
प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षा क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञबीच छलफल भएको छ।
गएको सोमबारदेखि शुक्रबारसम्म काठमाडौंमा आयोजना भएको दक्षिण एशियाली मुलुकस्तरीय ‘एडभान्सिङ् फाउन्डेसनल लर्निङ् : गोइङ् टु स्केल इन साउथ एशिया’ विषयक कार्यक्रममा सहभागी शिक्षा क्षेत्रका विज्ञ र महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकबीचको अन्तरक्रियात्मक छलफल भएको हो ।
कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं महानगरपालिकाले थालेका कार्यक्रममध्ये प्रारम्भिक बाल विकास कार्यक्रम महत्त्पूर्ण रहेको बताइन् ।
कार्यक्रममा उनले महानगरपालिकाले शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार विकास, मानव पुँजी विकास, शिक्षक–विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्धमा जोड दिएको बताइन् ।
शैक्षिक सामग्री बनाउँदा स्थानीय स्रोत र उपलब्ध बस्तुको प्रयोग, एकीकृत र सिर्जनात्मक सिकाइ, शिक्षामा सिप कार्यक्रमबाट प्राप्त भएको नतिजा सकारात्मक भएको उल्लेख गर्दै उनले, आफ्नो संस्कृति, आफ्नै परिवेश अनुरुपको सिकाइबाट अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिएको बताइन् ।
छलफलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार प्रारम्भिक बाल विकास कक्षा शिक्षकलाई सरकारले दिएको तलवमा महानगरपालिकाले मासिक थप १० हजार रूपैयाँ दिएको छ । कार्यक्रमका आधारमा बजेट थपेको छ । बाल विकासका एउटा कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने मापदण्डका आधारमा कक्षा सञ्चालन गरेको झाले बताए ।
महानगरपालिकाले शिक्षा नीतिमा समेटेर कार्यान्वयनमा ल्याउन खोजेका प्रयासहरू अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउन लागिएको बताइएको छ । शिक्षा अधिकारी गोविन्दप्रसा शर्माले भने, ‘यो भनेको, हामीले लिएको लक्ष्य समय सान्दर्भिक छ, भन्ने हो ।’
छलफलका क्रममा पाकिस्तानका ह्युमन डिभलपमेन्ट फाउन्डेसनका निर्देशक ताइब जानले भने ‘उपचार समाधान होइन । निरोगी हुनु दिगो समाधान हो । प्रारम्भिक बाल विकास कक्षा उपचार होइन, निरोगी हुने उपाय हो ।’
भारतको मोबाइल ट्रेसका कार्यकारी निर्देशक चिराश्री घोषले, अभिभावकको रोजगारीका कारण बालबालिकाको रेखदेख र हेरचाहमा कमजोरी हुन दिन नहुने कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
यस्तै, भारतकै नेशनल फोर्सेस फर चाइल्ड केयरका संयोजक डा. अपराजिताले, काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रम सिकाइमा उपयोगी अभ्यास रहेको बताइन् ।
‘भारतमा अभ्यास गरिएको बुक फ्रि फ्राइडे क्रमशः स्पोर्टस डे बनेको थियो । यो स्पोर्ट्सका लागि मात्र होइन । मर्मअनुसार सञ्चालन गर्न यसमा नियमित निगरानी चाहिन्छ’, उनले भनिन् ।
महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘शैक्षिक पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’ लाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ । ४ वर्षभन्दा कम उमेर भएका बालबालिकालाई सीसीडी (चाइल्ड केयर डिभलपमेन्ट) र ४ वर्षभन्दा माथि कक्षा ३ सम्मका बालबालिकालाई ईसीडी (अर्लि चाइल्ड डिभलपमेन्ट) कार्यक्रम कार्यान्वयन गर्ने नीति अनुरुप काम भइरहेको उपप्रमुख डंगोलले बताइन् । कक्षा ३ सम्म एकीकृत सिर्जनात्मक सिकाइ र कक्षा ४ देखि १० सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् ।