
संसारको हर मानिस दुःखी छ, अशान्त छ । होस सम्हालेदेखि होस गुमाउपूर्वसम्म दुःखी र अशान्त नै रहन्छ । हुन सक्छ होस सम्हाल्नुपूर्व पनि दुःखी नै थियो, होस गुमाएपछि पनि दुःखी नै रहन्छ । यद्यपि उसले दुःख निवारणको प्रयास नगरेको होइन । गरेको छ, धेरै गरेको छ, शायद चाहिनेभन्दा बढी नै गरेको छ ।
जाग्रतमा गरेको हुन्छ, स्वप्नमा गरेको हुन्छ, अप्रत्यक्षरूपमै सही सुशुप्तिमा पनि गरेको हुन्छ । तैपनि दुःख निवारण भएको होइन, हुन सकेको छैन । ठूलालाई ठूलै दुःख, सानालाई सानै दुःख । सबै दुःखी, सबै अशान्त ।
आखिर किन यस्तो ? प्रश्न जति गम्भीर छ उत्तर त्यस्तो छैन । किनभने यसको कारण आफ्नै मूल हो, आफ्नै जन्म हो, जन्मसंस्कार हो । मानिसको जन्म जतिबेला भयो त्यतिबेलादेखि नै दुःखी भयो, दुःखी हुन थाल्यो । ‘जन्म मृत्यु जराव्याधिदुःखदोषानुदर्शनम् ।’ अर्थात् जन्म पनि दुःख हो, मृत्यु पनि दुःख हो, बुढ्याइँ र व्याधी पनि दुःख नै हो ।
लौ मानौँ वेदान्तको कुरा हो, त्यो त्यही होला । जन्म हुनु नै दुःखको कारण होला तर, प्रश्न अझै सकिएको छैन । आखिर जन्म नै दुःख हो भने त्यस्तो जन्म नै हुन्छ किन ? किनकि कर्म संस्कारले पछ्याएको छ । मानिसले कर्म गर्छ, कर्म गरेको छ । कर्म गरेपछि प्रतिफल भोग्नैपर्छ । मानिसले कर्म गर्यो त्यसैको परमाणुले गाँज्यो, अँठ्यायो, पछ्यायो ।
लौ मानौँ यही पनि त्यही होला । मानिसले कर्म गरेछ, त्यसैको संस्कारले पछ्याएछ तर, त्यसै हो भने मानिस त्यस्तो कर्म नै गर्छ किन ? कसले बाध्य पारेको छ र आफैँलाई दुःख दिने कर्म गर्न ? उत्तरमा यही भन्न सकिन्छ कि यसमा राग र द्वेषले काम गरेको छ । कर्म गर्दा कुनै चीज प्राप्त भयो राग उत्पन्न गर्यो । भएन द्वेषकको निर्माण गर्यो । कर्मको परिणाम दुई किसिमको हुन्छ । कि प्रतिफल प्राप्त हुन्छ कि हुँदैन । भयो राग उपन्न गर्यो दुःखै भयो । भएन द्वेष उत्पन्न भयो दुःखै दियो ।
पुनः प्रश्न उठ्न सक्छ त्यो राग र द्वेषको कारण चाहिँ के होला त ? यसको पनि उत्तर यही हो कि त्यो भनेको डर हो । कुनै चीज प्राप्त हुन्न कि भन्ने डर, प्राप्त भए पनि पुनः गुम्छ कि भन्ने डर ।
पुनः अर्को प्रश्न गर्न सकिन्छ डर आफ्नैको कारण चाहिँ के होला ? यसको उत्तर हो द्वैतभान । आफू भनेको अर्कै हो, अर्को भनेको अर्कै हो भन्ने द्वैतभान । अर्थात् भेद दर्शन । त्यसैले आफूलाई हेर्ने दृष्टिकोण अर्कै हुन्छ, अर्कोलाई हेर्ने दुष्टिकोण अर्कै हुन्छ । आफूलाई गर्ने व्यवहार अर्र्कै बनाउँछ, अर्कोलाई गर्ने व्यवहार अर्कै बनाउँछ ।
उपनिषद्शास्त्र भन्छ– ‘द्वितीयाद्वै भयं भवति ।’ आफू र अर्कोलाई भिन्न देख्नेवित्तिकै डर पैदा भइहाल्छ । केही गरिहाल्छ कि भन्ने डर, केही भनिहाल्छ कि भन्ने डर, केही लगिहाल्छ कि भन्ने डर, केही खाइहाल्छ कि भन्ने डर, केही पाइहाल्छ कि भन्ने डर ।
पुनः प्रश्न उड्न सक्छ त्यो द्वैतभानको कारण चाहिँ के होला त ? यसको उत्तरमा मिथ्याज्ञानलाई मानिएको छ । डोरीमा देखिने सर्पजस्तो, ठूटोमा देखिने बाघजस्तो हुँदै नभएको चीजलाई होजस्तो देख्ने र ठान्ने भ्रम । त्यसो भए त्यस्तो मिथ्याज्ञान चाहिँ किन हुन्छ नि ? यसको कारण हो अज्ञान । अनि अज्ञान किन हुन्छ त ? ज्ञानको अभावमा हुन्छ । यसलाई वेदान्तले विद्या र अविद्या भनेको छ । अविद्या भनेको अज्ञान हो, विद्या भनेको ज्ञान हो । अविद्या अँध्यारो हो, विद्या उज्यालो हो ।
आखिर जे भए पनि ज्ञानको अभावमा अविद्या हुन्छ । अविद्या भएपछि मिथ्याज्ञान हुन्छ । अनि मिथ्याज्ञान भएपछि द्वैतभान हुन्छ । द्वैतभानबाट डर पैदा हुन्छ र डर पैदा भएपछि राग र द्वेष निर्माण गराउँछ । त्यसपछि क्रमशः कर्म र जन्मको कारण बन्न पुग्छ र जन्मले दुःख निम्त्याउने काम गर्छ । पुनः प्रश्न गर्न सकिन्छ त्यस्तो ज्ञान कसरी पाउन सकिन्छ ? उत्तरमा यही भन्न सकिन्छ कि सत्शास्त्र र सद्गुरुको शरणमा जानुपर्छ ।
जब सद्गुरु भेटिन्छन् तब सद्शास्त्रको ज्ञान पाइन्छ । जब सद्शास्त्रको ज्ञान पाइन्छ तब सबै समस्या समाधान हुन्छ । जहाँसम्म त्यस्तो गुरु कसरी प्राप्त गर्न सकिन्छ भन्ने प्रश्न छ त्यसका लागि भने आफैँले तात्नुपर्ने हुन्छ । खोजी गर्नुपर्ने हुन्छ । जसले खोजी गर्छ उसले जन्म र मृत्युको दुःखबाट माथि उठेर सुख पाउँछ, जसले गर्दैन उसले निरन्तर जन्म र मृत्युको चक्रमा फसेर दुःख पाउनुपर्छ । अस्तु आजलाई यति नै ।