
पछिल्लो केही दिनयता आफूमाथि अनेक आरोप प्रत्यारोप थोपरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अर्थपूर्ण सन्देश दिएका छन् । आफूमाथि नियतवस नै एकपछि अर्को कठोर टिप्पणी गरेपछि ओलीले प्रचण्डको काउन्टरमा अर्थपूर्ण सन्देश दिएका हुन् ।
प्रचण्डले जति कठोर टिप्पणी गरे पनि सरकार झन्-झन् बलियो बन्दै जाने ओलीले बताएका छन् । यतिमात्रै होइन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै प्रतिशोध नसाँधिएको पनि ओलीले प्रष्ट पारेका हुन् ।
कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि गत असारको तेस्रो साता प्रचण्ड सरकारबाट बाहिरिएका थिए । त्यसयता प्रचण्डले भ्रष्टाचारका फाइल खोल्न थालेपछि आफ्नो सरकार गिराइएको, रविलाई फसाएको, बेथिति निम्त्याएको र बीआरआईमा विवादित बनाएकोलगायत एकपछि अर्को आरोप लगाउँदै आएका छन् ।
यतिमात्रै नभएर स्थानीय तहको उपनिर्वाचनमा एमालेलाई पछाडि पार्दै दोस्रो स्थान हात पारेपछि माओवादी जीतको उल्लासमा देखिन्छ ।
एक्लै चुनाव उठ्दा पनि कांग्रेस र एमालेलाई गतिलो टक्कर दिएपछि माओवादीका अध्यक्ष प्रचण्ड उत्साही हुँदै आएका छन् । यसै उत्साहबाट प्रचण्डले २०८४ को चुनाव एक्लै लड्ने निर्णयसमेत पार्टी बैठकबाट गराएका छन् । नतिजाले उत्साही भएर प्रचण्डले पटक-पटक प्रधानमन्त्री एवं एमाले अध्यक्षलाई तारो बनाएर भाषण गरिरहेका छन् ।
प्रचण्डको यही उत्साहपूर्ण अभिव्यक्तिका बीच ओलीले बिहीबार उनीविरुद्ध केही अर्थपूर्ण सन्देश जानेगरी बोलेका हुन् । ओलीले माओवादी पलाएदेखि नै झुट र बेइमानी शुरू भएको भन्दै अहिले आफूहरू विरुद्ध कुप्रचार गरिरहेको बताए । ‘नेपालमा जुन दिनबाट माओवादी शुरू भयो त्यहीबाट जाल जेल, फटाहा, झुट, बेइमान शुरू भयो,’ ओलीले आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलामा बिहीबार भनेका थिए, ‘अहिले नराम्रा कामको नेतृत्व प्रचण्ड महोदयले गर्नुभएको छ ।’
ओली यत्तिमै रोकिएनन् । भ्रष्टाचारको संरक्षक केपी ओली भनेर माओवादीले दुष्प्रचार गरेकोप्रति पनि कटाक्ष गरे । ‘माओवादी आफैंले देश लुट्यो । तर केपी ओली भ्रष्टाचारीको संरक्षक भनेर गलत प्रचार गर्न खोजिरहेका छन्,’ ओलीले भने, ‘भ्रम फिँजाए पनि माओवादी हामीविरुद्ध लड्न सक्दैन । यो एमाले स्थापित भयो भनेर गरिएको रिस मात्रै हो ।’
प्रचण्डले जति सराप्यो सत्तारुढ दलको गाँठो त्यत्ति नै कसिँदै जाने ओलीको विश्वास छ । ‘विकृति र विसंगति भित्र्याउन खोजेकाले हामीले राजनीतिक स्थायित्व दिन कांग्रेससँग मिलेर सरकार बनाएका हौं । किनकि हामीलाई अनुचित खालका शक्तिलाई रोक्नुपर्ने र छोड्नुपर्ने बाध्यता थियो,’ ओलीले भने, ‘हामी हाम्रो मिसनमा छौं । तर लुट, ठग र पहिलेजस्तो भाँडभैलो गर्न नपाएपछि केही सलबलाएका हुन् । तर पहिले जस्तो जे गरे पनि अब छुट पाइँदैन ।’
प्रधानमन्त्री निकट स्रोत पनि विगतमा जस्तो बार्गेनिङ गर्ने बाटो बन्द भएपछि माओवादीसहितका दलमा छटपटी देखिएको बताउँछ ।
‘संसद्को अंकगणितको बाध्यतामा कतिपय साना दललाई बोक्नुपर्ने र उनीहरूको कुरा सुन्नै पर्ने बाध्यता थियो । तर नचाहिने स्वार्थ पनि पूरा गर्नुपर्ने झन्झट अब छैन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘बार्गेनिङका विकल्प सकिएपछि प्रचण्ड छटपटाउँदै छन् । यसैले तथ्यबिना अनेक आरोप लगाइरहेका छन् । जसले उनैलाई हानी गर्नेछ ।’

प्रचण्डले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको टिप्पणीबारे पनि ओलीले अर्थपूर्ण जवाफ दिएका छन् ।
‘केही बेइमानीले गैरकानूनी, अनुचित, बेइमानी र भ्रष्टाचारबाट उम्किन सकिन्छ कि भनेर सोचेका छन् । तर भ्रष्टाचारीहरू कुनै भ्रममा पर्न जरुरी छैन,’ ओलीले रविप्रति संकेत गर्दै भनेका छन्, ‘देशमा कानून भएसम्म जोसुकै होस्, भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गरिन्छ ।’
चुनावी नतिजाबाट हौसिँदै प्रचण्डले बीआरआईलाई समेत विवादित बनाउन खोजेको सत्तापक्षको बुझाइ छ ।
‘प्रचण्डजीले बीआरआरआईलाई पहिले चिनियाँ कार्ड भन्नुभयो । पछि सहमति भएपछि मेरै पालाका गरिएको सहमति भन्दै फोटो कपी बाँडेको भन्नसमेत पछि पर्नुभएन । उहाँले सकेको भए अमेरिकाबाट सोझै चीन जाँदा किन बीआरआईमा सहमति जुटाउनुभएन ?’ प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘चीनसँग बीआरआई सहकार्यको दस्तावेजमा हस्ताक्षर भएपछि अब यो कार्यान्वयनको बाटोमा जाने भयो । नेपालको कूटनीतिक शक्ति पनि थप मजबुत बन्दै गएपछि प्रचण्ड खेल्न नसकिने भयो भनेर आत्तिनुभएको छ ।’
चीनसँग भएको बीआरआईको दस्तावेजमा हस्ताक्षर र यसलाई सार्वजनिक गरेपछि सत्तारुढ दलले सत्ता समीकरण थप मजबुत भएको ठानेका छन् ।
‘बीआरआईले सत्तारुढ दलमा किचलो आउला कि भन्ने ठानेका थिए । तर कांग्रेस र एमालेले सहजै यसको विवादलाई तत्काल पार लगाएर सहकार्यमा हस्ताक्षर गर्ने र सार्वजनिक गर्ने काम गरेका छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यसमा प्रधानमन्त्रीको र कांग्रेसको व्याख्या अझै अलि फरक नै छ । तर दुवै दल बीआरआईको विषयले आपसमा किचलो नबढाउने मानसिकतामा देखिएका छन् ।’