०९ साउन २०८३, शनिबार
परित्यक्ता पारिएका जनावरप्रतिको प्रेम

चाँदनीः जसलाई जनावर मर्दा आफन्त गुमाएझैँ लाग्छ, ऋण काढेरै खोलिन् ‘रेस्क्यू सेन्टर’

असोज १९, २०८१
पाेखरा
चाँदनीः जसलाई जनावर मर्दा आफन्त गुमाएझैँ लाग्छ, ऋण काढेरै खोलिन् ‘रेस्क्यू सेन्टर’

एउटा चोट लागेको बिरालो भुइँमा सुतिरहेको छ । दायाँ–बायाँ अन्य कुकुर–बिराला पनि खेलिरहेका छन् । कुनैको एउटा खुट्टा छैन त कुनैमा चोट लागेको छ । कुनै भने निको भएर खेल्न व्यस्त देखिन्छन् । केही मिठो निन्द्रामा छन् । त्यही माहोलमा चोटले थलिएको बिरालोको घाउमा मल्हम लगाउँदै थिइन् चाँदनी थापामगर । भुइँमा लडिरहेको सो बिरालोको खुट्टा थिएन । गाडीले हानेपछि उपचारका क्रममा उसको खुट्टा काट्नुपरेको पोखरामा चाँदनी एनिमल केयर एन्ड रेस्क्यू सेन्टर खोलेर जनावरको सेवा गरिरहेकी चाँदनीले सुनाइन् । ‘यसलाई आजमात्र हस्पिटलबाट ल्याएको हो,’ घाउ सफा गर्दै उनले भनिन् । 

छोरेपाटनको तिब्बतियन क्याम्पको ठ्याक्कै पछाडि छ चाँदनी एनिमल केयर एन्ड रेस्क्यू सेन्टर । जहाँ भिरालो जमिन समाएर बनेको एकतले घर छ । त्यसको मूलढोकाबाट भित्र छिरेपछि झुम्मिन कुकुरहरू आइपुगिहाल्छन् । यी सबै बाटोबाट उद्धार गरेर ल्याएका हुन् । यो सानो स्थानमा जनावरप्रतिको प्रेमले चाँदनीको संसार अटाएको छ । जाँदनीमा सानैदेखि जनावरप्रतिको प्रेम पलाएको हो । त्यसैले पनि उनी सानैमा शाकाहारी भइन् । अहिले त ‘भेगन’ भइसकेकी छिन् उनी । भेगन बनेयता उनी दही, मोही वा अन्य जनावरबाट उत्पादित केही पनि चिज खान्नन् ।

null 

चाँदनी सानैदेखि सडकमा डुलिरहने जनावरलाई खाना खुवाउँथिन् । पछि, यो उनको दैनिकी नै बन्यो । पोखराको एक सहकारीमा काम गर्ने उनले अव्यवस्थित जीवन बिताइरहेका सडकका जनावरलाई दैनिक खाना खुवाउन थालिन् । त्यसरी खाना खुवाइरहँदा घाइते, बिरामी र छाडा छोडिएका कुकुर र बिराला देखिन्थे । यस्तो देख्दा उनलाई घर बनाउन मन हुन्थ्यो । यस्तैले गर्दा उनले एनिमल केयर सेन्टर खोल्ने सोच बनाइसकेकी थिइन् । यो काम उस्तै अप्ठ्यारो र खर्चिलो हुन्छ भन्ने चाँदनीलाई थाहा थियो । उनले बुनेको भविष्यको योजनामा जनावरका लागि घर भने शुरूवातदेखि नै थियो । यसलाई पूरा गर्न एकपटक विदेश जानैपर्छ भन्ने उनले सोचिन् । किनकि एनिमल केयर सेन्टर खोल्नका लागि आर्थिकरुपमा बलियो हुनु थियो । तर उनले योजना बनाएअनुसार समय चलेन । परिदृश्य फरक बन्यो । किनकि कोरोना भाइरस आएसँगै लकडाउन भयो । त्यसमा सबैभन्दा बिचल्ली उनले प्रेम गर्ने जनावरको भयो । उनीहरू खानेकुरा जुटाउनै धौ–धौ पर्यो । कहिले व्यक्ति वा होटल रेष्टुरेन्टले दिएकोले जनावरले पेट भरे । त्यो पनि नहुँदा डस्टबिनमा फालिएको खानेकुरा समेत जनावरको पेट भर्ने स्रोत बन्यो । लकडाउन लम्बिँदा यी स्रोतहरू पनि बिस्तारै सुक्दै गए ।

null 

निर्मलपोखरी घर भएकी चाँदनीलाई दैनिक बजार आउन सहज पनि हुँदैन थियो । यसपछि उनले घरमै कुकुर र बिराला लिएर जान थालिन् । घरमा लगिएका १८ वटा पुगिसकेका थिए । यसले गर्दा उनका लागि घरमा सहज वातावरण भएन । पैसा कमाएपछि खोल्ने भनिएको रेस्क्यू सेन्टर लकडाउनको समयमा नै आवश्यक रहेको उनले बुझिन् । सेन्टर त खोल्ने, तर पैसा ? यस्तो अन्योलबीच उनले आफैँलाई प्रश्न गरिन् । यो अन्यौलतालाई चिर्दै उनले  ऋण नै लिएर भएपनि रेस्क्यू सेन्टर स्थापना गर्ने सुर कसिन् । काम गरिरहेको सहकारीबाट ७ लाख रुपैयाँ  ऋण लिइन् ।

करिब ४ वर्षअघिको कुरा हो । छोरेपाटनमा भाइको सहयोगमा चाँदनीले घर बनाइन् । ‘त्यो बेला सहकारीमा जागिर गर्थेँ । त्यहीँबाट ७ लाख  ऋण लिएर घर बनाएँ । भाइ र म आफैँले ढुंगा, ब्लक बोकेर घर बनाएका हौँ,’ चाँदनीले शुरूवाती ती दिन सम्झिइन् । 

यसरी शुरू भएको चाँदनीको एनिमल रेस्क्यू एन्ड केयर सेन्टरमा भाइसँगै आमाको पनि साथ रह्यो । किनकि संस्था खोल्नलाई चाँदनीलाई आमाले उपलब्ध गराइन् । यसले गर्दा भाडा तिर्ने झन्झट ब्यहोर्नु परेन । खर्च कम गर्न चाँदनी र उनका भाइले ढुंगा र बालुवा आफैँ बोकेका थिए । दिदीभाइ बिहान ३ बजे नै उठेर काम गर्ने गर्थे । खर्च कम गर्नेगरी काम गरेपनि सोचेजस्तो भने भएनन् । ‘मैले ७ लाख सोचेकी थिएँ १४ लाख भेट्यो ।  ऋण लिएको रकम सकियो । काम बाँकी नै थियो । ३ महिना काम नै रोकियो । बाँकी रकम कहाँबाट ल्याउने ? । फेरि मनमा प्रश्न उठ्यो,’ उनले भनिन् ।

जति दुःख आइलागे पनि चाँदनीले काम बीचमै थाती राख्न चाहिनन् । त्यसपछि फेरि  ऋण लिइन् । रोकिएको काम पुनः शुरू भयो । कामसँगै गाली गर्ने आफन्त पनि बढे । यस्तो पनि चाँदनीलाई आमाको साथ रहिरह्यो । त्यसैले उनलाई अरुको मतलब नै भएन । 

null

त्यसरी शुरू भएको रेस्क्यू सेन्टरमा अहिले २४ वटा कुकुर र १७ वटा बिराला छन् । यही असोज ९ गते मात्रै पनि उनले बिरालो र कुकुर उद्धार गरेर ल्याएकी थिइन् । आफूलाई दैनिकजसो उद्धारका लागि कम्तीमा ६ वटा फोन आउने गरेको उनी बताउँछिन् । रेस्क्यू सेन्टरमा मात्र नभएर चाँदनीको घरमासमेत उद्धार गरेर ल्याएका ८ वटा कुकुर–बिराला छन् । एउटा गाई पनि छ । जसको स्याहार उनकी आमाले गर्छिन् ।

औषधोपचार, खानापान र स्याहारसुसारमा चाँदनीको मासिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । तर सहयोग कतैबाट छैन । आम्दानीको बाटो भनेको चाँदनीको जागिरमात्र हो । ‘खर्च जुटाउने बाटो भने छैन । संस्था बनाउँदा लिएको  ऋणले आजकल मलाई थप तनाब थपेको छ । सहकारीको कामले नपुगेर बिहानदेखि अनलाइन जब पनि शुरू गरेकी छु,’ उनले भनिन्, ‘बिहान ४ बजे अनलाइन जागिरबाट मेरो दैनिकी शुरू हुन्छ । आम्दानीको स्रोत बढाउन फुर्सदको समयमा रेस्क्यू सेन्टरमै धुपबात्ती बनाउने काम पनि हुन्छ ।’ 

null

चाँदनीलाई अर्को एउटा समस्याले पनि दुःख दिने गरेको छ । घरमै पालेका जनावर बिरामी वा बूढो भए भने कतिपयले उद्धारका लागि उनलाई बोलाउँछन् । चाँदनीले अहिले राख्ने अवस्था नरहेको सुनाए बाटोमा फालिदिने धम्की दिन्छन् । ‘पहिला रेस्क्यू सेन्टरमा सीसी क्यामेरा थिएन । स्टाफ नभएको बेला गेट लगाएर जान्थेँ । कतिले गेटभित्र आफ्नो घरको कुकुर छिराएर जान्थे । यस्ता कुराले खुब दुःख पाइयो,’ उनले सुनाइन् ।  

यी चुनौतीका बीच चाँदनी जनावरको उद्धार र स्याहारमा लागेकी छिन् । यसरी उद्धार भएका जनावरको बच्चा छन् भने उनले हेरचाहका लागि अरुलाई निःशुल्क दिन्छिन् । हुर्किसकेको वा चोटपटक लागेको छ भने उनले स्याहारसुसारका लागि आफैँ राख्छिन् । 

दुई महिनामात्र भयो चाँदनीले कामका लागि स्टाफ राखेको । आजभोलि सहयोग गर्न साथमा नातेदार बहिनी छिन् । रेस्क्यू सेन्टर सञ्चालनमा जति नै चुनौतीको सामना गर्नुपरे पनि बन्द गर्ने सोच भने बनाएकी छैनन् उनले । वा भनौं जिम्मेवारीबाट पन्छिन चाहेकी छैनन् । 

‘रेस्क्यू सेन्टरको आर्थिक पाटोको सबै जिम्मेवारी एक्लै लिँदा पछिल्लो ७ महिनायतादेखि मलाई तनाब भने भइरहेको छ,’ उनले भनिन्, ‘असहज भएपछि महानगरपालिकासँग सहयोग माग्न पुगेकी छु । महानगरको जवाफ कुरेर बसेकी छु ।’

null 

चाँदनीका अनुसार उद्धार गरेर ल्याएका अधिकांश जनावर चोटपटक लागेका वा बिरामी हुन्छन् । उपचारमा बढी खर्च हुन्छ । ‘शुरूवाती समय हार्ट नामक एनिमल हस्पिटल संस्था ( गैरसरकारी संस्था)ले उपचारमा सहयोग गर्यो । अहिले सबै आफैँ गर्नुपर्छ,’ उनले सुनाइन् ।  परिस्थिति असहज भएपछि चाँदनीले केही हप्ता अघिमात्र जनावरको खाना जुटाउन सहयोग मागेकी थिइन् । खानाका लागि केही सहयोग प्राप्त गरेपछि तत्कालका लागि राहतको सास लिएको उनले बताइन् ।  ‘कतिलाई पोखरामा रेस्क्यू सेन्टर छ भन्ने पनि थाहा नहुने रहेछ । यसले गर्दा पोखराका मानिसले काठमाडौंका सेल्टरहरूमा हेल्प गरिराखेको हुँदा रहेछन्,’ उनले भनिन् ।

चाँदनीले उद्धार गरेर ल्याएका सबैको जनावरको नाम राखेकी छिन् । नाम लिएपछि हरेक जनावर पुच्छर हल्लाउँदै उनी ठाउँ आइपुग्छन् । रेस्क्यू सेन्टरको एककुनामा चाँदनीले आफ्नो बासस्थान बनाएकी छिन् । परिवारका सदस्य जसरी एकैठाउँमा बस्छन् सबै । कतिपय त चाँदनी नभइ सुत्दैनन् पनि । त्यसैले त उनलाई उद्धार गरेर ल्याएका जनावर मरेमा आफ्नै आफन्त गुमाएको झैँ लाग्छ ।

null

‘कुनै जनावर मरेमा मलाई पहिला–पहिला एकदमै गाह्रो हुन्थ्यो । एकहप्ता त खाना नै नखाने गर्थे । आफन्त नै गुमाएझैँ लाग्थ्यो । अझ भनौं मान्छेकै बच्चाबच्चीसरह लाग्छ,’ उनले भनिन् । चाँदनीलाई परित्यक्ता पारिएका जनावरहरूको उद्धार र हेरचाहका लागि निरन्तर लाग्न मन छ । जनावरप्रतिको प्रेमले रेस्क्यू सेन्टर खोलेकाले उनी यसलाई थप व्यवस्थित बनाउन चाहन्छिन् । यसका लागि उनले सरकारबाटै सहयोगको अपेक्षा राखेकी छिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्