
शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीका केही अधिकृतहरू पछिल्ला दिनमा विभिन्न कृतिमा रमाइरहेका छन् ।
गीत, कविता र कथाका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृतले राष्ट्रिय भावना, राष्ट्रिय संस्कृतिको जगेर्ना, राष्ट्रिय पहिचान लगायत विषयमा केन्द्रित रहेर काव्यहरू सिर्जना गरिरहेका छन् ।
नेपाल प्रहरीभित्रै गीतकारमा अब्बल मानिएका प्रहरी अधिकृत हुन्, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ । उनकै शब्दमा लेखिएका आफ्नै धड्कन’ ‘जीवनसाथी’, ‘आमा’ ‘मीठामीठा बोली बोल्दै’, ‘तिमी सागर’, ‘जीवनसाथी’, ‘स्वदेश नाता’ र ‘स्वर्ग सुख’ लगायत दर्जनौं गीतहरू छन् । आफ्नै धड्कनमा स्वरूपराज आचार्यजस्ता प्रख्यात गायकले स्वर दिएका छन् । त्यस्तै पावल चाम्लिङ राईले संगीत भरेका छन् भने संगीत संयोजन चाँद सिंहले गरेका छन् ।
एआईजी तामाङका गीतमा म्युजिक भिडियो समेत बनेका छन् । नायिका केकी अधिकारी, आश्मान तामाङ र सनम कठायतले अभिनय भरेका छन् । उनका गीतहरूमा रामकृष्ण ढकालदेखि, राजेशपायल राई, शिव परियार, अञ्जु पन्त, मेलिना राई लगायतका संगीत सर्जकहरूले स्वर दिएका छन् । उनी नेपाल प्रहरीको सेवासँगै विगत तीन दशकभन्दा लामो समयदेखि साहित्य तथा गीत सिर्जनामा सक्रिय छन् । ‘म सानैदेखि गीतमा रमाउने गर्थें, गीत लेख्नु मेरो सोख पनि हो,’ तामाङ भन्छन्, ‘गीतका माध्यमबाट सर्वसाधारणसँग अटुट नाता राख्ने मेरो रुचि छ । गीतसंगीतका माध्यमबाट मानिसको पीडा र भावना व्यक्त गर्दै आएको छु ।’
भोजपुरमा जन्मिएका तामाङले एसएलसीमा जिल्ला ‘टप’ गरेका थिए । उनी स्कूले केटाकेटी हुँदा नै पुस्तकालयमा अतिरिक्त काम गर्थे । त्यतिबेलै उनले विभिन्न कथा र कृतिहरूको अध्ययन गरेका थिए ।
‘म स्कूल पढ्दादेखिनै गीत गाउने र लेख्ने गर्थें, प्रहरीमा आएपछि मैले अतिरिक्त समयमा मात्रै गीतहरू लेख्न थालेको हुँ,’ तामाङले भने, ‘२०५० सालमै मैले म्युजिक नेपालमा गीत रेकर्ड गराएको थिएँ ।’
पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनले साहित्य प्रतिस्पर्धामा उत्कृष्टता हासिल गरेका थिए ।
अर्का कृतिकार डीआईजी कार्की
संगठनको सकलदर्जाका कृतिकारमध्ये अर्का उच्च प्रहरी अधिकृत हुन्, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्की ।
प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका कार्कीले लेखेका तीनवटा गीत सार्वजनिक भए । पहिलो ‘फूलको वासना सरी’, दोस्रो ‘दशैं रमाइलो’ र तेस्रो ‘आयो दशैं तिहार’ । फूलको वासना सरीमा दीपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकारहरू रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपूत र विनिशा पौडेलको अभिनय रहेको छ । गीतको भिडियो निर्देशक गम्भीर बिष्ट र यसको ‘कन्सेप्ट’ सरोज ओलीले गरेका थिए । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको थियो । गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने प्रहरीको अव्यक्त भावनालाई व्यक्त गरिएको थियो । गीतमा प्रहरीका दुःखहरू पनि छन् । राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि गीतमा प्रस्तुत गर्न खोजिएको बताउँछन्, डीआइजी कार्की ।
कार्कीकै रचनामा ‘दशैं रमाइलो’ बोलको गीत पनि छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ । संगीत दीपक शर्माले भरेका छन् । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा दशैंको रमाइलो माहोलको दृश्य समावेश गरिएको छ । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली ‘फिचर्ड’ छन् । दशैंको रौनक देखिने गीतमा तीनै जनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् । भिडियोमा करणसिंह चासिरको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन र कोरियोग्राफी जेरी भण्डारीकै छ ।
‘दशैं विशिष्ट सांस्कृतिक महत्त्व बोकेको नेपालीहरूको महान् चाड हो,’ गीतबारे गीतकार कार्की भन्छन्, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दशैं मान्न नपाउनेहरूको समग्र अवस्था र मनस्थिति गीतमार्फत झल्काउन खोजिएको हो ।’
कार्कीकै रचनामा अर्को गीत ‘आयो दशैं तिहार’ धेरै मार्मिक र मर्मस्पर्शी छ । गीतले परदेशमा रोजगारीका लागि पुगेका नेपाली र स्वदेशमा बसेका उनीहरूका आफन्तको दशैं कस्तो होला भन्ने विषयलाई स्थान दिइएको छ । उनले शब्दभन्दा पनि भावनाले लेखिएको यो गीतमा गाउँ छाडेर शहर पसेका, परदेशमा रहेका मानिसहरूलाई लक्षित गरिएको छ ।
‘मलाई गीत लेख्नुपर्छ भन्नेचाहिँ थियो, अझ नेपाल प्रहरीकै विषय समेटिएको गीत धेरै रहेनछ, म लेख्छु भनेरै लेखेँ,’ कार्की भन्छन्, ‘सीमित स्रोतसाधनमा प्रहरीले कसरी अनुशासित भएर काम र कर्तव्य पूरा गर्नुपर्छ भन्ने सन्देश फूलको वासनासरीले दिएको छ ।’
कथाबाट अलग्गै पहिचान बनाएका केसी
नेपाल प्रहरीभित्र अर्का डीआईजी रविन्द्र केसीको अलग्गै पहिचान छ । कथाकार केसीको ‘सम्बन्धको दोबाटो’ कथासंग्रह अलि अगाडि (२०८० फागुन)मा प्रकाशित भएको थियो । केसीका दर्जनौं कथाहरू छन् । उनले आफ्नो नवीन कृति सम्बन्धको दोबाटोमा २१ वटा कथालाई संग्रहित गरी नेपाली साहित्यलाई मौलिक एवं सामाजिक कथाहरूको संगालो समर्पण गरेका छन् ।
कथामा मानव र मानवताबीचको अन्तरसम्बन्धको पृष्ठपोषण गर्दै विविध घटना, भिन्नभिन्न पात्र परिवेश, सामाजिक विकृति विसंगति, आन्तरिक द्वन्द्व, राजनैतिक क्रियाकलाप तथा क्यारेबियन भूमिमाथिका पदचाप एवं नेपाली माटोको सुगन्धको आवाजलाई समेत एउटै मालामा सुन्दर तरिकाले संयोजन गरिएको छ । यसलाई सरल र रचनात्मक ढंगले प्रस्तुत गर्ने कोशिश गरिएको छ ।
सामाजिक घटनाअन्तर्गत जातीय विभेद, गरिबी, बेरोजगारी, राजनीतिक वितृष्णा, घरेलु तथा लैंगिक हिंसा र यौनजन्य अपराधहरू कथामा प्रमुख विषय बनेका छन् । प्रविधिमा अभ्यस्त भइरहेको वर्तमान समयमा प्रविधिले निम्त्याउने अपराधबाट आममानव समुदाय किन सचेत हुने ? समाज विघटनको मार्गमा अगाडि बढिरहँदा यसले भविष्य दिने परिणाम कस्तो हुनेछ ? जस्ता प्रश्नको जवाफ केसीका कथामा भेटिन्छन् ।
‘कथाको माध्यमबाट मैले विकसित समाजभित्रका विकृति र विसंगतिलाई बाहिर ल्याउने प्रयास गरेको हुँ,’ केसी भन्छन्, ‘फुर्सदमा आफूले बुझेको सामाजिक विषयलाई कथाका माध्यमबाट व्यक्त गरेको मात्रै हो ।’
सेवाकै माध्यमबाट कृति सिर्जना गर्ने धारणा बन्यो– एसपी थापा
प्रहरी उपरीक्षक (एसपी) रमेश थापा पनि गीत लेखनमा बामे सर्दैछन् । उनले लेखेको ‘सक्दिन म यो माटो भुल्न’ बोलको गीतमा पनि देशप्रेमको भावना समेटिएको छ । उनले देशको माटोमा स्वाभिमान लुकेको भन्दै आफ्नो उचो शीर कहिल्यै नझुकाउनु भन्दै स्रोताहरूलाई सुझाव दिएका छन् । नेपाली पहिचान बोकेका हिमाल, लालीगुराँस, हरियो वन, पाखा पखेरो, शान्तिदुत गौतम बुद्ध र आमाको प्रसंग जोडेर गीतलाई राष्ट्रिय भावनामा ढालेका छन् ।
‘म ठूलो गीतकार होइन, स्कूल पढ्दादेखि नै गीत र कविता लेखिरहन्थे, माटो भुल्न सक्दिन भन्ने गीत पनि पुराना सिकाइले नै कोरेको सिर्जना हो,’ एसपी थापाले लोकान्तरसँग भने, ‘फेरि पनि नयाँ गीत लेखिरहेको छु । स्रोतामाझ चाँडै नै पस्कन्छु ।’
गीतमार्फत आमाबुबाको महत्त्व चिनाएका डीएसपी रिमाल
कृति लेख्न दर्जा र व्यक्तिले छेक्दैन भन्ने उदाहरण डीएसपी जयश्वर रिमाल हुन् । उनको साहित्यिक नाम ‘जय’ हो । जयले ‘आमाबुबा मेरो भगवान’ बोलको गीतले धेरैको मन खिचिरहेको छ । उनले आमाबुबाले बच्चालाई जन्म दिएदेखि हुर्काउँदासम्म भोगेका दुःख, पीडा, चुनौती, संघर्षलाई गीतमा समेटेका छन् । मातृदेवो भवः, पितृदेवो भवः भन्ने हिन्दू संस्कारलाई रिमालले गीतमा उतारेका छन् । आमाबाबुले आफ्ना बच्चालाई सरल जीवन र सुसंस्कारको योगदान दिएकाले उनीहरू प्रकृतिको सुन्दर सृष्टीकार र भगवान हुन् भन्ने उनको गीतको मनोभावना छ । रिमालका गीतसँगै कथा र कविता संग्रहहरू पनि छन् ।
‘मैले स्कूल पढ्दादेखि नै कविता लेख्न रुचाउथेँ, मेरा कान्छा मामा मधु दुवाडीबाट प्रभावित भएर मैले कविता लेख्न थालेँ,’ रिमाल सम्झन्छन्, ‘सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको र सुनकोसी थुनिएको बेला मैले आफ्ना कृति सिर्जना गर्न थालेँ।’
उनले सुनकोसी नभएको १४ घण्टा, तेलको पैसाजस्ता नियात्रा लेखेका छन् । उनले विगत ११ वर्षदेखि कविता, गीत र कथा लेख्न थालेका थिए ।
कथा र कविता संग्रहका धनी डीएसपी लामा
डीएसपी मिमबहादुर लामा सानैदेखि कथा र कवितामा रुचि राख्थे । उनका गुनासोको कारोबार, आजभोलिको गाउँ, इज्जतको पोकोलगायत डेढ सयभन्दा बढी कविता छन् । कविता संग्रहसँगै उनले लेखेका कथाहरू पनि प्रकाशित छन् । लामा इन्सपेक्टर हुँदादेखि नै लेखनमा खारिँदै थिए । उनका कथा र कविताले समाजभित्रका विकृति तथा विसंगतिको चित्र समेटेका छन् ।