२४ असार २०८३, बुधबार
मूल्य अकासिएपछि उपभोक्ता मारमा

सिजनमै महँगियो तरकारी, राम्रो मूल्य पाएपछि किसान मक्ख !

पुस ८, २०८१
काठमाडौं
सिजनमै महँगियो तरकारी, राम्रो मूल्य पाएपछि किसान मक्ख !

काठमाडौंको नक्सालमा क्यान्टिन चलाउने आशिष पन्त तरकारी किन्न कलंकी पुग्छन् । अलि सस्तोमा तरकारी पाउने आशामा नक्सालबाट कलंकी पुग्ने गरेको उनले बताए । आइतबार बिहानै उनी कलंकीको तरकारी बजारमा भेटिए ।

उनले तरकारी किने । काउली र हरियो खुर्सानी १४०, सिमी १६०, हरियो धनियाँ १६० र टमाटर १०० रुपैयाँ प्रतिकिलोमा किने । ‘आज अलिक सस्तो पाइयो । दुई दिन अघिसम्म १७० देखि १९० सम्म काउली खरिद गरेका थियौं,’ पन्तले भने, ‘सबै तरकारी महँगो छ ।’

यस्तै, काठमाडौंकै रमेश भण्डारी तीनकुनेस्थित तरकारी बजारबाट तरकारी किन्छन् । तरकारीको भाउ त उस्तै हो । उनले पनि काउली प्रतिकिलो १४० रुपैयाँमा किनेको बताए  । ‘तरकारी साह्रै महँगो छ । अहिले त सिजन हो । सिजनमै यस्तो छ । अलि पछि कति महँगो होला ?' उनले प्रश्न गरे ।

पुसमा काउली, गोलभेँडा, आलुलगायत मौसमी तरकारीको मूल्य १०० देखि १५० रुपैयाँसम्म किनबेच भइरहेको छ । यसअघि यही समयमा यी तरकारीको औसत मूल्य २० देखि ५० रुपैयाँ हाराहारी हुन्थ्यो । मौसमी तरकारीहरू प्रायः अरूभन्दा सस्तै पाइन्थ्यो ।

गत (२०८०) पुस महिनाभरि स्थानीय काउलीको कारोबार हेर्ने हो भने कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो न्यूनतम १७ रुपैयाँदेखि ४५ रुपैयासम्म कारोबार भएको देखिन्छ । त्यस्तै, लोकल गोलभेँडा न्यूनतम १२ प्रतिकिलोमा कारोबार भएको देखिन्छ । गत वर्ष स्थानीय गोलभेँडाले प्रतिकिलो अधिकतम २२ रुपैयाँ मूल्य पाएको थियो ।

अहिले गोलभेँडाको मूल्य प्रतिकिलो अधिकतम् १०० रुपैयाँ छ । काउली प्रतिकिलो अधिकतम १३८ रुपैयाँसम्म छ ।

हिउँदमा १० रुपैयाँ प्रतिकिलो मूल्य नपाउने स्थानीय मुला ३०/३५ मा बिक्री भैरहेको काभ्रेपलान्चोकका किसान महेश बन्जारा बताउँछन् । उनका अनुसार अहिले किसानले मौसमी तरकारीको उचित मूल्य पाएका छन् ।

यसअघकिा वर्षभन्दा यसपालि किसानले गोलभेँडा, काउली, मुलालगायत मौसमी तरकारीको उचित मूल्य पाएको उनले बताए । ‘यस वर्ष किसानले राम्रो मूल्य पाइरहेका छन् । पोहोर १० रुपैयाँमा पनि मुला बिक्दैनथ्यो । अहिले ३५/४० छ,’ उनले भने, ‘गोलभेँडाले पनि २०/३० रुपैयाँमा पाउँथ्यो । अहिले ९० रुपैयाँ किलोसम्म पाइरहेका छौं ।’  

उनको खेतमा माघसम्म टमाटर रहने गर्दथ्यो । तर, यसवर्ष भने लगभग पुसमै सकिन लागिसकेको छ । बजारको मागअनुसारको आपूर्ति दिन नसकिएको उनले बताए ।

काउली प्रतिकिलो ७०/८० रुपैयाँको दरमा बिक्री गरिरहेको नुवाकोटका किसान राजकुमार ढुङ्गाना बताउँछन् । ढुङ्गानाका अनुसार बजार माग अनुसारको आपूर्ति गर्न मुस्किल भैरहेको छ । ‘अहिले किसानले बजार मूल्य पाएको अवस्था छ’, उनले भने, ‘विगतभन्दा बढी नै मूल्य पाएका छौं ।’

अहिले कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक एक सय टन आपूर्ति घटेको छ । बजार समितिका अनुसार यसअघि दैनिक ७ सय टनको मागअनुसार आपूर्ति हुँदै आएकोमा अहिले ६ सय टन मात्रै भित्रिरहेको छ । बजारमा माग अनुसारको आपूर्ति हुन नसकिरहेको समितिको भनाइ छ । यसै कारण मूल्य बढेको व्यापारी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्