
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । मानव तस्करी तथा किर्ते मुद्दामा अनुसन्धानका लागि उनी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।
प्रहरीले उनलाई भीआईपी कक्षमा राखेको छैन । प्रहरी स्रोतका अनुसार उनीसहित ३ जना नर्मल कोठामा बस्छन् । एउटै कोठामा बस्ने अन्य दुई जनासँग गफ गरेर अधिकारीले दिन बिताउने गरेको परिसर प्रहरीका एक अधिकारीले लोकान्तरलाई बताए ।
उनका अनुसार दुई जना सहकारीको रकम अपचलनमा प्रकरणमा पक्राउ परेका हुन् । अधिकारीसँगै बस्ने दुई जना उनीभन्दा उमेरमा जेठा छन् ।
अधिकारीले खाना पनि भित्रकै खाने गरेका छन् । 'यहीँको खाना खान्छु' भनेर अधिकारीले नै भनेपछि बाहिरको नल्याउने गरेको उनका सहयोगी नवीन बस्नेतले बताए ।
उनी ब्लड प्रेसरको औषधि सेवन गर्ने गर्छन् । दोस्रो पटक म्याद थप गरेपछि उनको प्रेसरसमेत बढेको छ । ‘प्रेसर धेरै बढेको छ,’ उनका सहयोगी बस्नेतले भने, 'औषधि सेवन गरिराख्नुभएको छ ।’
उनलाई कानुन व्यवसायी भेट्न आउने गरेका छन् । उनी पनि पहिलाका कानुन व्यवसायी हुन् । प्रहरीले निवर्तमान मन्त्री अधिकारीलाई भेट्न बिहान र दिउँसोको समय छुट्टाएको छ । प्रहरीले उनलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म भेट्न दिने गरेको छ ।
नक्कली कागजात बनाएर असम्बन्धित व्यक्तिलाई जापान लगेको प्रकरणमा अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । कात्तिक ११ गते एक कार्यक्रममा सहभागी हुन नक्कली कागजात बनाएर अधिकारीसँगै तीन जना जापान उडेका थिए ।
खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा अधिकारीसँगै नक्कली कागजात बनाएर जापान गएका थिए ।
उनीहरूलाई जापानको अध्यागमनले विमानस्थलमै केही समय राखेर डिपोर्ट गरेको थियो । टोकियोको नारिता विमानस्थल अध्यागमनले डिपोर्ट गरेपछि उनीहरू फर्केका थिए ।
जापानबाट डिपोर्ट भएपछि तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । अधिकारीलाई विराटनगरबाट पक्राउ गरेर प्रहरीले काठमाडौं लगेको हो । प्रहरीले पछि ओखलढुंगाका गुढी राई , नवीन राईलाई समेत पक्राउ गरेको छ ।
नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे यसअघि नै पक्राउ परेका थिए ।
उनीहरूलाई कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीसहित पक्राउ परेका सबैलाई दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए ।