२३ असार २०८३, मंगलबार
कमजोर प्रदेश संरचना

परनिर्भर प्रदेश– छैन आम्दानीको भरपर्दो स्रोत, ९० प्रतिशत खर्च संघकै भरमा

मंसिर २१, २०८१
बुटवल
परनिर्भर प्रदेश– छैन आम्दानीको भरपर्दो स्रोत, ९० प्रतिशत खर्च संघकै भरमा

सञ्चित कोष रित्तिँदा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा काम सकेका निर्माण कम्पनीलाई भुक्तानी दिन सकेन । भइसकेको कामको २ अर्ब भुक्तानी रोकिएपछि सरकारलाई यसको भार/दायित्व चालु आवका लागि थपिएको छ ।

हरेक वर्ष चालु र पूँजीगत खर्च व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको प्रदेशले नागरिकको सोचलाई मूर्तरूप दिन चुनौती छ । 

संघीय सरकारले छुट्टाउने वित्तीय समानीकरण अनुदानलाई प्रमुख आधार बनाएर बजेट ल्याउने लुम्बिनी प्रदेशको आफ्नो आन्तरिक स्रोतबाट १५ प्रतिशत मात्र व्यवस्थापन गर्न सक्छ । ८५ प्रतिशत संघीय अनुदानमा निर्भर हुनुपर्ने अवस्था छ ।

लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा संघले पनि समानीकरण अनुदान घटाउँदै लैजाँदा प्रदेशको सञ्चित कोष हरेक वर्ष रित्तिन थालेको छ । 

लुम्बिनीलाई प्रदान हुने साढे ८ अर्ब समानीकरण अनुदान घटाएर चालु आर्थिक वर्षका लागि ६ अर्ब रूपैयाँमा झारिएको छ । लुम्बिनी सरकारले राजस्व संकलन गर्न निर्धारण गरेको लक्ष्य हरेक वर्ष ५० प्रतिशत पनि पूरा हुन सकेको छैन ।

लुम्बिनीले आन्तरिक आयको लक्ष्य झण्डै ५ अर्ब राखेको छ । तर, त्यसको ३३ प्रतिशत अर्थात् १ अर्ब ६५ करोड पनि पूरा गर्न धौ–धौ छ ।

स्रोतविना घाटाको बजेट ल्याउने सरकारले प्रदेशको आन्तरिक स्रोत दिगो र भरपर्दो बनाउन आय परिचालनका क्षेत्रहरू पहिचान गर्न सकेको छैन ।

संस्थागत भएर काम गर्न थालेको ७ वर्ष पूरा हुँदा समेत प्रदेश संरचना र स्वरूप निर्धारणको रेखा कोर्न नसक्दा लुम्बिनी प्रदेशको ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारा साकार पार्न नसक्ने देखिन्छ । 

प्रदेश सरकारले आम्दानीको प्रमुख आधार मानेको वन क्षेत्रमा काठ कुहिएर गएको अवस्था छ । मनोरञ्जन कर, सवारी करको दायरा वृद्धि गर्न सकेको छैन । 

राजस्व संकलन हुन नसक्नुका पछाडि ३/४ वटा मुख्य कारण रहेको अर्थविद् तथा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार वली बताउँछन् ।

‘संवैधानिक संरचनाले दिएका क्षेत्राधिकार पनि प्रदेशले उपयोग गर्न पाएको छैन,’ वली भन्छन्, ‘प्रदेशको मुख्य स्रोत भनेको अहिले यातायात व्यवस्थापन र वन व्यवस्थापन हुन् । त्योबाहेक अन्य मेजर सेक्टर देखिँदैनन् । तर, हामी यी दुई सेक्टरमा पनि इन्टर गर्न सक्ने अवस्था छैन । त्यसका पछाडि अर्थ, राजनीतिक र सामाजिक पाटोहरू जोडिएका छन्, जसले गर्दा प्रदेश सरकार आफैं सहभागी भएर राजस्व संकलन गर्न सकेको छैन ।’ 

null

वलीले थपे, ‘वनसँग सम्बन्धित राजस्वको विषयमा मुद्दा परेर वनमा लगाएको १० र २५ प्रतिशत करको विषय अदालतले स्टे अर्डर दिएकाले राजस्व उठाउन सक्ने अवस्था छैन । त्यसपछि अहिले उठेको यातायात व्यवस्थापनबापतको राजस्व हो । त्यसले मात्र कति हुन्छ र ?’

प्रदेशको क्षेत्राधिकार बुझ्ने सिलसिलामा संविधानको अनुसूचीअनुसार जति पनि छन्, ती प्रदेशप्रदत्त अधिकारलाई उपयोग गर्नका लागि संघीय ऐनहरूको व्यवस्थापन जरुरी छ । 

‘प्रदेशको महत्त्व बुझ्ने गरी व्यवहारतः प्रदेशको अस्तित्व स्थापित हुने गरी काम गर्न सकियो भने राजस्व र बढ्दो इकोनोमी एक्टिभेट र रिभाइभ हुन्छ,’ वलीले थपे । 

लुम्बिनी प्रदेशको हरेक वर्षको चालु खर्च मात्रै वार्षिक ९ अर्ब रुपैयाँ छ । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनुसार चालुतर्फ मात्रै आम्दानी र खर्चबीचको खाडल ७ अर्ब रुपैयाँ हुन पुगेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनीले ७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सशर्त अनुदान घटाई समानीकरण अनुदान बढाउन आवश्यक रहेको बताए ।

‘प्रदेश विकास समस्या समाधान समितिले समाधान गर्न नसकेका समस्यालाई राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउँदै संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ मुख्यमन्त्री चेतनारायण आचार्यले भने, ‘प्रदेशमा स्रोतहरूको अभाव छ । संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम घटाई वित्तीय समानीकरण अनुदानको रकम बढाउनुपर्छ भनेर पनि उठाएका छौं ।’ 

संघीयतामा बामे सर्दै गरेको मुलुकमा आम्दानी र खर्चको खाडल हेर्दा ‘आकाश र पातल’जस्तो छ । संघीयता कार्यान्वयन शुरू भएको ७ वर्षमा हुनै लाग्दा समेत प्रदेशले आन्तरिक स्रोत वृद्धिमा कुनै प्रगति नगर्दा खर्च प्रतिवर्ष अंकगतिणको हिसाबले उकालो लागेको तथ्यांकले देखाउँछ । जनतासँग प्रत्यक्ष नजोडिने प्रदेशमा यति धेरै खर्च हुँदा संघीयतामाथि प्रश्न उठिरहेको छ । 

संघीयताका जानकार डा. खिमलाल देवकोटाले प्रदेशको आन्तरिक राजस्वको बेसलाई बढाउनतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

‘खासमा प्रदेशलाई राजस्वको कार्यक्षेत्र दिइएको छैन,’ देवकोटाले लोकान्तरसँग भने, ‘अहिले संविधान संशोधनको कुरा पनि उठिरहेको छ । प्रदेशको राजस्वको आधार बलियो बनाउनतर्फ ध्यान दिनुपर्छ । यसमा अहिले गहन अध्ययन गर्नुपर्छ । प्रदेशलाई बजेटको रिजल्ट आउने ठाउँ नै संघले दिएको छैन ।’

प्रदेशले राजस्वको बेस बढाउने अधिकारको विषयमा संघ सरकारसँग आवाज उठाएको छैन । राजस्व सबै संघ सरकारले सेन्ट्रलाइज गरे पनि त्यसलाई प्रदेशमा पनि दिनुपर्छ भन्ने विषय छलफलमा समेत आएको पाइन्न । त्यसैले प्रदेशले रिजल्ट देखाउन नसकेको देवकोटाले बताए ।

null

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक दीपक ज्ञवालीले यही बजेटको मोडालिटीमा प्रदेश सरकार चल्न नसक्ने बताए ।

‘प्रदेश बजेटको ९० प्रतिशत परनिर्भरता संघसँग छ,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘प्रदेशलाई राजस्वको अधिकार क्षेत्र संकुचित छ । २० अर्ब बजेट छैन, ४० अर्बको बजेट आउँछ । यो मोडालिटीले अब हुँदैन । स्रोतविना बजेट बढाउन अंकुश आवश्यक छ । प्रदेशका एकल अधिकारका क्षेत्रमा राजस्व संकलन एकदमै न्यून छ । अब राजस्वको दायरा वृद्धि पनि गर्नुपर्छ ।’

अति न्यून क्षमताको सामना गरिरहेको प्रदेशले दिगो विकास, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा चुनौती खडा भएको प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बताए ।

‘आर्थिक स्रोतको अभाव, राजस्व संकलनको सीमित अधिकार, संस्थागत र प्राविधिक झञ्झट, स्थानीय स्रोतको उपयोग हुन नसक्नु र कानूनी तथा नीतिगत अस्पष्टता यसका समस्या हुन्,’ कार्कीले भने ।

salt training

कमेन्ट गर्नुहोस्