०४ साउन २०८३, सोमबार
रविमाथिको अनुसन्धान

रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा निकै बलियो प्रमाण, खातामा २१ करोड आएको पुष्टि

पुस ५ सम्ममा मुद्दा बुझाउने तयारी, रवि–छविबाहेक ३५ जना फरार प्रतिवादी
मंसिर २८, २०८१
काठमाडौं
रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा निकै बलियो प्रमाण, खातामा २१ करोड आएको पुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा बलियो प्रमाण सम्पत्ति शुद्धीकरणमा भेटिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले रवि र उनको श्रीमतीको खातामा झण्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको हो ।

‘सूक्ष्म ढंगले अनुसन्धान गर्दा रवि र निकिताको बैंक खातामा अस्वाभाविक ट्रान्जिक्सन देखिएको छ,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘सम्भवतः सम्पत्ति शुद्धीकरण मुद्दाले नै रविको सजाय निर्धारण गर्ने देखिन्छ ।’ 

पछिल्लो ४ वर्षमा ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको ती अधिकृतले बताए ।

ती प्रहरी अधिकृतले भने, ‘यति ठूलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य रविले स्थापित गर्न सकेनन् भने उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर्ने निश्चित छ ।’ 

कास्की प्रहरीले जिल्ला सरकारी वकिलमार्फत पुस ५ गते शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ ।

रविका पार्टनर छविलाल जोशी बञ्जाडे पक्राउ परेको दिनबाटै रविसहितका अरू ४ जनाको म्याद मिलान भएकाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानूनी बाध्यता छ । लगत्तै थुनछेक बहस शुरू हुनेछ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार रविविरुद्ध सहकारी ठगीभन्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बलियो प्रमाण फेला परेका छन् ।

रवि र उनकी पत्नी निकिताको बैंक खातामा शंकास्पद रूपमा रकम ट्रान्जिक्सन भएको प्रमाण प्रहरीले फेला पारेको हो । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार स्वर्णलक्ष्मी, सहारा, सुप्रिम, सूर्यदर्शन र सानोपाइला सहकारीबाट गोरखा मिडियामा पुगेको करोडौं रकम परिचालनको अधिकार पाएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको भेटिएको छ ।

रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पाएको छ । गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको भेटिएको छ । 

सहकारी ठगी छानबिन गर्न बनेको संसदीय विशेष समितिले सहकारीबाट गोरखा मिडियामा पुगेको ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाए पनि प्रहरी अनुसन्धानका क्रममा थप ३ करोड बढी गोरखा मिडियामा पुगेको फेला परेको छ । 

कास्की प्रहरीका अनुसार रवि जोडिएको गोरखा मिडियामा ५ वटा सहकारीबाट रकम गएको देखिएको र उक्त रकम ल्याउँदा गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलगायत पनि जोडिएकाले संगठित अपराध गरेको पुष्टि हुन्छ ।

‘रविले छविलालमार्फत जीबी राईलाई चिनेको बयान दिएका छन् । कुमार रम्तेलले सहकारीको रकम गोरखा मिडियामा ल्याउने बेला रवि र जीबीबीच बैठक बसेको बताएको र छविसहितकाले गोरखा मिडियाबाट ऋण लिएको अनुसन्धानबाट खुलेको छ,’ स्रोतले भन्यो, ‘गोरखा मिडियामा भित्रिएको सहकारीको रकम आफैंले भटाभट चेक काटेर बाँडेको स्वयं रविले स्वीकारेकाले उनी सहकारीको रकम अपचलनमा पनि दोषी ठहर्ने देखिन्छ ।’ 

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारी संस्थाबाट गोरखा मिडियाले लिएको ऋणको ब्याज तिर्न रविकै हस्ताक्षर रहेको चेकबाट भुक्तानी गरेको प्रमाण पनि प्रहरीले फेलापारिसकेको अवस्था छ । 

कास्की प्रहरीका प्रवक्ता एवं डीएसपी वसन्तकुमार शर्माले प्रहरीले सूक्ष्म अनुसन्धान गरेर मुद्दाको मिसिल तयार पारेको बताए ।

उनले लोकान्तरसँग भने, ‘अनुसन्धान करिब–करिब अन्तिम चरणमा पुगेको छ । अनुसन्धानमा खुलेका कुरा मैले भन्न मिल्दैन । सरकारी वकिल कार्यालयमार्फत अर्को साता अदालतमा मुद्दा दर्ता गर्छौं ।’ 

सूर्यदर्शनको रकम अपचलनमा संलग्न रहेको आरोपमा रवि, छवि, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेकाभन्दा बाहेक ३५ जनालाई फरार प्रतिवादी कायम गर्न राय दिने तयारी प्रहरीले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्