०९ साउन २०८३, शनिबार
उपचारमा लापरबाहीको आरोप

उपचारका लागि अमेरिकाबाट आएका ज्ञानप्रसादको मेडिसिटीमा मृत्यु, लापरबाहीविरुद्ध परिवार अदालतमा

कात्तिक ६, २०८१
काठमाडौं
उपचारका लागि अमेरिकाबाट आएका ज्ञानप्रसादको मेडिसिटीमा मृत्यु, लापरबाहीविरुद्ध परिवार अदालतमा

ललितपुरको मेडिसिटी अस्पतालमा चिकित्सकको गम्भीर लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबीसहित मेडिकल काउन्सिलमा उजुरी परेको छ । साथै, अदालतमा मुद्दा समेत दायर भएको छ ।

मेडिसिटीमा उपचारका क्रममा ६२ वर्षीय ज्ञानप्रसाद रिमालको मृत्यु भएपछि उनका छोरा प्रताप रिमालले कात्तिक ४ गते काउन्सिलमा उजुरी दर्ता गराएका हुन् ।

'उपचारको सम्पूर्ण प्रक्रिया र घटनाक्रमको तथ्यपरक छानबिन होस् र दोषीलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्,' उजुरीमा उल्लेख छ ।

मृतक रिमाल गैरआवासीय नेपाली (अमेरिकन नागरिक) हुन् । उजुरीकर्ता पनि हाल अमेरिकी नागरिक नै हुन् । 'सम्पूर्ण घटनाक्रमसँगै कागजात, अडियो, भिडियो तथा अन्य आवश्यक सामाग्री समेत यही निवेदनसँगै बुझाएको छु,' उजुरीमा भनिएको छ ।

null

कसरी भयो लापरबाही ?छोराले सुनाए वृत्तान्त (उनकै शब्दमा)

मेरो बुबा ज्ञानप्रसाद रिमालले विगत डेढ महिनादेखि हेमोडाइलाइसिस गराइराख्नुभएको थियो । भारतमा इमर्जेन्सी डाइलाइसिस शुरू गरेर मेडिसिटीमा निरन्तरता दिएका थियौं । उहाँ क्रोनिक किड्नी डिजिज तथा कोरोनरी आर्टरी डिजिजको प्यासेन्ट हुनुहुन्थ्यो । उहाँ पहिलेदेखि नै टाइप टु डाइबिटिक प्यासेन्ट हुनुहुन्थ्यो । उहाँलाई हप्प्तामा ३ दिन डाइलाइसिस गराइराखेका थियौं ।

एक्कासि घरमा साँझदेखि नै रिंगटा लाग्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने अवस्था आयो । उहाँलाई बेचैनी भएपछि भदौ ३१ गते बिहानै मेडिसिटीको इमर्जेन्सीमा भर्ना गराएका थियौं । त्यहाँ जाँच गर्दा युरिया लेभल एकदमै धेरै भएर २०७ मा पुगेकाले गाह्रो भएको भनियो ।

सोही दिन उहाँको डाइलाइसिस गर्ने पालो पनि थियो । डाइलाइसिस गर्दैगर्दा असहज भएपछि आईसीयूमा राखेर अवलोकन गर्नुपर्छ, इन्फेक्सन हो कि भन्ने कुरा आयो । त्यसपछि रगतको स्याम्पल कल्चरमा लगियो । तर, इन्फेक्सन हो कि होइन भन्ने कुरा त आधिकारिकरूपमा बुवाको मृत्युसम्म पनि हामीलाई जानकारी गराइएन ।

असोज १ गते ईसीजीमा परिवर्तन देखिएको र कार्डियाक इन्जाइम्सको पनि जाँच गर्नुपर्छ भनियो । धेरै एलिभेसन देखिएमा सोहीदिन बेलुकासम्ममा नै एन्जियोग्राम गर्ने भनिएको थियो । तर, के कस्तो रिपोर्ट आयो,त्यसको केही पनि जनकारी गराइएन । अन्ततः भोलि मात्र एन्जियोग्राम गर्ने भनेर सूचित गराइयो ।

असोज २ गते कार्डियोलोजी विभागका एचओडी डा. रञ्जितकुमार शर्मा र उहाँको टीमद्वारा एन्जियोग्राम सफलतापूर्वक सम्पन्न गरिएको भन्ने जानकारी गराइएको थियो । अब्जरभेसनका लागि पुनः दिउँसो १ बजेतिर आईसीयूमा लगियो । त्यहाँ हामी परिवारका सदस्यलाई बिरामीसँग भेट्न दिइएको थियो । बुवा त्यति बेला सामान्य अवस्थामै हनुहुन्थ्यो । उहाँसँग हाम्रो छोटो कुराकानी पनि भयो ।

बुबासँग कोही पनि बस्नु नपर्ने र आईसीयूमा रहेका बिरामीको रेखदेख अस्पतालले नै गर्ने भनियो । बिरामीको अवस्थाबारे जानकारी गराइने र केही गाह्रो परेमा तुरुन्तै खबर गर्ने भनेर त्यहाँ बस्न नदिएपछि ३ बजेतिर हामी घर फर्कियौं ।

अस्पतालबाट साँझसम्म केही अपडेट नआएपछि ६:२८ तिर आफैंले फोन गरेर कस्तो छ भनेर सोध्यौं । उताबाट'सबै कुरा सामान्य छ, आत्तिन पर्दैन'भनियो । तर, नर्सिङ नोट्समा भने फरक कुरा लेखिएको हामीले बुवाको मृत्युपश्चात मात्र थाहा पाएका थियौं । उक्त नोटमा साँझ ५ बजेतिर नै सीएजी साइट्स सुनिएको र निलो भएको उल्लेख छ । डा. किशोर खनालले पनि कम्प्रेसन ड्रेसिङ हटाउनुपर्ने भनेको नोटमा उल्लेख छ । तर, त्यो हटाइयो वा हटाइएन भन्ने कुरा नोटमा उल्लेख गरिएको छैन ।

 नर्स रोजिना केसीले धनमाया थापासँग करिब ७ बजे  ह्यान्डओभर लिएको र सोही नोट्समा एन्जियोप्लास्ट साइट नर्मल भनेर लेखिएको छ । १ बजे नै देखिएको कुरा ७ बजेको नोटमा किन खुलाइएको छैन?नर्सले बिरामीको अवस्था परीक्षण गरेर लेखेको हो वा कपीपेस्ट गरेर आफ्नो काम देखाएको हो भन्ने प्रश्न उठ्छ ।

डा. किशोर खनालले बिरामीलाई ५ बजेसम्म हेरेर ह्यान्डओभर गरी घर जानुभयो । बिरामीको दुखाइबारे म जानकार रहेकाले ७ बजेतिर आफैंले आईसीयूमा फोन गरेर बुझ्दा त्यस्तो केही समस्या नरहेको भनियो ।

रातको ९ बजे हातमा फोका देखिएर आईसीयूका डाक्टर रञ्जनलाई पनि जानकारी गराइएको र बल्ल ड्रेसिङ लुज गरिएको भनिएको छ । १० बजेको नोट्समा पो बल्ल सुन्निएको कुरा लेखिएको छ । जुनकुरा ५ बजेकै नोटमा लेखिएपनि ७ बजेको ह्यान्डओभर नोटमा कहीँकतै मेन्सन गरिएको थिएन ।

बुवाको अवस्थाबारे हामीलाई रातभरि केही जानकारी गराएनन् । असोज ३ गते बिहान ६ बजेतिर अस्पतालबाट फोन आयो । केही नबुझेपछि कलब्याक गरें । त्यहाँ इन्फर्मेसन दिने कोही पनि छैनन्, पछि जानकारी गराउँछौं भनेर फोन काटियो ।

त्यसपछि बिरामीको एन्जियोप्लास्ट साइटबाट रगत बगिरहेको छ, टेपको एलर्जीलेब्लिस्टर (पानी फोका) देखिएको छ र कार्डियाक टीमलाई पनि बोलाएको छ भनियो ।

हामी अस्पतालतर्फ जाँदैगर्दा फेरि आईसीयूबाट फोन आयो । उनीहरूले बिरामीलाई इमर्जेन्सी अप्रेसनमा लैजानुपर्‍यो भने । हामी अस्पताल पुग्दा बिरामीलाई स्ट्रेचरमा राखेर अप्रेसन थिएटरमा लैजाने तयारी गर्दै थिए । हामीलाई देख्नेबित्तिकै बुवाले रुँदै रातभर पीडा र दुखाइले अत्तालिएर परिवारलाई खबर गर्दिनू भन्दै बिन्ति गर्दा पनि नर्स र डाक्टरहरूले वास्ता नगरेको गुनासो गर्नुभयो ।

रातभर सुन्निएको र निलो भएर फोका उठेको हातको उपचार गर्नुको सट्टा ब्यान्डेजले छोपेर राखिएको रहेछ । त्यस्तो हेर्न नसकिने घाउ देखाउँदै बुवाले भिडियो खिच्न लगाउनुभयो । उहाँले आफूमाथि अन्याय भएको,आफ्नो जिन्दगीमाथि खेलबाड भएको, आईसीयूमा रातभर आफ्नो अर्तनाद कसैले नसुनेको गुनासो गर्नुभयो । उहाँले डा. राधेश्यामको पनि नाम लिनुभयो ।

हामीलाई त नर्सिङ नोट्सबाट पछि मात्र थाहा भयो कि बुवालाई ७ घण्टा (राति १० बजेदेखि बिहान ५ बजेसम्म) १३५ एमसीजी फेन्टानिल(कडा पेनकिलर) दिइएको रहेछ । यति धेरै डोजको फेन्टानिल दिँदा पनि दुखाइ कम नभएर बिरामी छटपटाइरहँदा  समेत अर्को विकल्प सोचेर बिरामीको रिएसेसमेन्ट गर्नु त परको कुरा १० बजेपछि एकैचोटि १:३० मा बल्ल बिरामीको अवस्थाबारे नर्सिङ नोट्समा लेखिएको छ । २ बजेपछि पनि एसेसमेन्ट छैन । फेन्टानिलको डोज मात्र बढाइएकोछ । बिहान ६:३० बजेपछि त झन् २५ एमसीजी प्रतिघण्टा फेन्टानिल दिइएको रहेछ ।

राति १० बजे कार्डियोलोजिस्ट डा. मञ्जुले एमजीएसओफोर ड्रेसिङ गर्नू भनेर भनेकी रहिछन्,तर अस्पतालको फार्मेसीमा उपलब्ध नभएको भन्दै मुपिरोसिन ड्रेसिङ गरिएको रहेछ । बुवाले भिडियो खिच भनेर हात देखाउँदा हामी त छाँगाबाटखसेजस्तो भयौं । हातगोडा डगमगाउन थाल्यो । हाम्रो मन एकदमै अस्थिर भयो । रिंगटा लागेकोजस्तो भयो । बुवालाई अप्रेसनका लागि लगियो । हामी भने हतारिँदै त्यो भिडियो लिएर डा. रञ्जितलाई भेट्न गयौं । डा. रञ्जितले नै एन्जियोप्लास्ट गर्नुभएको र त्यसपछि नै कम्प्लिकेसन भएकाले कौतुहलता र सल्लाहका लागि भेट्न पुगेका थियौं ।

छोरा प्रताप रिमाल

डा. रञ्जितसँगै आईसीयू इन्चार्ज डा. किशोर खनाल र क्याथ ल्याबका अर्का एक डाक्टर पनि हुनुहुन्थ्यो । उहाँहरूको अनुमति लिएरै हामीले मीटिङको अडियो रेकर्ड गरेका थियौं । डा. रञ्जितले आर्टरी कम्प्रमाइज्ड नभएको तथा यस्ता ब्लिस्टर (पानीकाफोका) टेपकै एलर्जीका कारणले हुने बताउनुभयो । यस्ता केसहरू आफूले पहिले पनि देखेकाले सामान्य नै रहेको बताउनुभयो । कन्जरभेटिभ एप्रोचबाट हात ठाडो गरेर नै यसको उपचार गरिने भनेर उहाँले बारम्बार दोहोर्‍याउनुभयो । आफूले १७ वर्ष गंगालाल र ७ वर्ष मेडिसिटी अस्पतालमा रहँदा दशौं हजारको एन्जियोप्लास्ट सम्पन्न गरेको उहाँले बताउनुभयो ।

हामीले पनि एलर्जी नै कन्फर्म भइसकेको हो भने किन तुरुन्तै एक्सन नलिएर अप्रेसन गर्नुपर्ने अवस्थामा पुर्‍याएको हो भन्ने प्रश्न गर्दा एलेग्रा दिइएको थियो भनेर जवाफ दिनुभयो । एलेग्रा पनि मुखबाट दिइएको रहेछ । अघिल्लो दिनको ५ बजे नै ब्लिस्टर देखिएको लेखेर झण्डै १२ घण्टापछि आईभी एक्सेस हुँदा पनि मुखबाट एलेग्रा दिनुले बिरामीको अवस्थाप्रति अस्पताल र चिकित्सकको कति गम्भीर लापरबाही छ भन्ने पुष्टि गर्छ ।

डा. रञ्जितले बिहान ५ बजे अस्पतालबाट कल आएको र बिरामीको हातको भिडियो पनि आएको स्वीकार गर्दै वेट एन्ड सी एप्रोच र हात ठाडो गरेर नै यसको उपचार हुने दोहोर्‍याउनुभयो । कुरा गर्दै जाँदा उहाँले एकपटक कम्पार्टमेन्ट भन्ने शब्दको उच्चारण गर्नुभयो । त्यसपछि कतै कम्पार्टमेन्ट सिन्ड्रोम त थिएन भन्ने हामीलाई शंका लाग्यो । त्यो हो भने त मेडिकल इमर्जेन्सी हो । यस्तो बेला त झन् मेडिकल इन्टरभेन्सन गरिनुपर्थ्यो । तर, उहाँले टेपकै कारण एलर्जी भएको दाबी गर्दै यसभन्दा वर्स्ट एलर्जीको केस देखेको बताउनुभयो । गंगालाल अस्पतालमा त ३ पटकसम्म टेपपरिवर्तन गरेको पनि भन्नुभयो । कम्पार्टमेन्ट सिन्ड्रोम त हुँदै होइन भनेर ठोकुवा गर्नुभयो । तर, हामीले पछि अस्पतालको नोट्स पढ्दा डा. किशोर खनालले साढे ९ बजेतिर नै'इम्पेन्डिङ कम्पार्टमेन्ट सिन्ड्रोम सो फ्यासिओटोमी प्लान'भनेर लेखेको थाहा पायौं ।

हामी त्यही मीटिङमा रहेकै बेला सर्जनले फोन गरेर बाहिर निस्किनुभएका डाक्टर रञ्जित फर्किएर फ्यासियोटोमी सफलतापूर्वक सम्पन्न भएको तथा हातको अवस्था पनि अहिले राम्रो रहेको बताउनुभयो । त्यसलगतै १२ बजेतिर हामी फ्यासियोटोमी गराउने सर्जन डा. सुनिलकुमार शर्मालाई भेट्न पुग्यौं ।

बिरामीको यो अवस्था हुँदासम्म निकै नै विलम्ब भएको तथापि आफूसमक्ष आइपुग्नेबित्तिकै तत्काल एक्सन लिएर बिरामीको ज्यान मात्र होइन,हात पनि जोगाउने कर्तव्यमा आफूले सफलता प्राप्त गरेको बताउनुभयो । पूर्णरूपमा निको हुन केही समय लाग्ने र घाउ खुला रहने हुँदा स्किन ग्राफ्ट (अन्यत्रबाट छाला र मासु ल्याएर राख्ने काम)गर्नुपर्ने बताउनुभयो । तीन ठाउँमा हातको सर्जरी गरिएको भनेर उहाँले भिडियो देखाएपछि मात्र हामीले कति डरलाग्दो र जटिल सर्जरी थियो भन्ने बुझ्यौं ।

कम्पार्टमेन्ट सिन्ड्रोमकै कारण उक्त हालत भएको भएपनि टेपको एलर्जी भनेर लापरबाही गरिएकै कारण उक्त अवस्था आएको हामीले थाहा पाएका थियौं । त्यो सबै कुरा हामीले किन पनि थाहा पायौं भने मेरो दिदी ज्योति रिमाल जो कुरुवा पनि हुनुहुन्थ्यो, उहाँ आफैं पेशाले चिकित्सक हो । दिदी अमेरिकामै डाक्टर हुनुहुन्छ । डाक्टरसँग कुरा गर्दा दिदी पनि सँगै हुनुहुन्थ्यो,जसले गर्दा चिकित्सकको लापरबाही भएको हामीले थाहा पाएका थियौं ।

त्यति हुँदाहुँदै पनि २४ घण्टाको अवधिमा २ पटक एनेस्थेसिया दिएर एन्जियोप्लास्टी र फ्यासियोटोमी गरेपछि रातभर कडा पेनकिलर औषधि दिइएको थियो ।

हेमोग्लोबिनको स्तर कम छ भने हुनसक्ने जटिलताबारे चिकित्सकले केही पनि ध्यान दिएको पाइएन । उक्त सर्जरी गरेपछि बुवालाई आईसीयूमा लागिएको २ घण्टापछि ३ बजेतिर बुवा कोमामा जानुभयो र भेन्टिलेटरमा राखियो । बुवा कोमामा जानु भएपछि डाक्टरले झिनो आशा देखाउँदै'५ प्रतिशत चान्स छ, अन्तिमपटक हेमोडाइलाइसिस गरौं' भन्नुभयो ।

अन्ततः भोलिपल्ट असोज ४ गते दिउँसो १२:५० मा बुवालाई उनीहरूले मृत घोषित गरे । मृत्युको कारण रिफरफ्युजन इन्जुरी फलोइङ फ्यासियोटोमी राइट फोरआर्म भनेर जानकारी गराइयो ।

null

मृत्यु भइसकेपछि अस्पताल प्रशासनले प्रहरी निरीक्षक विनु शाहीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गराएको थियो ।

उपचारका लागि हामीले डिपोजिट गरेको १ लाख ७५ हजार रुपैयाँ फिर्ता गर्नुका साथै उपचारमा लागेको ७ लाख ९४ हजार ८४९ रुपैयाँ पनि अस्पतालले लिएन । उपचारको रकम नलिनुले पनि चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाही थियो भन्ने पुष्टि हुन्छ ।

यस विषयमा मेडिसिटी अस्पतालका आईसीयू इन्चार्ज डा. रविन्द्र खनालसँग प्रतिक्रिया माग्दा उनले यो विषय मेडिकल काउन्सिलमै पुगिसकेकाले केही भन्न नसकिने बताए ।

'हाम्रो लापरबाही हो भनेर हामीले भन्न मिल्दैन । मेडिकल काउन्सिलमै पनि उजुरी परेको हामीले बुझेका छौं,' उनले लोकान्तरसँग भने, 'अब काउन्सिलले त्यसको छानबिन गर्ला । विस्तृतमा मेडिकल डाइरेक्टर डा. राज राणासँग नै तपाईंले प्रतिक्रिया लिनुपर्ला ।'

मेडिसिटीका मेडिकल डाइरेक्टर डा. राज राणासँग प्रतिक्रिया माग्दा उनले यस विषयमा विस्तृतमा कुरा गर्नुपर्ने र अहिले आफूसँग समय नरहेको बताए । 'मलाई अहिले अप्रेसनमा जानुछ । त्यस विषयमा छोटो प्रतिक्रिया दिएर हुँदैन, म तपाईंसँग विस्तृतमै कुरा गर्छु,' डा. राणाले लोकान्तरसँग भने, 'यस विषयमा बिरामी पक्षसँग पनि हामीले कुराकानी गरिसकेका छौं ।'​

५ करोड रुपैयाँ क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा

मृतक परिवारका सबै सदस्यले ५ करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै ललितपुर जिल्ला अदालतमा कात्तिक ५ गते मुद्दा दर्ता गराएका छन् ।

मृतकका जेठा छोरा प्रताप रिमाल, श्रीमती तुलादेवी रिमाल, छोरी ज्योति रिमाल र अर्का छोरा प्रसन्न रिमालसहित निवेदकले मेडिसिटी अस्पताल तथा उपचारमा संलग्न चिकित्सकहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

अस्पतालसहित डा. रञ्जित शर्मा, डा. किशोर खनाल, डा. राधेश्याम यादव, रञ्जन लामिछाने र नर्स रोजिना केसीलाई विपक्षी बनाए मुद्दा दायर गरिएको छ ।

नर्सिङ नोटसहित थप कागजात :

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्