२९ जेठ २०८३, शुक्रबार
रूस-युक्रेन युद्धका १००० दिन

ट्रम्पले चुनाव जितेपछि फेरिएको रूस-युक्रेन युद्धको मुहार, जेलेन्स्कीको सांकेतिक हार

युक्रेनमाथि गुमेको भू-भाग छोड्नुपर्ने चुनौती
मंसिर ४, २०८१
काठमाडौं
ट्रम्पले चुनाव जितेपछि फेरिएको रूस-युक्रेन युद्धको मुहार, जेलेन्स्कीको सांकेतिक हार
फाइल तस्वीरः अमेरिकी राष्ट्रपति जो बाइडेन बायाँ र युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेनको कीभमा । फोटोः इभान भुसी, एपी/रासस

आफ्नो पद छोड्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी मिसाइलमार्फत रूसको भित्री क्षेत्रमा आक्रमण गर्ने अनुमति दिएपछि अमेरिकामा त्यसको आलोचना भइरहेको छ ।​

बाइडेनको यो निर्णयपछि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्पले सामाजिक सञ्जाल एक्समा लेख्दै बाइडेनले तेस्रो विश्वयुद्ध गराउन खोजेको आरोप लगाए।

उक्त निर्णयमा जुनियर ट्रम्पको टिप्पणी स्वाभाविक थियो । उनका बुबा ट्रम्पले पटक-पटक आफूले चुनाव जिते रूस-युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । उनले चुनाव जितेपछि रूस र युक्रेनका दुवै समकक्षी भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने प्रस्ताव राखिसकेका छन् ।
 
रूस र युक्रेनबीच पछिल्लो युद्ध शुरू भएको १ हजार दिन नाघिसकेको छ । यस युद्धलाई ट्रम्पले आफ्नो कार्यकालको पहिलो २४ घण्टामा अन्त्य गर्ने घोषणा गरेका थिए, यद्यपि यो दाबीप्रति धेरैलाई संशय छ ।

ट्रम्पले आगामी जनवरी २० मा मात्र आफ्नो कार्यालय सम्हाल्नेछन् । आफ्नो दाबीलाई सुनिश्चित गर्न उनले जेलेन्स्की र पुटिन दुवैसँग पटक-पटक कुरा गरिरहेका हुन् ।

उनले मस्को र कीभलाई युद्धविरामका लागि सहमत गराउने र सम्भावित समाधान निकाल्ने प्रयास गर्ने स्पष्ट संकेत दिएका छन् । ट्रम्पले चुनाव जितेपछि रूस-युक्रेन युद्धबाट प्रत्यक्ष/परोक्ष प्रभावित भएका विश्वभरका देश र नागरिकले रूस-युक्रेन युद्धको अन्त्य कस्तो होला भन्नेबारे आ-आफ्नो दृष्टिकोण बनाइरहेका छन् ।
 
युक्रेनको चुनौती
युद्ध रोक्ने विषय सतहमा हेर्दा ठीक देखिएपनि युक्रेनका लागि ट्रम्पको कूटनीति अप्ठ्यारो हुने देखिन्छ । यस्तो समाधानले युक्रेनले रूसद्वारा कब्जा गरिएका क्षेत्रहरू गुमाउनुपर्ने स्थिति सिर्जना गर्न सक्छ । साथसाथै, उत्तर एटालान्टिक सन्धी सम्झौता(नेटो) सदस्य बन्ने सपना पनि त्याग्नुपर्नेछ ।

अहिलेको अवस्थामा, युक्रेनले युद्धलाई निरन्तरता दिन सक्ने क्षमता कमजोर देखिएको छ । जेलेन्स्की आफैंले पटक-पटक युद्धको अन्त्य गर्ने कुरा गरिरहेका छन् । रूसले पूर्वी युक्रेन र युक्रेन-नियन्त्रित कुर्स्क क्षेत्रमा लडाईं जितेको अवस्थामा युद्धको अन्त्य थप कठिन बन्नेछ ।

राष्ट्रपति जेलेन्स्कीले गत नोभेम्बर १६ मा कूटनीतिक समाधानमार्फत अर्को वर्षभित्र युद्ध अन्त्य गर्ने प्रयास गर्ने बताएका थिए । जेलेन्स्कीको यस्तो भनाइ ट्रम्पकै कूटनीतिक प्रयासतर्फ संकेत गरेको मानिएको छ । उनले युद्ध समाप्तीमा अमेरिकी मध्यस्थता खोजिरहेको संकेत गरेका हुन् ।
 
पुटिनको रणनीति र ट्रम्पको अस्थिरता
राष्ट्रपति पुटिनले वार्ताका लागि आफू सदैव तयार भएको दाबी गरिरहे पनि उनले बारम्बार वार्तालाई लम्ब्याउने, नयाँ माग थप्ने र अधिकतम फाइदा लिएपछि मात्र सम्झौतामा हस्ताक्षर गर्ने प्रवृत्ति देखाएका छन् । २०१४ र २०१५ मा भएका मिन्स्क सम्झौताहरू यसका उदाहरण हुन् ।

पुटिनले पूर्वी युक्रेन र अन्य विवादित क्षेत्रमा सैन्य दबाब बढाउँदै आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन् । साथै, उनले युक्रेनलाई नेटोबाट टाढा राख्न प्रयास गरिरहेका छन् । उनले युक्रेनको पश्चिमी मुलुकहरूसँगको निकट सम्बन्धलाई रूसको सुरक्षामाथि खतरा भन्दै यसलाई औचित्यपूर्ण सावित गर्ने गरी कदम चालेका छन् । 

पुटिनले युक्रेनका क्षेत्रहरूलाई 'ग्रेटर रूस' अवधारणामा समाहित गर्ने र युक्रेनलाई कमजोर अवस्थामा राख्ने रणनीति अख्तियार गरिरहेका छन् । 

null

ट्रम्पमाथि पनि सदैव अस्थीर रहेको आरोप लाग्ने गरेको छ । २०१६-२० सम्मको उनको कार्यकालमा उनी धेरैपटक अस्थिर देखिएका थिए । त्यतिबेला उत्तर कोरियासँगको सम्झौताको प्रयास असफल भएपछि ट्रम्पले थप प्रयास गरेका थिएनन् । 

ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१८ र २०१९ मा शिखर वार्ताहरू भएका थिए, जसले प्रारम्भिक उत्साह त जगायो तर, यी वार्ताहरूले ठोस परिणाम दिन सकेनन् । किमले ट्रम्पको अपेक्षा अनुसार कदम नचालेपछि, ट्रम्पले वार्ता प्रक्रिया छोडिदिएका थिए । परिणामस्वरूप, उत्तर कोरियाले आणविक कार्यक्रमलाई अझ तीव्रता दिएर रूस र चीनसँग निकट सम्बन्ध बनायो ।

त्यस्तै, ट्रम्पले पहिलो कार्यकालमा अमेरिकाका सहयोगी देशहरूप्रति निकै कम ध्यान दिए । उनले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च नबढाएको भन्दै आलोचना गरे । यसरी अमेरिकाका युरोपेली साझेदारहरू असन्तुष्ट भएका थिए ।

ट्रम्पले सन् २०१५ मा भएको 'इरान परमाणु सम्झौता'बाट अमेरिकालाई बाहिर निकाल्ने निर्णय गरेका थिए । यस कदमले अमेरिका-इरानबीचको तनाव थप बढेको थियो भने यही कारणले क्षेत्रीय स्थिरता र अमेरिकी विश्वसनीयतामा गम्भीर प्रभाव पारेको चर्चा गरिन्छ ।

घट्दै गएको युरोपको भूमिका 
रूस-युक्रेन युद्धमा जति अमेरिकी भूमिकाले प्रभाव पारिरहेको छ, युद्धभूमिबाट नजिकै रहेका युरोपेली देशहरूले युद्धलाई त्यति नै नजरअन्दाज गरिरहेका छन् । 

भविष्यमा अमेरिकाले आफूलाई गरिरहेको सहयोग र समर्थन घट्न सक्ने सम्भावना रहेकाले राष्ट्रपति जेलेन्स्कीले युरोपतर्फ नजर डुलाए पनि कतिपय युरोपेली देशले यसलाई खासै ठूलो चासोको रूपमा लिएका छैनन् ।

युक्रेनमा सैन्य सहयोग, वित्तीय सहायता र दीर्घकालीन सुरक्षा संरचनाहरू निर्माण गर्न युरोपले अग्रसरता लिएको छैन । युरोपले खासै चासो नदेखाएकाले पनि जेलेन्स्की केही गुमाएर भए पनि युद्ध अन्त्य गर्ने बाटोमा अग्रसर हुन चाहन्छन् । 

रूस र युक्रेनबीच हुने वार्ताका लागि अहिलेसम्म कुनै पनि युरोपेली देशले अग्रसरता देखाएका छैनन् बरू सबैको आँखा अमेरिकी भूमिकामा गढेको छ । 

ट्रम्प, पुटिन र जेलेन्स्कीबीच मात्रै सम्झौता भयो भने युक्रेन थप कमजोर बन्ने र युरोपको भूमिका थप खुम्चिने जोखिम रहेको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्