरमा सीसी क्यामेरा थिएन । स्टाफ नभएको बेला गेट लगाएर जान्थेँ । कतिले गेटभित्र आफ्नो घरको कुकुर छिराएर जान्थे । यस्ता कुराले खुब दुःख पाइयो,’ उनले सुनाइन् ।
यी चुनौतीका बीच चाँदनी जनावरको उद्धार र स्याहारमा लागेकी छिन् । यसरी उद्धार भएका जनावरको बच्चा छन् भने उनले हेरचाहका लागि अरुलाई निःशुल्क दिन्छिन् । हुर्किसकेको वा चोटपटक लागेको छ भने उनले स्याहारसुसारका लागि आफैँ राख्छिन् ।
दुई महिनामात्र भयो चाँदनीले कामका लागि स्टाफ राखेको । आजभोलि सहयोग गर्न साथमा नातेदार बहिनी छिन् । रेस्क्यू सेन्टर सञ्चालनमा जति नै चुनौतीको सामना गर्नुपरे पनि बन्द गर्ने सोच भने बनाएकी छैनन् उनले । वा भनौं जिम्मेवारीबाट पन्छिन चाहेकी छैनन् ।
‘रेस्क्यू सेन्टरको आर्थिक पाटोको सबै जिम्मेवारी एक्लै लिँदा पछिल्लो ७ महिनायतादेखि मलाई तनाब भने भइरहेको छ,’ उनले भनिन्, ‘असहज भएपछि महानगरपालिकासँग सहयोग माग्न पुगेकी छु । महानगरको जवाफ कुरेर बसेकी छु ।’
चाँदनीका अनुसार उद्धार गरेर ल्याएका अधिकांश जनावर चोटपटक लागेका वा बिरामी हुन्छन् । उपचारमा बढी खर्च हुन्छ । ‘शुरूवाती समय हार्ट नामक एनिमल हस्पिटल संस्था ( गैरसरकारी संस्था)ले उपचारमा सहयोग गर्यो । अहिले सबै आफैँ गर्नुपर्छ,’ उनले सुनाइन् । परिस्थिति असहज भएपछि चाँदनीले केही हप्ता अघिमात्र जनावरको खाना जुटाउन सहयोग मागेकी थिइन् । खानाका लागि केही सहयोग प्राप्त गरेपछि तत्कालका लागि राहतको सास लिएको उनले बताइन् । ‘कतिलाई पोखरामा रेस्क्यू सेन्टर छ भन्ने पनि थाहा नहुने रहेछ । यसले गर्दा पोखराका मानिसले काठमाडौंका सेल्टरहरूमा हेल्प गरिराखेको हुँदा रहेछन्,’ उनले भनिन् ।
चाँदनीले उद्धार गरेर ल्याएका सबैको जनावरको नाम राखेकी छिन् । नाम लिएपछि हरेक जनावर पुच्छर हल्लाउँदै उनी ठाउँ आइपुग्छन् । रेस्क्यू सेन्टरको एककुनामा चाँदनीले आफ्नो बासस्थान बनाएकी छिन् । परिवारका सदस्य जसरी एकैठाउँमा बस्छन् सबै । कतिपय त चाँदनी नभइ सुत्दैनन् पनि । त्यसैले त उनलाई उद्धार गरेर ल्याएका जनावर मरेमा आफ्नै आफन्त गुमाएको झैँ लाग्छ ।
‘कुनै जनावर मरेमा मलाई पहिला–पहिला एकदमै गाह्रो हुन्थ्यो । एकहप्ता त खाना नै नखाने गर्थे । आफन्त नै गुमाएझैँ लाग्थ्यो । अझ भनौं मान्छेकै बच्चाबच्चीसरह लाग्छ,’ उनले भनिन् । चाँदनीलाई परित्यक्ता पारिएका जनावरहरूको उद्धार र हेरचाहका लागि निरन्तर लाग्न मन छ । जनावरप्रतिको प्रेमले रेस्क्यू सेन्टर खोलेकाले उनी यसलाई थप व्यवस्थित बनाउन चाहन्छिन् । यसका लागि उनले सरकारबाटै सहयोगको अपेक्षा राखेकी छिन् ।