
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप रावत हल भिजिटमा निस्किएका छन् ।
उनले सोमबार बिग मुभिजमा दर्शकसँग साक्षात्कार गरे । आमिर खान स्टारर ‘गजनी’का भिलेन रावतले ‘ह्रस्व दीर्घ’मा देवधामको महामहन्तको भूमिका निर्वाह गरेका छन् ।
श्रीमती कल्याणीसहित नेपाल आएका रावतले अन्य हलहरूमा गएर पनि दर्शकहरूसँग साक्षात्कार गर्ने निर्माण पक्षले बताएको छ ।

नीता ढुंगाना र हरिहर अधिकारी स्टारर ‘ह्रस्व दीर्घ’मा रावतको अलवा ब्रह्मानन्दम, सुनिल वर्मा, मोहम्मद अलि लगायत दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको छ ।
नेपाली कलाकारहरू अधिकारी र ढुंगानाबाहेक सरोज खनाल, रेखा थापा, विपना थापा, सञ्चिता लुइँटेल, रविन्द्र झा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार, नरेन खड्का, गजित विष्टलगायतका कलाकारको अभिनय छ ।
‘ह्रस्व दीर्घ’ले पहिलो दुई दिनमा सुखद ओपनिङ गर्दै दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ।
