
आमनिर्वाचन– २०७९ मा रूपन्देही क्षेत्र नम्बर– ३ मा दीपक बोहरालाई चुनाव जिताउन अग्रमोर्चामा थिए, नेकपा एमालेका जिल्ला नेता हितराज पन्थी ।
एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच जिल्लामा भएको तालमेलअनुसार खटिएका भैरहवा निवासी पन्थीले चुनावपछि बोहरालाई देखेका छैनन् ।
बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई चुनावी भाषणविनै पराजित गरेका पुराना राजनीतिज्ञ राप्रपाका वरिष्ठ नेता बोहरालाई आफ्नो क्षेत्रमा होस् वा सदन, जनताले कतै नदेखेको धेरै भइसक्यो । ‘पार्टीको नीतिअनुसार चुनाव जिताउन खटियो, जिताइयो पनि,’ पन्थी भन्छन्, ‘त्यसपछि मान्यज्यू कहाँ हुनुहुन्छ, अवस्था कस्तो छ, हामीसँग कुनै पनि सम्पर्क र समन्वय भएन । हामीसँग सम्पर्क नभएर केही भएन, सधैं चर्चामा रहने क्षेत्र अहिले ‘सांसदविहीन’ अवस्थाजस्तै बन्ने पुगेको छ ।’
पन्थी थप्छन्, ‘क्षेत्र नम्बर– ३ का सांसदको उपस्थित नहुँदा विकास निर्माणदेखि जनताका एजेन्डा ओझेलमा परेका छन् । सांसद आएनन्, कहाँ गए, थाहा पाइएन भनेर जनताले हामीलाई पनि बेला–बेला सुनाउने गर्छन् । सांसद गुमनाम हुँदा जिल्ला सदरमुकाम र ठूलो जनघनत्व भएको क्षेत्र ‘टुहुरो’जस्तो देखिएको छ ।’
सधैं ‘पावर एक्सरसाइज’ भइरहने यो क्षेत्रमा नेकपा एमालेको समेत समर्थन पाएका बोहरा ३६ हजार ६४८ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले ३४ हजार ६ मत पाएका थिए । बोहरा र खाँणको मतान्तर २ हजार ६४२ थियो ।
खाँणलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलको समेत साथ थियो । एक शब्द चुइँक्क नबोली गृहमन्त्रीलाई पराजयको स्वाद चखाइदिए पनि बोहरा त्यसयता गुमनाम छन् । निर्वाचित भएर सदनमा गएको २ वर्षसम्म पनि राप्रपा रूपन्देहीका कार्यकर्ता दीपक मल्लिकले समेत बोहरालाई सदन र निर्वाचन क्षेत्र कतै देखेका छैनन् ।
‘कहिलेकाहीँ जिल्लामा आउनुहुन्छ भन्ने सुनिन्छ, तर हामीले पनि खासै देखेका छैनौं । पार्टीको निर्णय र निर्देशनअनुसार पार्टी बैठकमा जान्छौं । तर, सांसद बोहराको विषयमा खासै कुरा हुँदैन,’ मल्लिकले भने ।
बयोवृद्व सांसद बोहरालाई समस्या, योजना र गुनासा सुनाउन नपाउँदा रूपन्देही क्षेत्र नम्बर ३ का नागरिक खिन्न छन् । राष्ट्रिय राजनीतिमा प्रभाव राखेर पटक–पटक मन्त्री बन्दै आएका अनि उमेरले सात दशक पार गरेका नेता बोहरा गुमनाम हुँदा विकासको अपेक्षा राखेका मतदाता निराश देखिन्छन् ।
बोहराका सहयोगी धर्म केसीका अनुसार बोहराको अभाव पूर्ति गर्न काठमाडौं र भैरहवामा सम्पर्क कार्यालय स्थापना गरिएको छ । जिल्लाका समस्या र माग बोहराले सांसदद्वय ज्ञानेन्द्र शाही र धु्रव बहादुर प्रधानमार्फत उठाउने गरेको केसी बताउँछन् ।
‘उहाँको घाँटीको समस्या रिकभर हुन सकेन,’ केसी भन्छन्, ‘स्पिच थेरापी गरे पनि भ्वाइस खुल्न सकेको छैन । थेरापी घरमा नै जारी छ । दोहोरो कम्युनिकेसन नहुँदा संसदमा पनि उपस्थिति कम छ । तर, आफ्नो रिक्ततालाई पूरा गर्न उहाँले टीम बनाउनुभएको छ ।’ पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्था छन् । हाल चिकित्सकको सल्लाहअनुसार नै उनी ‘स्पीच थेरापी’ गरिरहेका छन् ।
यो निर्वाचन क्षेत्र सधैं तरल अवस्थामा छ । कहिले एमालेले राप्रपालाई समर्थन गर्छ भने कहिले कांग्रेसले राप्रपालाई समर्थन गरेर अन्य क्षेत्र सुरक्षित बनाउने ‘बार्गेनिङ’ गरेको देखिन्छ । यो क्षेत्रमा पहाडी र तराई मूलका मानिसको बराबरजस्तो बसोबास छ ।
नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले अब भैरहवा क्षेत्रलाई यो अन्योलमा रहन नदिने बताउँछन् । ‘उहाँ (बोहरा) निर्वाचन लड्न पनि स्वस्थ हुनुहुन्थेन,’ पोखरेल भन्छन्, ‘अहिले पनि उहाँको अवस्था त्यस्तै छ भन्ने सुनिन्छ, जसले गर्दा यो क्षेत्र धेरै ओझेलमा परेको छ । यो क्षेत्र सधैँ अरूका लागि प्रयोग भइरह्यो, अब त्यसो हुन दिनुहुँदैन । यसप्रति पार्टीले सोच्नुपर्छ ।’
रूपन्देहीको जिल्ला सदरमुकाम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, देशकै धेरै राजस्व संकलन हुने भैरहवा भन्सार र अर्बौं लगानीका उद्योग यही क्षेत्रमा पर्छन् । यस्तो क्षेत्रका प्रतिनिधि गुमनाम हुनु दुःखद् भएको पोखरेल बताउँछन् ।
बोहरा कोरोना महामारीको दोस्रो लहरमा (जेठ २०७७) बेलातिर संक्रमित भएका थिए । त्यो बेला खासै समस्या देखिएको थिएन । संक्रमण भएको चार–पाँच महिनापछि बोहराको स्वरमा केही परिवर्तन देखिएको थियो । तर, उनले त्यसलाई खासै वास्ता गरेनन् ।
विभिन्न अध्ययनले पोस्ट कोभिडका कारण थकान, सुख्खा खोकी वा वाकवाकी, छोटो अवधिको स्मरणशक्तिमा कमी र बोली समस्या आएको देखाएको थियो । त्यही भएर उनले चुनावमा भाषण गर्न सकेका थिएनन् । पटक–पटक मन्त्री भइसकेका बोहरा राजनीतिमा भने परिचित व्यक्ति हुन् ।
पञ्चायतकालमा खरो भाषण गरी उनले समर्थकलाई जुरुक्कै उचाल्थे । पञ्चायतकालदेखि नै सांसद र मन्त्री हुँदै आएका बोहरालाई जनताले चुपचाप बसे पनि फेरि प्रतिनिधिका रूपमा अनुमोदित गरे । चार दशकदेखि राजनीतिमा क्रियाशील नेता बोहराको संसदीय यात्रा वि.सं. २०३६ सालदेखि शुरू भएको थियो । उनी रूपन्देहीबाट वि.सं. २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यबाट संसद् यात्रा शुरू गरेका थिए ।
त्यसअघि वि.सं. २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बनेका बोहरा वि.सं. २०५७ मा बैंक अफ काठमाडौंको अध्यक्ष बनेका थिए । बोहरा वि.सं.२०६७ मा वन तथा भू–संरक्षण मन्त्री तथा २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनेका थिए ।
वि.सं. २०७० तत्कालीन रूपन्देही– २ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र वि.सं. २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए । भैरहवा निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा जन्मेका हुन् ।
सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर हरि अधिकारीले सांसद नभएको जस्तै अवस्था हुँदा भैरहवा क्षेत्रमा शून्यता छाएको गुनासो गरे । कांग्रेस क्षेत्र नम्बर ३ का सचिव लेखनाथ भट्टराई यो क्षेत्र अभिभावकविहीन जस्तै बनेको बताउँछन् । १३ लाख जनसंख्या रहेका रूपन्देहीमा २०७४ अघिसम्म सातवटा निर्वाचन क्षेत्र थिए । निर्वाचन क्षेत्र पुनसंरचनापछि अहिले जिल्लामा ५ वटा क्षेत्र छन् ।