२८ असार २०८३, आइतबार

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा, कात्तिक ३० गते रातभर दीपप्रज्वलन

कात्तिक २८, २०७४
पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा, कात्तिक ३० गते रातभर दीपप्रज्वलन

काठमाडौँ, २८ कात्तिक पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ । 

कात्तिक ३० गते बिहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन सत्विजारोपण व्यवस्थित रुपमा गर्न तयारी पूरा गरिएको हो । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुनसक्ने अन्य स्थानसमेत कोषको तर्पmबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन गरिएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । 

“रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि रु एक हजार तिरी कोषले नै कर्मचारी खटाई विगतमा झँै बत्ती बाल्ने व्यवस्था मिलाइएको छ । मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको, पिच गरेको स्थानमा सत्बीज नर्छन् र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ”– उहाँले भन्नुभयो । 

यस अवसरमा मादक पदार्थ एवं नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनको कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महँगा र भड्किला गरगहना एवं छालाका जुत्ताचप्पल नलगाउन सूचित गरिएको छ । 

भूकम्पका कारण देवालय, पाटी, पौवा सत्तल चिरा परी जोखिमपूर्ण अवस्थामा रहेकाले मानवीय क्षतिसमेत हुनसक्ने हुँदा त्यस्ता स्थानमा राति बत्ती बालेर बस्न निषेध गरिएको छ । खोजखबर कक्षको सञ्चालन र सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

मेलाका लागि एकीकृत सुरक्षा संयन्त्रअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार १०० को संख्यामा परिचालन गरिने प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । बाला चतुर्दशीका लागि नेपाली सेनाको समेत विशेष सहयोग लिइने छ । 

बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवं घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ । आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवं मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ । 

सतबीज् मार्ग सुधारसहित पर्व अघि र सम्पन्न भएपछि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै पशुपति सरसफाइ अभियानमा संलग्न संघसंस्थाको सहयोगमा मन्दिर प्राङ्गणभित्रको निरन्तर सरसफाइका लागि नेपाल एसविआई. बैंकको सहयोग लिइनेछ । 

पशुपति क्षेत्रको विशेष सफाइमा रहेको खेम्स क्लिनिङले बाला चतुर्दशीको अवसर पारेर विशेष सफाइ अभियान चलाउने खेम शर्माले बताउनुभयो । यस वर्षको महाशिवरात्रि अघि नै पशुपति क्षेत्रलाई चम्किलो बनाइने उहाँको प्रतिबद्धता थियो । 

मेलामा प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउँदै छ । 

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जंगलमा पर्ने सत्बीज मार्ग एवं नमोबुद्ध समेतमा पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई विद्युत् भार कटौती नहुने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

२०७४ मंसिर २ गते शनिबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म भगवान् श्रीपशुपतिनाथमा पहिरिने कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था कोषले मिलाएको सो अवसरमा जानकारी गराइयो । पूर्णप्रसाद मिश्र, रासस

salt training

कमेन्ट गर्नुहोस्