
अशोककुमार साह कोशी प्रदेशको भौतिक मन्त्रालयका सचिव हुन् । उनी सरकारी जागिरमा प्रवेश गरेको १५ वर्ष भयो । जागिर प्रवेश गर्दा उनले एकैपटक तीन ठाउँमा नाम निकालेका थिए । उनले तेस्रो पटकमा नाम निकालेका थिए ।
सप्तरीको खुरुङ्गा नगरपालिका–८ जन्मेका उनको आधारभूत तहको पढाइ भने गाउँमै भएको थियो । उनी सामाजिक विषय पढ्न चाहन्थे । तर, सोसाइटीले नगन्ने भएपछि उनले टेक्निकल विषय पढ्ने इच्छा गरे । आइएस्सी पढ्ने रहर गरे पनि त्यो पनि समस्या नै बन्यो ।
आइएस्सी सकेपछि बीएससी र एमएस्सी गर्न समय र खर्च पनि धेरै लाग्ने भएपछि उनी पछि हटे । ‘हामी ५ जना दाजुभाइबीच २ देखि ६ वर्षसम्मको मात्रै फरक हो । सबैले एकै पटक पढ्दा आर्थिक अवस्थाले धान्ने अवस्था थिएन । त्यति बेला चलन चल्तीमा वन विज्ञान (फरेस्टी ) र इन्जिनियरिङ पढ्दा छिटो जागिर भेटिन्छ भन्ने मानसिकताका कारण म पनि त्यतै लागें,’ उनले भने । दुई वटै विषयमा दिएको इन्ट्रान्स परीक्षामा उनले नाम निकाले ।
‘मैले उद्देश्य लिएर पढेको होइन । जागिर खानलाई टेक्निकल विषय पढ्नु पर्छ भन्ने थियो । टेक्निकलमा पनि वनमा इन्ट्रेस्ट भएर होइन । जुनमा चान्स पाइयो त्यसैमा पढ्ने भनेर हो,’ उनले भने, ‘वनमा भन्दा जागिर खानलाई इन्जिनियरिङ अझ सजिलो हुन्छ भन्ने लागेर हो ।’
चार दाजुभाइ पढ्न एकै पटक काठमाडौंमा गए । ४ महिना पुग्ने दालचामल उनीहरूले एकै पटक लिएर जान्थे । ‘६० किलो चामल, दाल र नबिग्रने तरकारी लिएर जान्थ्यौं । ४ महिना आफैंले पकाएर खान्थ्यौं । परीक्षाको बेला चाहिँ क्यान्टिनमा खान्थ्यौं । छुट्टीमा सबै जना घर आउँथ्यौं,’ उनले भने ।
उनीहरूले पुलचोक क्याम्पसमा पढेका हुन् । उनीहरू गाउँबाट सरकारी स्कुलमा पढेर गएका थिए । केही दिन त निकै समस्या भएको उनले सम्झिए । ‘केही दिन त विदेशमा गएर पढेजस्तो भयो,’ उनले हाँस्दै भने ।
प्रवीणता पत्र तह इन्जिनियरिङमा तीन वर्षे कोर्ष पूरा गरेपछि उनी जागिरको खोजीमा लागे । धेरै जना दाजुभाइ एकै पटक माथिल्लो लेबलमा पढ्दा आर्थिक संकटको सामना गर्नु परेकाले जागिर खाएको उनले बताए । एउटा प्रोजेक्टमा उनले करारमा जागिर शुरू गरे । रौतहटमा ९ महिना र सिन्धुपाल्चोक १० महिना काम गरेपछि उनले अर्काे प्रोजेक्टतिर हाम फाले । उनको तलब दुई हजार दुई सय मात्रै थियो ।
‘२०५१/५२ सालमा २२ सय तलब थियो,’ उनले भने, ‘एक वर्ष पछाडि अर्कै प्रोजेक्टमार्फत् जागिर खाने अवसर आएपछि त्यता गएँ । त्यहाँ १८ हजार तलब र अरू सुविधा पनि थियो ।’
रामो कमाइ भएपछि उनले पढाइलाई पनि निरन्तरता दिए । पढाइ छाडेर जागिर खाएको पाँच वर्षपछि फेरि पढाइलाई निरन्तरता दिन सकिँदैन भन्ने डर उनलाई थियो ।
त्रिभुवन विश्वविद्यालयअन्तरगतको काठमाडौं इन्जिनियरिङ कलेजबाट उनले २०५६ सालमा ब्याचलर पढ्न शुरू गरे । ‘त्यतिबेला मलाई धेरै कुरा जानेको छैनजस्तो लाग्थ्यो । कम पढेपछि त त्यस्तो लाग्ने भयो । अझ ज्ञान बढाउनुपर्छ भन्ने लागेर पढे । अहिलेसम्म निरन्तर पढिरहेको छु,’ उनले भने ।
त्यतिबेलासम्म उनी ३० वर्षका भइसकेका थिए । उनका साथीहरू पनि लोकसेवाको तयारीमा लागिसकेका थिए । स्नातक सकेपछि उनले निजीमै जागिर खाए। ६१/६२ तिर जागिर पाउन संकट नै थियो । इन्टर मिडिएट पढेर जागिर खाँदा साढे १८ हजारको जागिर खाएका उनलाई स्नातकपछि त्यत्तिकै जागिर पाउन पनि मुस्किल परेको थियो ।
उनी लोकसेवातिर लागे । पहिलो र दोस्रो परीक्षाले आफ्नो लेबल नाप्ने काम मात्रै गरेको उनले बताए । समाजशास्त्र पढ्ने उनको सानैदेखिको रहर थियो । उनले पाटन क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरे ।
समाजशास्त्रमा मास्टर गरेपछि केही गर्न सकिन्छ भन्ने आँट आएको उनले बताए । तेस्रो पटक परीक्षा दिँदा भने उनले तीन ठाउँमा एकै पटकमा नाम निकाले ।
उनी जनयुद्धको समयमा खोटाङ, अछाम, ताप्लेजुङलगायत जिल्लामा बसे । डीईबाट एकै पटकमा उनी सिनियर डिभिजनल इन्जिनियर (सीडीई) भए । प्रशासनतिर पनि उपसचिवमा लिखितमा नाम निकालेका थिए तर, मौखिकमा सफल भएनन् ।
अहिले सुपरिटेन्डेन्ट इन्जिनियर छन् । उनले सीडीई भएर सिँचाई मन्त्रालयमा काम गरे । ५ वर्षपछि सिनियर डिभिजनल इन्जिनियरमा उनले प्रतिस्पर्धा गरे । द्वन्द्वकालमा भने बिताएको क्षण रोचक छ । उनी अछाम बजारमा बस्थे । उनी बस्ने एरिया माओवादीको सेल्टर थियो । राति भात पकाउन लगाउँछन् भनेर मानिसहरू ५ बजे नै पसल बन्द गरेर हिँड्थे । ‘बसेको चार दिनपछि पो थाहा पाएँ बजारमा राति सुत्ने त एक्लै रहेछु । मलाई खाना पकाइदिनेहरू ५ बजे नै खाना दिएर गइहाल्थे,’ उनले भने ।
उनी खोटाङमा हुँदा तत्कालीन माओवादीले योजना रोके । योजना खुलाउने विषयमा एक रात माओवादीसँगै बसेको उनले बताए । ‘त्यति बेला डर चाहिँ लागेको थियो । तर, उनीहरूले नै बोलाएकाले केही भएन । मोहन खड्का जनसरकार प्रमुख हुनुहुन्थ्यो । पछि माननीय भएर प्रदेशमै आउनुभयो । दुवै जनाले पहिलाको स्मरण पनि गर्यौं ।’
महाशाखा प्रमुख हुँदै उनी अहिले सचिव भएका छन् । उनका बुबा हरिनारायण शिक्षक थिए । उनी शिक्षा प्रेमी थिए । हरिनारायणले विद्यालय नजाने बालबालिकालाई घरघरमै गएर विद्यालय लिएर जान्थे ।