
शरीरलाई स्वस्थ र तन्दुरुस्त कायम राख्नका लागि पौष्टिक आहारसँगै नियमित रूपमा दैनिक कम्तीमा तीनदेखि चार लिटर पानी पिउनु जरूरी हुन्छ। यो सबै उमेरका व्यक्तिहरूका लागि अत्यावश्यक छ। पानी नियमित अन्तरालमा पिउनु जति आवश्यक छ, त्यति नै महत्त्वपूर्ण छ– पानी पिउने सही तरिका अपनाउनु।
हालै सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भएको छ। जसमा भनिएको छ, कि उभिएर ठाडो घाँटी लगाएर पानी पिउँदा शरीरलाई विभिन्न हानी पुर्याउन सक्छ।
यस पोस्टमा भनिएको छ कि त्यसरी पानी पिउँदा घुँडामा असर पर्न सक्छ । जसका कारण आर्थराइटिसको खतरा बढ्न सक्छ।
त्यसरी पानी पिउँदा जोर्नीहरूमा समस्या उत्पन्न हुन्छ भनेर उक्त पोस्टमा दाबी गरिएको छ। पानी सिँधै घुँडामा जम्मा हुन्छ जसका कारण आर्थराइटिसको जोखिम बढ्न सक्छ। यसका अलावा, हृदय र फोक्सोको समस्याहरू पनि देखिन सक्छ। यस्तो बानीले मृगौलामा पनि असर गर्न सक्छ भनिएको छ ।
के वास्तवमै यस्तो हुन्छ त? त्यसरी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ? यसबारेमा तपाईंलाई जानकारी दिँदैछौं ।
के यो दाबी साँचो हो?
वरिष्ठ आर्थोपेडिक डा. राजेश चट्टेका अनुसार, त्यसरी पानी पिउँदा घुँडामा असर पर्ने कुनै वैज्ञानिक प्रमाण छैन। जोर्नीमा समस्या तब आउँछ जब हड्डी र कार्टिलेज रगडिने प्रक्रिया शुरू हुन्छ या कुनै कारणले चोट लाग्छ।
जोर्नीहरूको समस्यामा मुख्य कारण भनेको ऑस्टियोआर्थराइटिस हो, जुन हड्डीको सुरक्षात्मक कार्टिलेज रगडिने कारणले उत्पन्न हुन्छ।
किन फैलियो यस्तो हल्ला?
डा. चट्टेका अनुसार, ठाडो घाँटी लगाएर उभिएर पानी पिउँदा जोर्नीमा समस्या उत्पन्न हुने कुरा सम्भवतः पारम्परिक वा सांस्कृतिक प्रथाबाट उत्पन्न भएको हो। यसले मानिसलाई सही मुद्रा अपनाएर, चाँडो चाँडो पानी नपिउने र पाचन प्रणालीमा मद्दत गर्ने कुरा प्रेरित गरेको हो।
सामान्यतया, बसेर पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ। र, यसले पाचन र समग्र स्वास्थ्यमा सुधार ल्याउँछ। तर, ठाडो घाँटीसहित उभिएर पानी पिउँदा जोर्नीमा कुनै असर पर्ने वैज्ञानिक प्रमाण छैन।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, पानीलाई आरामसँग र चाँडो चाँडो पिउनु स्वास्थ्यका लागि लाभकदायी हुन्छ। स्वस्थ शरीरको लागि प्रत्येक दिन कम्तीमा तीन लिटर पानी पिउनु आवश्यक छ।