
चालू आर्थिक वर्षको पहिलो चार महिनामा घरजग्गा कारोबारमा निकै ठूलो उतारचढाव आएको देखियो ।
चालू आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबारमा आएको उछाल दोस्रो महिनादेखि सेलाउँदै गयो । यद्यपि पूर्णरूपमा सेलाइसकेको भने छैन ।
कात्तिक महिनामा ३३ हजार ५१४ वटा घरजग्गा कारोबारको लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको कात्तिक महिनामा कुल २६ हजार ४६ वटा लिखत पारित भएका थिए ।
कात्तिकमा सरकारले घरजग्गा कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आर्थिक वर्षको कात्तिक महिनामा सरकारले २ अर्ब १६ करोड ३८ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
शहरी क्षेत्रमा घरजग्गा कारोबार बढ्दै गएको र शहरबाहिर कारोबार घट्दै गएको व्यवसायीहरू बताउँछन् । शहरकेन्द्रित बसाइँसराइ र विदेशिने प्रवृत्तिले घरजग्गा कारोबार घटेको व्यवसायीहरूको भनाइ छ ।
यसका साथै पछिल्लो समय व्यावसायिक परियोजनाका लागि हुने कारोबार पनि घट्दै गएको व्यवसायीहरूको भनाइ छ ।
घरजग्गा कारोबार काठमाडौं उपत्यकाकेन्द्रित हुँदै गएको नेपाल जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् ।
‘मासिकरूपमा घरजग्गा कारोबार हेर्दा केही सुधार भएको जस्तो देखिए पनि वास्तविक सुधार भने केही भएको छैन’, उनले भने, ‘काठमाडौंमा पनि व्यावसायिक परियोजनाका लागि हुने घरजग्गा कारोबार न्यून रहेको छ ।
हाउजिङ, अपार्टमेन्टलगायतका व्यावसायिक परियोजनाका लागि हुने कारोबार निकै न्यून छ । व्यक्तिगतरूपमा घरजग्गा खरिदबिक्री गर्ने संख्या मात्रै बढी रहेको देखिन्छ ।’
चार महिनामा यस्तो रह्यो घरजग्गा कारोबार
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सबैभन्दा बढी ४३ हजार ८३५ वटा घरजग्गा कारोबारको लिखत पारित भएका थिए ।
पहिलो महिनामा सरकारले ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको थियो ।
त्यस्तै, दोस्रो महिना भदौमा कुल ३२ हजार ७९८ घरजग्गा कारोबारको लिखत पारित भएका थिए भने भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ९ करोड २ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
असोजमा कुल ३० हजार ५२७ वटा लिखत पारित भएका थिए । असोज महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
कात्तिक महिनामा मात्रै ३३ हजार ५१४ वटा घरजग्गा कारोबारको लिखत पारित भएको छ ।
कात्तिकमा सरकारले घरजग्गा कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।