
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।
शनिबार जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।
नेता निधिले अधिकारका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराए।
'संविधानमा प्रदेशको आफ्नै प्रहरी प्रशासन हुन्छ भनिएको छ, नौ वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकार अधिकार सम्पन्न हुनसकेका छैनन्', उनले भने, 'जनता नजिकको शासकीय अभ्यास गर्ने प्रदेश संरचनालाई अधिकार सम्पन्न बनाउन सकेनौँ भने संघीयता के अर्थ ? चाँडोभन्दा चाँडो प्रदेशले पाउने अधिकार प्रत्यायोजन गर्न सरकारसँग मेरो आग्रह छ ।'
कांग्रेसका पूर्वउपसभापति निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलाइ भए फेरि आन्दोलन हुनसक्ने चेतावनी दिँदै त्यसको नेतृत्व कांग्रेसले गर्ने अवस्था आउनसक्ने समेत उल्लेख गरे ।