
सामुदायिक विद्यालयमा सञ्चालन गरिएको प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति र सुधारका लागि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा सिकइ योग्य भएको दक्षिण एशियाली क्षेत्रका शिक्षाविद्हरूले बताएका छन् ।
काठमाडौंमा गएको सोमबारदेखि चलिरहेको दक्षिण एशियाली मुलुकस्तरीय ‘एडभान्सिङ् फाउन्डेसनल लर्निङ् : गोइङ् टु स्केल इन साउथ एशिया’ विषय कार्यक्रमका सहभागीहरूले महानगरपालिको शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार, जनशक्ति, शिक्षक विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्ध जस्ता कार्यक्रमका बारेमा जानकारी लिएर स्थलगत अवलोकन गरे । उनीहरूले थालिएका कार्यक्रमको छिट्टै नतिजा देखिने गरी अनुकरणीय प्रयास गरेको प्रतिक्रिया दिए ।
‘रचनात्मक सिकाइका लागि नवप्रवर्तनमा आधारित कार्यक्रम, मानव पुँजी विकासमा लगानी, विद्यालयको स्वच्छता, आत्मविश्वाशी र सकारात्मक विद्यार्थी र यसका लागि गरिएको पूर्वाधारमा लगानी अन्य देशका लागि पनि सिकाइयोग्य छ’, उनीहरूको भनाइ छ ।
महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘शैक्षिक पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’ लाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ ।
महानगरपालिकाका कार्यक्रममा जिज्ञासा राख्दै सहभागीहरूले, ग्रेड शिक्षक र विषयगत शिक्षकको व्यवस्था, विद्यार्थी भर्ना, कक्षामा नियमितता, अनियमित हुने विद्यार्थीहरूको निगरानी, स्थानान्तरणको अवस्था, संघीयतामा शिक्षा र यसमा स्थानीय सरकारका दायित्वका विषयमा जानकारी लिए ।
छलफलका क्रममा पुस्तकविहीन शुक्रबारबाट प्राप्त नतिजाका विषयमा छलफल भएको थियो । यस्तै, विद्यालयमा शौचालय, खानेपानी, हात धुने व्यवस्था, खेल मैदान, शैक्षिक सामग्री, उमेर समूह अनुसार बस्ने ठाउँ, भौतिक संरचनाको अवस्था र सुरक्षा लगायत विषय चासोका रूपमा व्यक्त भएका थिए ।