०४ साउन २०८३, सोमबार
कांग्रेसको आन्तरिक राजनीति

पदाधिकारीलाई सक्रिय बनाउँदै देउवा, महाधिवेशनको ३ वर्षपछि संगठन चलायमान

कात्तिक १५, २०८१
काठमाडौं
पदाधिकारीलाई सक्रिय बनाउँदै देउवा, महाधिवेशनको ३ वर्षपछि संगठन चलायमान

१५ औं महाधिवेशनको तयारीमा लाग्नुपूर्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूलाई सक्रिय गराउन थालेका छन् । 

सभापतिमा ४ वर्षका लागि निर्वाचित भएका शेरबहादुर देउवाले ३ वर्ष भएपछि पार्टीका संरचनालाई थप सक्रिय बनाउन थालेका हुन् । 

यसै प्रयासस्वरूप देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरूलाई सक्रिय गराउन थालेका हुन् । 

सामान्यतया कांग्रेसमा सभापतिको नियमित कार्यकाल ४ वर्षको हुन्छ । देउवाले तीन वर्षसम्म सबै संरचनालाई पूर्ण बनाएर चलाएनन् । तर, अर्को महाधिवेशनको तयारीमा जुट्नुअघि देउवाले पार्टीका संरचनालाई थप व्यवस्थित बनाएर काम गर्न थालेका हुन् ।

यसअघि कार्यसम्पादनमा आउन नसकेका विभागमा देउवाले संयोजक बनाएर सदस्य पनि चयन गर्दै आएका छन् । आलोचित हुनु परेपछि देउवाले अब भने संरचना चुस्त बनाएर अगाडि बढ्ने तयारी गरेका हुन् ।  

विधानअनुसार चार वर्षमा २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने हुन्छ । विशेष कारण देखाएर सभापतिले डेढ वर्षसम्म लम्ब्याउन सक्ने अभ्यास कांग्रेसमा छ । तर, सदस्यता र संगठनका कामलाई समयमै अगाडि बढाउन देउवामाथि दबाब छ । यसैले उनले सदस्यता र संगठनका कामलाई थप व्यवस्थित ढंगले अगाडि बढाउन लागेका हुन् । 

यसका लागि उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई थप व्यवस्थित बनाउने गरी देउवा अगाडि बढेका छन् । 

कात्तिक ५ गते खड्का नेतृत्वको प्रतिष्ठानमा १८ सदस्य नियुक्त भएका थिए । देउवाले बुधवार यी १८ सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

देउवाले शपथ ग्रहणपछि प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिए । 

देउवाको निर्देशनपछि बुधबार नै प्रतिष्ठानको पहिलो बैठक बस्यो । 

बैठकमा प्रतिष्ठान प्रमुख खड्काले आफ्नो विचार राख्दै जिम्मेवारी ग्रहण गरी सकेपछि आत्मअनुशासनमा बस्न ध्यानाकर्षण गराए । 

‘पार्टीलाई संगठित, अनुशासित बनाउँदै समयसापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानको रूपमा सञ्चालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको विषयलाई जोड दिनु भएको थियो,’ बैठकको निर्णयमा भनिएको छ, ‘बैठकले प्रतिष्ठानमा हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गरी आगामी कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखलाई प्रतिवेदन बुझाउने गरी कार्य सम्पादन गर्ने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि आवश्यक परामर्श गरी तत्काल उपसमिति गठन गर्ने जिम्मेवारी प्रतिष्ठान प्रमुखलाई दिएको छ ।’ 

बैठकमा प्रतिष्ठानले यसबीचमा गरेका कामको समीक्षा गर्दै नीति, अनुसन्धान र प्रशिक्षण क्षेत्रलगायत विविध विषयमा छलफल थियो । प्रतिष्ठानले अर्को बैठक कात्तिक २८ गते बुधबार १ बजेका लागि राखेको छ ।

कांग्रेसको प्रतिष्ठान तल्लो तहसम्म पार्टीका नीति, सिद्धान्त, योजना, तालिमसहितका गतिविधि गर्ने संयन्त्र हो । यसलाई तल्लो तहसम्मका नेता र कार्यकर्तालाई परिचालन गर्न सक्ने ठूलो संयन्त्र मानिन्छ । पार्टीको संस्थापनको लाइन र कामलाई तल्लो तहसम्म लान पनि यो प्रतिष्ठान रणनीतिक मानिन्छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापतिले पार्टी संरचना र संगठनका कामलाई व्यवस्थित ढंगले अगाडि बढाइरहेको बताउँछन् । 

‘वर्षौंदेखि अलपत्र विभाग अहिले सक्रिय हुन थालेका छन् । ५० हाराहारी विभागमा संयोजक र सदस्य चयन भइसकेका छन् । बाँकी प्रतिष्ठान र सदस्यतासम्बन्धी समिति पनि बनाएर संगठनका काम अगाडि बढाउने प्रक्रिया सभापतिले अगाडि बढाइसक्नुभएको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘महाविधेशनसम्म पुग्दा कुनै पनि काम बाँकी नराख्ने हिसाबले अब संगठन व्यवस्थित भएर अगाडि बढ्छ ।’

केही समयभित्रै सभापतिले केन्द्रीय कोषाध्यक्ष पनि मनोनीत गर्ने जानकारी पौडेलले दिए । 

महामन्त्रीको संयोजकत्वमा सदस्यता व्यवस्थापन समिति 

१५ औं महाधिवेशनको प्रयोजनका लागि देउवाले पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेका छन् । समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य छन् । 

समिति सदस्य रसाइलीले महाधिवेशनको बेलासम्म पनि सदस्यताको किचलो नआओस् भनेर समितिले काम गर्ने बताए । 

‘विवादले गर्दा सदस्यता नटुंगिने, रोकिने हुँदा महाधिवेशनको मिति पनि यही कारणले सरेका छन् । यसैले भोलि १५ औं महाधिवेशन समयमा गर्न सकियोस् र सदस्यताको विवाद नआओस् भनेर हामीले थप व्यवस्थित गर्न खोजेका हौं,’ रसाइलीले लोकान्तरसँग भने, ‘वडा तहसम्म कम विवाद होस्, नवीकरण र नयाँ सदस्यताको विषयमा विवाद नहोस्, सहजै सदस्यता पाउने व्यवस्था होस् भनेर प्रविधिको पनि प्रयोग गरेर काम गर्दैछौं ।’

सह–महामन्त्रीहरू पनि सक्रिय

कांग्रेसले वर्षौंदेखि अलपत्र पर्दै आएका प्रमुख भ्रातृ संस्था नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन चैतभित्रै गर्नका लागि सहजीकरण गर्न सह–महामन्त्रीहरूलाई निर्देशन समितिको संयोजक बनाएर काम गरिरहेको छ ।  

उमाकान्त चौधरी संयोजक रहने गरी नेपाल महिला संघ, महालक्ष्मी उपाध्याय डिना संयोजक रहने गरी नेपाल तरुण दल र किशोरसिंह राठोर संयोजक रहने गरी नेविसंघको निर्देशन समिति गठन भएको थियो । डिना संयोजक रहेको निर्देशन समितिको बैठक बसेर महाधिवेशनको लागि प्रभावकारी सहयोग र समन्वय गर्ने निर्णय भइसकेको छ ।

अर्का महामन्त्री शर्मालाई पनि जिम्मेवारी 

कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी गर्नका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

देउवाले बुधबार शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन— २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेका हुन् । 

समितिमा महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र प्रकाश शर्मा सदस्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्