
सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले अबको न्यायिक प्रक्रियालाई सघाउने निर्णय गरेको छ । सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि सोमबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
सबै नेता काठमाडौंमा उपलब्ध नभएपछि भर्चुअल (जुममार्फत् बसेको) बैठकले सभापतिमाथि अघि बढेको मुद्दाको न्यायिक प्रक्रियालाई सघाउने निर्णय गरेको जानकारी सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिए ।
‘आइतबारमात्रै सभापतिविरुद्ध मुद्दा गएको छ । यसको सुनुवाइ अब ४/५ दिनसम्म चल्ने बुझेका छौं,’ बैठकपछि बुर्लाकोटीले लोकान्तरसँग भने, ‘अदालतको प्रक्रियालाई सघाउनुपर्छ भन्ने निर्णय सचिवालय बैठकले गरेको छ । हामी न्यायिक प्रक्रियालाई पूर्ण रूपमा सघाएर अगाडि बढ्छौं ।’
रास्वपा सांसद समेत सम्मिलित संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा कारबाही सिफारिस गरेपछि लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई त्यसै राति पोखरा लगिएको थियो ।
रवि पक्राउ परेपछि रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै कास्की प्रहरी र जिल्ला अदालत अघि प्रदर्शन समेत गरेको थियो । उसले काठमाडौंमा समेत आन्दोलन गरेको थियो ।
तर, रविलाई म्याद थप्दै बयानका लागि विभिन्न जिल्ला लैजान थालेपछि पोखरामा आन्दोलनका कार्यक्रम हुन छाडे । रवि पक्राउ पर्नुलाई राजनीतिक प्रतिशोधका रूपमा अर्थ्याएको रास्वपाले ६६ दिनपछि बल्ल न्यायिक प्रक्रियालाई स्वीकार गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।
गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख र सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रविपत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको छ ।
प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा रविका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद तथा बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय दिएको छ ।
रविमाथि मुद्दा अगाडि बढेपछि शीर्ष नेतालाई उनले पोखरा बोलाएका थिए । उपसभापति डीपी अर्यालसहितका नेता पोखरा पुगेर फर्किएपछि रास्वपाको सचिवालय बैठक बसेको थियो ।
कार्यवाहक सभापतिको जिम्मा अर्याललाई
सभापतिमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा लागेपछि रास्वपाले कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोलप्रसाद अर्याललाई दिएको छ । सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएको जानकारी सहमहामन्त्री बुर्लाकोटीले दिए ।
‘सभापतिज्यूले ६ गते नै कार्यवाहकका लागि निर्णय गरेर नोट पठाउनुभएको थियो,’ भर्चुअल बैठकपछि सहमहामन्त्री बुर्लाकोटीले भने, ‘सभापति रवि लामिछाने र उपसभापतिद्वय डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेबीचको सहमतिमा कार्यवाहक सभापति टुंगो लगाएका छौं । डीपी अर्याल कार्यवाहक सभापति बन्नुभएको छ ।’
लामिछानेमाथि मुद्दा चलेपछि उनको सांसद पद निलम्बनका लागि प्रहरीले सभामुखलाई पत्र लेखिसकेको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम निज प्रतिवादी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ निर्वाचित संघीय सांसद (प्रतिनिधिसभा सदस्य) रहेकोमा ऐनको दफा (२२) बमोजिम मुद्दा दायर भएपश्चात सो मुद्दा किनारा नभएसम्म निज स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको ब्यहोरा समेत अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख छ ।
यो पत्रपछि सभामुखले निलम्बनबारे संसद् सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरेका छन् । सोमबार छलफलकै क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू सोविता गौतम, गणेश पराजुली लगायतले सभामुखलाई भेटेका थिए । सभामुखले आफू कानूनअनुसार अगाडि बढ्ने जवाफ दिएको उनको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले रास्वपाका नेताहरूले लामिछानेलाई निलम्बन नगरिदिन माग गरेको जानकारी दिए ।
‘उहाँहरूले सम्पत्ति शुद्धीकरणको मुद्दा भएकाले सांसद रवि लामिछानेलाई निलम्बन नगरिदिन सभामुखसमक्ष माग गर्नुभयो,’ अधिकारीले भने, ‘सभामुखले संविधान, नियम–कानूनमा जे छ, त्यहीअनुसार गर्छु भन्नुभएको छ ।’
रास्वपा सांसद सोविता गौतमले सभामुखलाई आएको पत्रबारे जानकारी माग्न गएको बताइन् ।
‘हाम्रो सभापतिको विषयमा आधिकारिक पत्र आएको छ कि छैन भनेर जानकारी लिन हामी सभामुखसमक्ष पुगेका थियौं, सभामुखबाट पत्र आएको जानकारी प्राप्त भयो,’ गौतमले लोकान्तरसँग भनिन्, ‘हामीले यस विषयमा निर्णय गर्दा संसद्को नियमावलीमा टेकेर गर्नुपर्छ, त्यसभन्दा बाहिरबाट गर्नुहुँदैन भनेर सभामुखको ध्यानाकर्षण गराएका छौं ।’
लामिछाने रास्वपाको संसदीय दलका नेता पनि हुन् । उनको सांसद पद निलम्बन भए रास्वपाले संसदीय दलमा पनि कार्यबाहक नेता तोक्नुपर्नेछ । संसद् सचिवालयले रविलाई निलम्बन गरे रास्वपाले उपनेता विराजभक्त श्रेष्ठलाई कार्यवाहक तोक्ने तयारी गरेको छ ।
