०३ साउन २०८३, आइतबार

नवनियुक्त राजदूतसँग महासंघको अन्तरक्रिया, लगानी प्रवर्द्धनमा सघाउने अध्यक्ष ढकालको प्रतिबद्धता

कात्तिक २८, २०८१
काठमाडौं
नवनियुक्त राजदूतसँग महासंघको अन्तरक्रिया, लगानी प्रवर्द्धनमा सघाउने अध्यक्ष ढकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धनमा विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् । 

विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतसँग महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । 

‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कूटनीति विस्तार गर्न हामी यहाँहरूसमक्ष आग्रह गर्छौं,’ उनले भने, ‘यसमा महामहीमज्यूहरूले अग्रसरता लिइदिनुपर्‍यो ।’ 

नेपालमा वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै अध्यक्ष ढकालले नवनियुक्त राजदूतहरूलाई आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानकका रूपमा मानेर काम गर्न आग्रह गरे ।

अध्यक्ष ढकालले महासंघको अन्तर्राष्ट्रिय सञ्जाललाई पनि नियोगहरूले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरूसँग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा राखे ।

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । 

'कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो', ढकालले भने । 

ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रूपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ उत्पादनको करिब ०.२ प्रतिशत मात्र हो। त्यसैले लगानी प्रवर्द्धन सबैको चासोको विषय हुनुपर्ने उनको धारणा छ ।

छलफलका क्रममा उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताए । ‘उच्च विदेशी मुद्राको सञ्चितिलाई विदेशी लगानीकर्ताहरूले सदुपयोग गर्न सक्छन्’, उनले भने ।

null

नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गर्न सकिनेतर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । पछिल्लो डेढ वर्षमा महासंघले भारत, चीन र दुबईमा ठूला सम्मेलन आयोजना गरेको स्मरण गरे । यी कार्यक्रममा हरेक देशका करिब १५० स्थानीय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो । 

मध्यपूर्वी मुलुकमा नेपाली कृषिजन्य उत्पादनहरूको सम्भावना रहेको औंल्याउँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताए । अन्य मुलुकमा पनि नेपाली उत्पादनका लागि गैरभन्सार अवरोध समस्याका रूपमा रहेको अध्यक्ष ढकालको भनाइ छ ।

यस्तै, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तर्राष्टियस्तरमा पाइने सुविधा कटौतिले निजी क्षेत्रमा प्रभाव पर्ने अध्यक्ष ढकालको चिन्ता छ । यस्तो प्रभाव कम गर्न नवनियुक्त राजदूतहरूको महत्त्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराए । 

छलफलका क्रममा सहभागी नवनियुक्त राजदूतहरूले स्तरोन्नतिबाट न्यून प्रभाव पर्नेगरि काम गर्न आवश्यक रहेको बताए । यसैगरी, निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउँदै सहकार्य गरिने पनि उनीहरूले बताए । 

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले द्विपक्षीय करमुक्ति सम्झौताका लागि पहल गर्नुपर्ने धारणा राखे । चीनका लागि नेपालका राजदूत कृष्ण प्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवनियुक्त राजदूतहरूले आर्थिक कूटनीतिलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्