
जाजरकोटको नलगाड नगरपालिकाको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले बाजी मारेको छ ।
जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको उपप्रमुख पदको उपनिर्वाचनमा माओवादी केन्द्र आफ्नो विरासत फर्काउन सफल भएको हो ।
सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतसहित निर्वाचित भइन् ।
उनकी निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह) ३१४७ मतमा सीमित भइन् । तेस्रोमा रहेकी एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि नलगाडको उपप्रमुखमा उम्मेदवारी दिएको थियो ।
केन्द्रीय सदस्य एवं सांसद डा. तोसिमा कार्कीसहितका नेताहरू जाजरकोट पुगेर चुनावी अभियानमा हिँडेका थिए । तर, रास्वपा उम्मेदवारले लज्जास्पद हार बेहोरिन् ।
रास्वपाबाट उम्मेदवारी दिएकी पार्वती पुनले जम्मा १७९ मत पाइन् । राप्रपा नेपालकी सुनिता पुन रावलले ५८ र नेसपाकी पार्वती जैसीले १७ मत पाए ।
माओवादीले जोगायो विरासत
नलगाड नगरपालिका माओवादीको प्रभाव क्षेत्र हो । २०७४ देखि नै यहाँ माओवादीले जित्दै आएको छ ।
त्यति मात्र होइन २०६४ र ०७० मा भएको संविधान सभा निर्वाचन, त्यसपछिमा प्रतिनिधिसभा निर्वाचनमा माओवादी उम्मेदवारका नाममा जीत दर्ज हुनुमा नलगाडको ठूलो योगदान छ ।
२०७९ को निर्वाचनमा केन्द्रीय गठबन्धनमा भएको सहमति अनुसार यहाँ माओवादीले उपप्रमुख कांग्रेसलाई छाडेको थियो । उक्त निर्वाचनमा कांग्रेस उम्मेदवार सरिता सिंह ५४०६ मतसहित निर्वाचित भएकी थिइन् (जसको अघिल्लो वर्षको कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भयो)। पालिका प्रमुखमा माओवादी केन्द्रका डम्मरबहादुर राउत ५५९९ मतसहित निर्वाचित भएका थिए ।
एमालेका उम्मेदवारहरू दोस्रो स्थानमा रहे । प्रमुखमा एमालेका धर्मबहादुर शाहीले ३६२६ मत ल्याएका थिए भने उपप्रमुखमा सुनिता बोहराले ३३९३ मत ल्याएकी थिइन् ।
२०७४ को स्थानीय निर्वाचनमा भने सबै दलहरू एक्लाएक्लै लडेका थिए । जतिबेला माओवादीले पालिका प्रमुख र उपप्रमुख मात्र होइन, अधिकांश वडासमेत जितेको थियो ।
१३ वडा रहेको नलगाडमा ०७४ को निर्वाचनमा माओवादीले ७, एमालेले ४ र कांग्रेसले २ वटा वडा जितेका थिए ।
निर्वाचन आयोगको तथ्यांकअनुसार २०७४ को निर्वाचनमा नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका टेकबहादुर रावल ३४१८ मतसहित निर्वाचित हुँदा उपप्रमुखमा माओवादी केन्द्रकै बालकुमारी बस्नेत ३२४१ मतसहित निर्वाचित भएकी थिइन् ।
प्रमुखमा कांग्रेसका छवि पन्तले २८९८, एमालेका नवेन्द्र नेपालीले २६७४ मत ल्याएका थिए भने उपप्रमुखमा कांग्रेसकी धनमाया शाहीले २९१२ र एमालेकी सुनिता बोहोराले २६२३ मत ल्याएकी थिइन् ।
२०७९ को निर्वाचनमा भने माओवादीले ५, कांग्रेसले ४ र एमालेले ३ वडामा जीत निकाले । एक वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भए पनि पछि उनी कांग्रेस प्रवेश गरेका थिए ।
०७९ को निर्वाचनमा उम्मेदवारी दिन नपाएर उपप्रमुख गुमाएको माओवादीले उपनिर्वाचनमार्फत त्यसलाई पूर्ति गरेको छ । यससँगै कार्यपालिकामा समेत माओवादीको बहुत पुगेको छ ।
'हाम्रो जीत स्वाभाविक र प्राकृतिक हो । पार्टीभित्रको आन्तरिक एकताको प्रतिफल र हाम्रो नेतृत्वमा भएको पालिका सरकारले गरेका कामको जनअनुमोदन पनि हो', चुनावी अभियानभर नलगाडमा रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामदीप आचार्य भन्छन्, 'हामीलाई थप राम्रा काम गर्नका लागि पालिकामा सेट चाहिन्छ । त्यसकारण उपप्रमुख हामीलाई दिनुहोस् भनेर जनतामाझ गएका थियौं । जनताले यो कुरालाई स्वीकार गर्नुभएको छ । र, थप राम्रा काम गर्नका लागि निर्देशित पनि गर्नुभएको छ।'
कहाँ चुके कांग्रेस-एमाले ?
नलगाडमा नेकपा एमाले पहिलो जीतको खोजीमा थियो भने कांग्रेस जीत दोहोर्याउने योजनामा थियो । तर, दुवै दलको रणनीति पूरा भएन । लगातार माओवादीले जित्दै आएको नलगाडमा कांग्रेस-एमालेले पालिका प्रमुखले अपेक्षाअनुसार काम गर्न नसकेको भन्ने विषयलाई प्रमुख एजेन्डा बनाएका थिए । सहानुभूतिको मत बटुल्ने प्रयास पनि गरेका थिए । तर, परिणाम उनीहरूको पक्षमा आएन ।
'विगतका चुनावको तथ्यांक हेर्ने हो भने हामी नलगाडमा तेस्रो शक्ति नै हौं । यद्यपि, जीत निकाल्नका लागि हामीले कोसिस नगरेका होइनौं । जनतामाझ आफ्ना मुद्दालाई लिएर गयौं। आफ्ना कुरा राख्यौं', एमाले जिल्ला अध्यक्ष नरेन्द्र शाहीले भने, 'निर्वाचन परिचालनमा भएको कमजोरी र संगठनको चुस्तता अभावका कारण नतिजा आफ्नो पक्षमा पार्न सकेनौं । तर, हामीले हाम्रो मतको भने रक्षा भने गरेका छौं ।'
स्थानीय सत्ताको प्रभावका कारण पनि माओवादीले जितेको उनको बुझाइ छ । र, माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, पोलिटब्यूरो सदस्य रामदीप आचार्यलगायतका शीर्ष नेताहरू नलगाडकेन्द्रित भएका कारण पनि माओवादीलाई जितका लागि सहज भएको शाही बताउँछन्।
'एकातिर स्थानीय सत्ताको प्रभाव पनि हो । नलगाडको नेतृत्वमा लगातार उहाँहरू नै हुनुहुन्छ । स्थानीय सत्ताको दुरुपयोग के कति भयो भन्नेतिर म जान चाहन्नँ । तर, केही न केही त्यसको प्रभाव परेको हो । मतदातालाई रोजगारी प्रदानदेखि विभिन्न आश्वासनहरू दिएको हामीले सुनेका छौं', अध्यक्ष शाहीले भने, 'अर्कतिर माओवादीको सम्पूर्ण शक्ति नलगाड केन्द्रित भयो । जिल्लाका अन्य पालिकाको तुलनामा अब माओवादीको प्रभाव रहेको नलगाड नै हो । त्यसैले पनि उहाँहरूले यसलाई प्रतिष्ठाको विषय बनाएर लाग्नुभयो ।'
यता कांग्रेस पनि सहानुभूतिको मात्र नभई भूगोलको समेत मत तान्ने योजनामा थियो । जसका लागि उसले दिवंगत उपमेयर सरिता सिंहकी भाइ बुहारी इन्द्रा चन्द (सिंह)लाई उम्मेदवारका रूपमा अघि सार्यो भने अन्य उम्मेदवार नलगाड खोलावारि रहेका र आफ्नो मात्र उम्मेदवार खोलापारिको भनेर मतदातासमक्ष गयो । अधिकांश वडा नलगाड खोलापारि नै छन् । तर, कांग्रेसको यो रणनीति जीत निकाल्न पर्याप्त भएन ।
कांग्रेसले उपप्रमुखमा जसरी पनि जीत दोहोर्याउने रणनीतिका बनाएर १३ वटै वडामा जिल्ला कार्यसमितिका एक/एक जना सदस्यलाई चुनाव परिचालनका लागि खटाएको थियो भने साविकका गाविसहरूमा पदाधिकारी नै खटिएका थिए । साविकको डाँडागाउँमा उपसभापति खड्कबहादुर बीसी, लहँमा सहसचिव छवि पन्त, खगेनकोटमा महासमिति सदस्य महेन्द्रबहादुर शाह, रग्दामा महासमिति सदस्य मुक्ति आचार्य र भगवतीमा सहसचिव खड्ग बीसीले चुनावी मोर्चा सम्हालेका थिए । मूल निर्वाचन परिचालन समितिको नेतृत्व कर्णाली प्रदेशसभा सदस्य एवं कांग्रेस जिल्ला सभापति बेदराज सिंहले गरेका थिए ।
नागरिक अगुवा जनक केसी नलगाडमा जीत हासिल गर्नुमा माओवादीको आफ्नै विरासत र रणनीतिलाई प्रमुख कारण मान्छन् । कांग्रेस-एमालेको तुलनामा माओवादीको रणनीति मजबुत भएको उनको बुझाइ छ । र, माओवादीका शीर्ष नेताहरूको उपस्थितिले पनि माहोल निर्माणमा सहयोग गरेको उनी बताउँछन् ।
'मुख्य कुरा माओवादीको विरासत र रणनीतिले काम गरेको हो । उहाँहरू (माओवादी) रुकुममा जनार्दन शर्मा, कालीकोटमा महेन्द्रबहादुर शाही र जाजरकोटमा शक्ति बस्नेतको प्रतिष्ठासँग जोडेर चुनावी अभियानमा लाग्नुभयो । मुख्यत: यो नलगाडको उपमेयर मात्र नभएर शक्ति बस्नेतको पनि जीत हो', केसीले भने, 'निर्वाचन परिणामले यहाँ हिजो, आज र भोलि पनि कांग्रेस-माओवादी नै प्रतिस्पर्धी हुन् भन्ने देखाएको छ ।'
घट्यो एमालेको मत
नलगाडमा पहिलो जीत खोजीमा रहेको एमालेको मत घटेको छ । एमालेले २०७४ र २०७९ का दुवै निर्वाचनमा उम्मेदवार भएर पराजित भएकी सुनिता बोहरालाई उपनिर्वाचनमा उम्मेदवार बनायो । एमालेभित्रको महिलामा उनी क्षमतवान र निरन्तर क्रियाशील नेतृ हुन् । उनी एमालेको जिल्ला कमिटी उपसचिव र अनेमसंघको जिल्ला अध्यक्ष समेत हुन् ।
तर, निर्वाचन परिणाम केलाउने हो भने उनको मत घटेको छ । ०७४ को निर्वाचनमा २६२३ मत प्राप्त गरेकी उनले अहिलेको उपनिर्वाचनमा २५४२ मत प्राप्त गरिन् । जबकि, नलगाडमा ०७४ को तुलनामा मतदाता संख्या बढेको छ । उपनिर्वाचनका लागि नलगाडमा १६ हजार ४४९ मतदाता थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेले मत बढाएको थियो । यो निर्वाचनमा एमाले उम्मेदवार बोहराले ३३९३ मत प्राप्त गरेकी थिइन् ।
'२०७९ को निर्वाचनमा माओवादीको उम्मेदवार नभएकाले केही मत हामीलाई आएको हाम्रो विश्लेषण छ । उपनिर्वाचनमा जीत निकाल्न नसके पनि हामीले हाम्रो मतको रक्षा गरेका छौं । यी सबै कुराबाट सिकेर आगामी दिनमा जीत निकाल्ने गरी अघि बढ्छौं । संगठनलाई पनि चुस्तदुरुस्त बनाएर लैजान्छौं', एमाले अध्यक्ष शाहीले भने ।
कांग्रेसले भने ०७४ को तुलनामा केही मत बढाएको छ । ०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार धनमाया शाहीले २९१२ मत ल्याएकोमा यसपालिको उपनिर्वाचनमा इन्द्राले ३१४७ मत ल्याइन् ।
कुशेले कांग्रेसलाई राहत
नलगाडसँगै जाजरकोटको कुशे गाउँपालिका- ७ को वडाध्यक्षका लागि पनि उपनिर्वाचन भएको थियो । जहाँ कांग्रेस उम्मेदवार खम्बहादुर सिंह ३४७ मतसहित निर्वाचित भए । यो वडामा २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार मनबहादुर घर्ती ३८० मतसहित निर्वाचित भएका थिए।
उपनिर्वाचनमार्फत कांग्रेस जीत खोस्न सफल भयो । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले सिंहलाई नै उम्मेदवार बनाएको थियो । त्यतिबेला उनी ३१८ मतसहित दोस्रो भएका थिए ।
उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंह १५ मतान्तरले निर्वाचित हुँदा माओवादीका उम्मेदवार गोरखबहादुर नेपाली ३३२ मतसहित दोस्रो भए । कुशे-७ मा पनि एमाले तेस्रो भएको छ । एमाले उम्मेदवार डम्बरबहादुर घर्तीले २६२ मत ल्याए । ०७९ को निर्वाचनमा पनि यहाँ एमाले तेस्रो नै भएको थियो । त्यतिबेला एमाले उम्मेदवार प्रसाद सिंहले १४८ मत प्राप्त गरेका थिए ।