
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले नेकपा (माओवादी–केन्द्र)को राजनीतिप्रति आफ्नो चासो बढेको बताएका छन् । पार्टीको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाबारे गरिएको प्रश्नमा उनले त्यसलाई पुष्टि गरे ।
‘राजनीति गरेरै आएकाले पार्टीको सक्रिय राजनीतिमा फर्किनेप्रति मेरो चासो छ’, पासाङले लोकान्तरसँग भने, ‘कहिले र कसरी राजनीतिमा फर्किने भन्ने अहिले केही तयारी भएको छैन । तर, सक्रिय राजनीतिमा आउनेप्रति मेरो चासो स्वाभाविकै हो ।’
२०७२ देखि २०७९ सम्म सात वर्ष उपराष्ट्रपति बनेर हाल काठमाडौंको रामकोट डाँडामा बस्दै आएका पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्रिय राजनीतिमा फर्काउन लागेका हुन् ।
तीन दिनअघि प्रचण्ड निवासमा भएको पदाधिकारी बैठकमा पासाङ सहभागी भएका थिए । माओवादी युद्धकालको दश वर्षे फौजी कमान्डमा प्रचण्डलाई साथ दिएका पुनलाई सक्रिय राजनीतिमा फर्काएर आन्तरिक शक्ति सन्तुलन मिलाउन प्रचण्डले पहल गरेका हुन् ।
पदाधिकारी बैठकमा सहभागी भइसके पनि पासाङलाई कुन पद दिने भन्नेबारे अन्य पदाधिकारीसँग प्रचण्डले केही भनेका छैनन् ।
‘अर्कै सन्दर्भका लागि मलाई अध्यक्षले छलफलमा बोलाउनु भएको थियो । संयोगले त्यही दिन पदाधिकारी बैठक रहेछ । त्यही मेसोमा म पनि बैठकमा सहभागी भएको हुँ’, पासाङले भने ।
माओवादी लडाकू समायोजनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुन २०७० मा काठमाडौं क्षेत्र–४ बाट प्रत्यक्ष उम्मेदवार बनेका थिए । २०७० को चुनावमा पराजय भए पनि पुन २०७२ मा उपराष्ट्रपति बनेका थिए । २०७४ को चुनावपछि पासाङ पुनः उपराष्ट्रपतिमा निर्वाचित भए ।
माओवादीभित्र उपमहासचिव वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, शक्ति बस्नेतसहितका तेस्रो पुस्ताबीच देखिएको गुटलाई तह लगाउन प्रचण्डका लागि पासाङ उपयुक्त पात्र हुनेछन् ।
‘सभामुख भएका अग्नि सापकोटालाई उपाध्यक्ष बनाएपछि उपराष्ट्रपति भएका व्यक्तिलाई त्यो भन्दा तल्लो पद दिने भन्ने कुरा हुँदैन । बुवा अब सक्रिय राजनीतिमा आउने निश्चित भइसकेको छ’, पासाङका पुत्र तथा अखिल (क्रान्तिकारी)का नेता दीपेश पुनले भने ।
अध्यक्ष प्रचण्डको राजनीतिक जीवनमा युवा पुस्तामध्ये सबैभन्दा बढी सहयोग गरेका पासाङको अभाव पार्टीमा रहेको निष्कर्षमा प्रचण्ड पुगेका छन् । प्रचण्डले आफ्ना सबैभन्दा बढी विश्वासिला पात्र पोष्टबहादुर बोगटीको निधनपछिको रिक्ततामा पासाङलाई लिन खोजेका छन् । प्रचण्डले पासाङ पार्टी, नेतृत्व र राष्ट्रप्रति अत्यन्तै जिम्मेवार र इमान्दार भएको भनि प्रशंसा गर्दै आएका छन् ।
रोल्पा राङ्सीमा २०२२ मा जन्मेका पासाङ ४० को दशकबाटै राजनीतिमा होमिएका हुन् । विद्यार्थीकालमै प्रहरी यातना पाएका पासाङलाई २०५० सालसम्म आइपुग्दा कम्तीमा ३० वटा सार्वजनिक मुद्दा लगाइएको थियो । माओवादीले सशस्त्र संघर्ष घोषणा गरेको पहिलो आक्रमण होलेरीदेखि दुनै, म्याग्दीको बेनी आक्रमणको कमान्ड पासाङले नै गरेका थिए ।
माओवादी गतिविधिलाई छापामार शैलीमा काम गर्न २०५५ मा गठित टास्कफोर्स र २०५६ मा गठन भएको लडाकू छापामारहरूको पहिलो कमान्डर पासाङ बनेका थिए । त्यसपछि बनेको लडाकूहरूको बटालियन कमिसार र कमान्डर, बिग्रेड कमान्डर, डिभिजन कमान्डर हुँदै शान्ति प्रक्रियामा आउने बेला पासाङ डेपुटी कमान्डर बनेका थिए । जुनबेला लडाकूको सर्वोच्च कमान्डर अध्यक्ष प्रचण्ड नै थिए ।
उनी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपछि केन्द्रीय सदस्य र गोवा बैठकबाट पोलिटब्युरो सदस्य बनेका थिए । पासाङ चुनवाङ बैठकपछि महाधिवेशन आयोजक समिति सदस्य र जनसैन्य प्रतिष्ठानको इन्चार्ज बनेका थिए । उनले अध्यक्ष प्रचण्ड २०६४ मा प्रधानमन्त्री बनेपछि विभिन्न क्याम्पमा रहेका ‘जनमुक्ति सेना’का डेपुटी कमान्डरमध्ये मुख्य जिम्मेवारी समेत सम्हालेका थिए ।

माओवादीको सैन्य पृष्ठभूमिका कारण पासाङ तत्कालीन शाही नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका लागि ‘खतरनाक’ कमान्डरका रूपमा चिनिन्थे । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा सांसद मनोनीत भएका थिए भने २०६४ को पहिलो संविधानसभा चुनावमा भाग लिएनन् । छापामारहरू विभिन्न क्याम्पमा बसेपछि पासाङले काठमाडौंको कपनमा बसेर कमान्ड गरेका थिए ।
सोही क्षेत्रमा बसोबास गरेका कारण २०७० को दोस्रो संविधान सभा चुनावमा काठमाडौं क्षेत्र–४ मा कांग्रेसका महामन्त्री गगन थापा र एमालेका नेता डा. राजन भट्टराईसँग पासाङ चुनाव लडेका थिए । पासाङ त्यतिबेला तेस्रो बनेका थिए । २०७२ मा एमाले र माओवादीबीचको तालमेलमा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति र पासाङ उपराष्ट्रपति निर्वाचित भएका थिए ।
२०७४ को चुनावमा एमाले–माओवादीसहित वाम तालमेलले दुईतिहाई नजिक मत प्राप्त गरेपछि भण्डारी र पासाङ पुनः राष्ट्रपति र उपराष्ट्रपतिमा दोहोरिएका थिए ।
सम्मानित पद उपराष्ट्रपति पाएर झण्डै ८ वर्ष बिताएका पासाङ माओवादी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा संयोग बनेको छ ।
युद्धकालका ती रहस्यमयी ‘पासाङ’
पासाङ कि लिफ्वाङ ?
तीन बजेतिर कार्यक्रम शुरू भयो । खाना खाने समय मिलेन । कहाँ खाने कहाँ व्यवस्था थियो, मतलबै भएन । मञ्चमा सबैलाई बोलाइयो । २०५५ मा जेलबाट छुटे लगत्तै अन्तर्वार्ता लिएका थियौं शिव तिवारी र मैले झक्कु सुवेदीको ।
‘हाम्रो कुरा बङ्ग्याउँछ ‘हाँक’ले । नदिएको भए राम्रो हुन्थ्यो भन्ने नेतृत्वको आरोप थियो । पछि तपाईंहरूले जस्ताको तस्तै छापिदिनु भएछ ’, सुवेदीले शिव र मलाई त्यो बेलाको अनुभव सुनाए ।
‘मैले नि हाँक छोडेँ नि सुवेदी सर !’ शिवले भने । शिवले नेकपा (मसाल) र हाँक छोडेको डेढ, दुई महिना भएको थियो ।
कार्यक्रम सञ्चालन व्रिटिश सेनाको कम्ब्याट लगाएर हामीलाई कोठा सिकाउने युवाले गरे । उनी अखिल (क्रान्तिकारीका केन्द्रीय नेता दीपेन्द्र पुन रहेछन् ।
कार्यक्रमको सभापतित्व सन्तोष बुढाले गरे ।
दीपेन्द्रले आसन ग्रहण गराउँदै गए, ‘कमरेड झक्कु सुवेदी, किसान संघका अध्यक्ष कमरेड शिवराम गौतम, कमरेड किमबहादुर थापा ।’
‘कमरेड पासाङ’ जोस्सिएर दीपेन्द्रले भने ।
दीपेन्द्र तत्कालै रोक्किए ! सन्तोष बुढाले कानमा केही फुके ।
दीपेन्द्रले भने– ‘कमरेड लिफ्वाङ’ ।
सैन्य कमान्डरमा पासाङ (नन्दकिशोर पुन)को नाम धेरैले सुनेका थिए । पत्रकारहरूले फोटो खिच्ने र चिन्ने डरले झुक्याउन पासाङलाई पहिले भनिने नाम लिफ्वाङ भनिएको रहेछ ।
तलबाट फोटो खिच्न लागेँ । माथिबाट नखिच्न आदेश आयो । मौनधारण गर्दा मैले सबैको फोटो लिइसकेको थिएँ । खिला र म फोटो खिच्दै तलतिर झर्यौं ।
‘पासाङ त हिरो रैछन !’, मैले भनेँ ।
‘उद्घोषकले थाहै पाएनन् । एक्सपोज भइहाल्यो नि ! फोटो खिच्न त भ्याइनस् नि ?’, खिलाले मलाई भने ।
(नेकपा (माओवादी)ले २०५८ जेठ २ गते रोल्पा जिल्ला जनसरकार घोषणा सभाको भावाङमा भएको कार्यक्रमको एक दृष्य हो यो । माथि उल्लेखित किताबको खण्ड उजिर मगरद्वारा लिखित ‘अंश’ पुस्तकमा प्रकाशित छ ।)