
सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिकाे कारबाही सिफारिसका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रवार पक्राउ परे । केन्द्रीय कार्यालयबाटै उनलाई प्रहरीले रातारात पोखरा लिएर गयो । पोखराकै सूर्यदर्शन सहकारीमा रकम अपचलनको आरोपमा उनीमाथि थप छानबिन हुने र मुद्दा अघि बढ्ने भएपछि पोखरा लगिएको हो । छानबिन समितिको सिफारिसपछि यो कानूनी प्रक्रियामात्रै हो । तर सहकारी प्रकरणका लामिछाने दोषी किटान भएर अन्तिम फैसला नै भएझैँ रास्वपाले यसलाई राजनीतिक लेप लगाउने कोसिस गरिरहेको छ ।
यसका बीच अब पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी कसुर, संगठित अपराध र कीर्ते गरेको मुद्दामा अनुसन्धान अगाडि बढाउने तयारी भएको छ । शनिवार बिदा परेकाले उनलाई आइतवार अदालतमा उपस्थित गराइ म्याद थप गरिने छ । त्यसपछि अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने छ । यो जुनसुकै मुद्दामा अनुसन्धानको प्रक्रिया हो ।
तर समितिको कारबाही सिफारिसमा आफ्नै पार्टीका सदस्य शिखिर खनालले हस्ताक्षर गरेको विषयलाई पनि अपव्याख्या गर्दै रास्वपाले विरोधाभाष देखाएको थियो ।
आफैंसमेत तयार भएर बनेको संसदीय समितिले सर्वसम्मत रुपमा गत भदौ ३१ गते प्रतिवेदन तयार गर्यो । प्रतिवेदनले गोरखा मिडिया प्रालिमा आएको करोडौं रुपैयाँ खर्च गर्नमा लामिछानेलाई दोषी देखाउँदै प्रष्ट रुपमा कारबाही सिफारिस गरेको थियो । ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोरखा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ प्रतिवेदनले भनेको थियो ।
यही प्रतिवेदनलाई आधार मान्दै लामिछानेले आफैं कानून, न्यायिक र आर्थिक सबै दायित्व लिने सार्वजनिक रुपमै बताएका थिए । ‘म रहेको कार्यकालमा भएको गैरकानूनी कुराको नैतिक, कानूनी, आर्थिक जे जिम्मेवारी लिनुपर्छ म तयार छु,’ छविलाल जोशी पक्राउ परेपछि लामिछानेले भनेका थिए ।
तर प्रहरीले पक्राउ गर्ने सुइको पाएपछि लामिछाने शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुहार्न पनि पुगे । विपक्षीको बैठकमा आफ्ना आधा दर्जन नेतालाई सहभागी गराउँदै उनले पक्राउको प्रतिवाद गरिदिन माओवादीसहित दललाई आग्रह गरे । तर साना दललाई विभाजन गर्न खोजेको ठूला दलको प्रयत्नका विषयमा मात्रै प्रतिवाद गर्ने निर्णय विपक्षी दलको बैठकले गर्यो ।
पक्राउ पर्ने पक्का भएपछि लामिछाने त्यसको तयारीसहित बानेश्वरमा भएको विपक्षीको बैठकस्थलबाट सोझै वनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका थिए । बानेश्वरबाट उनी उपाध्यक्ष डोलप्रसाद अर्यालको गाडीमा गएका थिए ।
सहकारी छानबिन समितिले कारबाही सिफारिस गरेपछि लामिछानेविरुद्ध राज्यका अनुसन्धान गर्ने निकायले बल्ल मुद्दा प्रयोजनका लागि अनुसन्धान अगाडि बढाउँछन् । सहकारीको रकम अपचलनमा आफू संलग्न नरहेको भए तथ्य, प्रमाण दिन, सबै तर्क पेश गर्ने र कानूनी लडाइँका सबै प्रयत्न लगाउन उनी खुला छन् ।
लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा अनधिकृत रुपमा सूर्यदर्शन, सुप्रिम, सहारा, स्वर्णलक्ष्मीसहितका सहकारीबाट आएको करोडौं रुपैयाँ आएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । खर्च गर्नमा संग्लग्न भएको भनेर उनीमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ ।
तर एकातिर कानूनी प्रक्रियामा सहयोग गर्छु भन्ने र अर्कोतिर अनुसन्धानका लागि पक्राउ पुर्जी जारी हुँदा नै राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोधाभाष देखाउने काम गरेको लामिछानेमाथि आरोप छ ।
पक्राउ पुर्जी जारी भएपछि उनले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरे । यतिमात्रै होइन आफ्नो पक्राउ पक्का भएपछि उनले एउटा भिडियो सन्देश पनि रेकर्ड गराएका थिए । जुन उनी पक्राउ परेपछि रास्वपाले सार्वजनिक गरेको थियो ।
अनुसन्धानलाई सघाउँछु भनेर खुला घोषणा गरेका लामिछानेले कार्यकर्तालाई सडकमा उत्रिन निर्देशन पनि दिए । यसबाट उनीमाथि दोहोरो चरित्र देखाएको आरोप लागेको छ ।
‘देशको आशा र भरोसामाथि प्रहार भएको छ । म न्यायिक र अदालती प्रक्रियालाई सम्मान गर्छु,’ पक्राउ पर्नु ठीकअगाडि उनले भनेका थिए, ‘तर राजनीतिक पूर्वाग्रहमा खुलेर प्रतिवाद गर्छु । राज्यले गरेको दादागिरीलाई डटेर सामना गर्नुस् ।’ उनको यो भनाइपछि प्रहरीले उनलाई पोखरा लिएर हिँड्यो । त्यसपछि रास्वपाले शनिवारका लागि पोखरा र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्यो ।
सभापति लामिछानेसँगै रास्वपाका उपाध्यक्षद्वय डोलप्रसाद अर्याल, डा स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनीष झा, रमेश प्रसाईं, डा तोसिमा कार्कीसहितका नेताले पोखराको विरोध प्रदर्शनलाई सम्बोधन गरे । अनुसन्धानका लागि पक्राउ गरिएका सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको उनीहरूको मन्तव्यको सार थियो । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्याल र वाग्लेले आक्रोश पोखे । नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि झाको टिप्पणी उस्तै अस्वाभाविक थियो ।
‘धन्यवाद गगन थापा ! तिमी पनि नांगियौ । किनकि यो देशमा युवाले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे । केही पढेलेखेका र नयाँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे एउटा दलको रुपमा आउँदै गर्दा उ आत्तियो,’ झाले आक्रोश पोख्दै थापालाई भने ।
तर पोखरा र काठमाडौंमा पाँच/सात सय समर्थन र शुभेच्छुकले प्रदर्शन गर्नुबाहेक रास्वपाले दाबी गरेजस्तो लामिछाने पक्राउको कुनै तरंग आएन । बरु नुवाकोटमा रास्वपाकै कार्यकर्ताले बाटो अवरुद्ध गरेकोप्रति पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नै विरोध गरे ।
‘विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपा या रवि लामिछानेका समर्थक हुनै सक्दैनन्,’ नुवाकोटमा रास्वपाका कार्यकर्ताले बाटो नै बन्द गरी विरोध प्रदर्शन गरेपछि कार्कीले सामाजिक सञ्जालमा लेखे ।
गोरखा मिडियाका तत्कालीन सञ्चालकमध्येका छविलाल जोशी असोज ६ गते पक्राउ परेपछि रास्वपा र यसका सभापति लामिछाने आत्तिएका थिए । एक दिनअगाडि चीन पुगेका उपसभापति वाग्लेसहितका शीर्ष नेतालाई रास्वपाले रातारात बोलाएको थियो ।
हरेक सार्वजनिक मञ्चबाट सहकारी प्रकरणको प्रतिवाद गर्न र विरोधमा उत्रिन रास्वपाले पार्टी पंक्तिलाई निर्देशन नै दिएको थियो । पटकपटक रास्वपाले पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने बताउँदै आएको थियो ।
रास्वपा र यसका नेताका यस्तै शृंखलावद्ध विरोधाभाषले सभापति लामिछाने पक्राउ पर्दा पनि राजनीतिक रुपमा तरंग भने आउन नसकेको विश्लेषण गर्न सकिन्छ ।