२६ असार २०८३, शुक्रबार
सहकारी ठगी र सम्पत्ति शुद्धीकरण

रविलाई ‘गलपासो’ बन्दै २९ करोडको बैंकिङ कारोबार, प्रहरी भन्छ– ‘उम्किने ठाउँ छैन’

पुस २, २०८१
काठमाडौं
रविलाई ‘गलपासो’ बन्दै २९ करोडको बैंकिङ कारोबार, प्रहरी भन्छ– ‘उम्किने ठाउँ छैन’

रवि लामिछाने लगायतमाथि लामो अनुसन्धानपछि सोमबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मिसिल बुझायो । 

झण्डै ६ सय पृष्ठको प्रतिवेदनमा प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विभिन्न प्रमाण पेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रविलाई दोषी करार गर्न मिल्ने पर्याप्त प्रमाण भेटिएको प्रहरीले जनाएको छ ।

सहकारी ठगीमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले फेला पारेका प्रमाणलाई पनि प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार रविमात्रै नभएर उनीसँगै पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलगायत ५ जनाविरुद्धको अनुसन्धानमा थुप्रै तथ्य फेला परेका छन् । 

गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरेको थियो । यो बीचमा रवि र उनकी पत्नी निकिता पौडेलको बैंक खाता कोट्याउँदा करोडौंको कारोबार देखिएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू नै चकित परेका थिए ।

रवि र निकिताको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ फेला पर्‍यो । दुई जनाका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट विगत ८ वर्षमा झण्डै २९ करोड कारोबार भएको तथ्य खुल्यो । 

७ वटा बैंक क्रमशः ग्लोबल आईएमई बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हिमालयन बैंकमा रहेका खातामा २९ करोड ९१ लाख रुपैयाँ ट्रान्जिक्सन फेला परेको हो । प्रहरीले यो तथ्यलाई अनुसन्धान मिसिलमा समेटेको छ । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार अब रविले यो रकम कहाँबाट आयो र कसरी जम्मा भयो भनेर आम्दानीको स्रोत खुलाउनुपर्छ । खुलाउन नसकेको अवस्थामा उनी सम्पत्ति शुद्धीकरणमा दोषी देखिने ती अधिकृत बताउँछन् ।

रविले सबैभन्दा धेरै कारोबार ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट सन् २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख गरेको देखिन्छ । उक्त खातामा जम्मा भएको अस्वाभाविक रकम झिकिसकेको देखिन्छ । रवि र निकिताका नाममा नेपाल बैंकमा रहेको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको तथ्य फेला परेको छ । 

सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा ४ वर्षमा ६ करोड ५७ लाख कारोबार भएको भेटिएको छ । यो कारोबार २०१८ सेप्टेम्बर १३ देखि २०२२ सेप्टेम्बर १ सम्म रहेको प्रहरीले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा निकिताका नाममा एउटा डलर खाता समेत खोलेको पाइएको छ । तीनवटा डलर खातामा २०१६ सेप्टेम्बर २६ देखि २०२४ जुलाई १५ सम्म ३ करोड ७७ लाखको कारोबार भएको पाइएको छ ।

इन्भेस्टमेन्ट मेगामै रहेको अर्को खातामा २०२३ मे १४ देखि २०२४ नोभेम्बर २५ सम्म १ करोड ५ लाखको कारोबार भएको पाइएको छ । निकिताकै नाममा ग्लोबल आईएमईमा रहेको खातामा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ जम्मा भएको तथ्य फेला परेको छ । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सबै बैंक खातामा हाल मौज्दात रकम भने जम्मा ७ लाख ७४ हजार रुपैयाँ मात्र रहेको भेटिएको छ । 

कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार रविविरुद्ध सहकारी ठगी र संगठित अपराधमा ४ देखि ६ वर्ष तथा थप ५० प्रतिशत कैद र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो तथा त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार प्रहरीले बुझाएको अनुसन्धान मिसिलमा सूर्यदर्शन सहकारीबाट गितेन्द्रबाबु (जीबी) राईमार्फत लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा ७५ लाख जम्मा भएको तथा सूर्यदर्शन सहकारीमा नै रविको नाममा पेस्की जनाई ५० लाख गोरखा मिडियामा भुक्तान भएको प्रमाण भेटिएको प्रमाण प्रहरीले पेश गरेको छ ।

सूर्यदर्शनसहितका सहकारीको रकम अपचलन गरी रवि शेयरधनी तथा प्रबन्ध निर्देशक भएको समयावधिमा गोरखा मिडिया नेटवर्कमा २६ करोड १४ लाख ४४ हजार रकमान्तर भएको प्रमाण समेत प्रहरीले पेस गरेको छ । 

सोही प्रमाणलाई आधार बनाउँदै प्रहरीले रविविरुद्ध कुल २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो दाबी गरेको सरकारी वकिल कार्यालयका एक अधिकृतले लोकान्तरलाई बताए । 

ती अधिकृतले लोकान्तरसँग भने, ‘प्रहरीले रवि र निकिताको नाममा रहेका विभिन्न ७ वटा बैंक खाताको आर्थिक कारोबार नै उनका लागि गलपासो हुने देखिन्छ । सम्पत्ति शुद्धीकरणमा रवि उम्कने ठाउँ छैन ।’ 

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीले बुझाएको मिसिल अध्ययन गरिरहेको बताइन् । 

उनले भनिन्, ‘पहिला हामी मिसिल अध्ययन गर्छौं, मुद्दा चल्ने/नचल्ने निर्णय गर्छौं, आवश्यकता देखियो भने थप अनुसन्धान गर्न समेत प्रहरीलाई पठाउने हाम्रो अधिकार क्षेत्रभित्र पर्छ । अहिल्यै को दोषी करार हुनसक्छ वा सक्दैन भन्ने कुरा हुँदैन ।’ 

प्रहरीले बुझाएको मिसिलमा रविसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिश गरिएको छ । त्यस्तै, प्रतिवादीबाट १ अर्ब ५१ करोड असुल्न माग दाबी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्