२९ असार २०८३, सोमबार
माल पाएर चाल नपाएपछि

प्रदेश सरकारको निर्णय यातायातले टेरेन, नचली कबाड बने १३ करोडका बिजुली बस

४ वर्षदेखि थन्किएपछि काम नलाग्ने अवस्थामा पार्टपुर्जा, ब्याट्री समेत चार्ज हुन छाड्यो
असोज २२, २०८१
काठमाडौं
प्रदेश सरकारको निर्णय यातायातले टेरेन, नचली कबाड बने १३ करोडका बिजुली बस

विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् ।

एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र ‘भ्यान’ प्रयोगमा नआई खुला आकाशमुनि थन्किएका हुन् । संघको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमार्फत लुम्बिनी ल्याइएका बस लुम्बिनी विकास कोषको कार्यालय परिसरबाहिर थन्किएको ४ वर्ष पुग्यो ।

लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी बुद्ध सर्किट सञ्चालन गर्ने भनेर अत्याधुनिक सुविधासहितका ५ वटा बस र १४ वटा कार/भ्यान ल्याइएका थिए । 

सेतो नम्बर प्लेटका गाडी हरियोमा ‘कन्भर्ट’ गर्ने प्रदेश सरकारको निर्णयलाई यातायात व्यवस्था कार्यालयले नमान्दा लुम्बिनी ल्याइएका ‘इलेक्ट्रिक भेइकल’ थन्किएरै बिग्रिने अवस्थामा पुगेका हुन् । 

बसका ठूल्ठूला शिशा फुटेका छन् । टायर पञ्चर हुनुका साथै सीट पनि च्यातिएका छन् । रंग खुइलिँदै गएको छ ।

ब्याट्री समेत चार्ज हुन छाडेका छन् । ४ वर्षसम्म नचलेपछि लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाली सेनाले एउटा/एउटा गाडी दिन माग गरेका छन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले राज्यको निरीहताले गाडी पनि चलाउन नसकिएको बताए ।

‘म त यो विषयमा लड्दालड्दै थाकिसकें,’ भट्टराईले लोकान्तरसँग भने, ‘दर्ता गर्ने निकाय (यातायात)ले सेतो नम्बर प्लेटलाई हरियोमा बदल्ने कानून छैन भन्छ । क्याबिनेटको निर्णय मानेर काम गर्दैन । अहिले त हुँदाहुँदा गाडी सबैले माग्न थालिसके ।’

null

उनले थपे, ‘सरकारले सेतो प्लेटमा भए पनि चलाऊ भनेर पत्र दिए हामी चलाउन तयार थियौं । त्यो पनि पाइँदैन, अब के भनौं ?’

दातृ निकायबाट आएका महत्त्वपूर्ण सवारी साधन आन्तरिक कारण देखाउँदै चलाउन नसक्दा लुम्बिनीप्रति अन्तर्राष्ट्रिय जगतमा समेत नराम्रो सन्देश गएको छ । 

८ वैशाख २०८० मा लुम्बिनीमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले दाताबाट अनुदानमा प्राप्त गाडीलाई हरियो ‘नम्बर प्लेट’ मा रूपान्तरण गरी सेवा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।  

एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’अन्तर्गत १३ करोड रूपैयाँ लागतमा कोषलाई विद्युतीय बस प्राप्त भएका थिए । एउटा बसको मूल्य २ करोड र भ्यानको ४० लाख रुपैयाँ छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारीसाधन चलाउनमा आइपरेका कानूनी अड्चन फुकाउन प्रदेश सरकारले सहजीकरण गर्ने र सवारीसाधनलाई कामविहीन बनाएर राख्न नहुने बताए ।

‘कसरी हुन्छ, ती सवारीसाधन चलाउनुस् । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी कामविहीन बनाएर राख्दा सन्देश राम्रो जाँदैन । कानूनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउँछौंं ।’ 

यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा मात्रै ३ करोड ५० लाखभन्दा बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ । यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेको छ । लुम्बिनीमा १७ स्थानमा चार्ज गर्ने व्यवस्था छ ।

चल्ने अवस्था नदेखिएपछि भ्यान/कारमा भने विकास कोषका कर्मचारीले रजाइँ गरेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्यसहित पदाधिकारी र शाखा प्रमुखहरूले कार र भ्यान प्रयोग गरिरहेका छन् ।

गत निर्वाचन (२०७९) को समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि झण्डै १ महिना विभिन्न रूटमा ती बस चलेका थिए । त्यतिबेला बिग्राएका बस मर्मत समेत गरिएको छैन ।

null

गाडी सामान्य बिग्रिँदा पनि बनाउने वर्कसप, मिस्त्री र सामान्य पार्टपूर्जा समेत नपाइने समस्या छ ।

शान्तिभूमि लुम्बिनीमा धूवाँ र ध्वनिबाट हुने प्रदूषण घटाउन र पर्यटकलाई स्तरीय यातायात सुविधा दिन भन्दै विद्युतीय बस सञ्चालनका लागि बुद्ध जन्मस्थल लुम्बिनीदेखि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, मावली देवदह, बुद्धको अस्थीधातु रहेको नवलपरासीको रामग्राम हुँदै तिलौराकोटसम्मको रूट तय गरिएको छ ।

त्यसबेला किनिएका १३० बिजुली रिक्सा कोष आसपासमा सञ्चालनमा छन् ।

करोडौंका विद्युतीय सवारी अलपत्र पार्ने लुम्बिनी विकास कोष र सरकारी संयन्त्रविरुद्ध जनदबाब जरुरी देखिएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । ‘कम्तीमा एउटा कार्यविधि बनाएर चलाउनुपर्छ । नत्र निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्छ । यस्तो विचित्र अवस्थामा छाडेर हुँदैन,’ जिसीले भने ।

गाडी चलाउनका लागि सरोकारवाला र पर्यटन व्यवसायीले खबरदारी गर्नुपर्ने आवश्यकता देखिएको अध्यक्ष जिसीको भनाइ छ । 

बस र कार/भ्यान सबै अत्याधुनिक हुन् । १९ सीट क्षमताका बसमा उभिँदा ३५ जनासम्म अटाउँछन् । बस अपांगमैत्री छन् । स्वचालित खुल्ने ढोकावाला बसमा आनन्ददायी सीट छन् । कार्डले स्टार्ट हुने गरी आवाजरहित व्यवस्था छ । 

एकपटक फूल चार्ज गरे ४०० किलोमिटर गुड्छ । आपतकालीन अवस्थाका लागि ठूल्ठूला ढोका छन् । बस रोक्नका लागि सीट–सीटमा बेलबटम छन् । थिच्नासाथ चालक छेउको बत्ती बल्छ । 

८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकैपटक ‘क्विक चार्ज’ गर्न सकिन्छ ।  क्विक चार्जरबाट फूल चार्ज हुन आधी घण्टा लाग्छ । 

बस नचल्दा लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो लगानी गर्दै आएको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाले आगामी दिनमा के गर्छ भन्ने प्रश्न खडा भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्