
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
आइतबार धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठलाई सिफारिस गरेको थियो ।
सिफारिस गरिएका ३ जनामध्ये सन्तोषनारायणलाई अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
आइतबार नै कृष्णबहादुर कार्की र डा. नवराज अधिकारीले अन्तर्वार्ता र कार्य योजना प्रस्तुति दिएका थिए । अध्यक्ष नियुक्त गर्नका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको यसअघि नै अन्तर्वार्ता भइसकेको थियो ।
धितोपत्र बोर्डको ‘धितो पत्रसम्बन्धी ऐन, २०६३’ को दफा ७ को उपदफा ४ मा ‘उपदफा ९३० बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ,’ भन्ने व्यवस्था छ ।
सिफारिस समितिले ३ जानाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरिषद्बाट अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।
अध्यक्ष श्रेष्ठ नेपाल विद्यु प्राधिकरणको सञ्चालक समितिमा रहिसकेका व्यक्ति हुन् ।
२०८० पुस २० गते बोर्डका अध्यक्ष रमेश कुमार हमाल बाहिरिएपछि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।