
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । शय्या अभाव हुँदा अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ ।
१५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।
'बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेङ्गुका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छ,' उनले भने ।
अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाइ नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।
व्यास–१,२, ३, ४ र ५ मा डेङ्गुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए ।
दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।