चोरी गर्नु आफैंमा राम्रो काम होइन । अझै मन्दिरमा चोरी गर्नु त भगवानमा आस्था राख्नेहरूका लागि पाप कर्म हो । तर, मन्दिरमा पनि बेला बेलामा चोरी भैरहेको हुन्छ ।
भारतको मध्य प्रदेशस्थित बैतुलमा एउटा अनौठो चोरीको घटना बाहिर आएको छ । जहाँ चोरले चोरी गर्नुअघि भगवान शनिदेवको अगाडि हात जोडेर माफी मागेका छन् ।
माफी मागेपछि उनले मन्दिरको दान पेटीको ताला तोडेर त्यसमा राखिएको नगद चोरेका हुन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार यो घटना नोभेम्बर २४ तारिकको हो । जिल्ला प्रहरी नियन्त्रण कक्ष नजिकै रहेको शनि मन्दिरमा राति भएको थियो । जुन मन्दिरमा राखिएका सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
फुटेजमा चोर मन्दिरमा पुग्नेवित्तिकै शनि भगवानको मूर्ति अगाडि हात जोडेर आफ्नो कार्यको लागि माफी मागेजस्तो देख्न सकिन्छ । हात जोडेर माफी मागेपछि अन्ततः ताला तोडेर दान पेटीबाट नगद निकालेर त्यहाँबाट भागेको भिडियोमा देखिन्छ ।
बिहान भक्तजन मन्दिर पुग्दा चोरी भएको थाहा भयो । सीसीटीभी फुटेजका आधारमा अज्ञात चोरविरुद्ध मुद्दा दर्तागरी अभियुक्तको खोजी शुरू गरेको समाचारमा उल्लेख छ ।