
बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’का लागि कथा अनुरूप कालीमाताको भव्य मूर्ति तयार पारिएको छ । उक्त मूर्तिलाई मोरङको हसिना सिमसार बूढासुब्बा मैदानमा स्थापित गरिएको छ ।
दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो मूर्ति निर्माण गरेर स्थापना गरिएको चलचित्रका निर्देशक सन्तोष सेनले बताए ।
नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि भारतको कलकत्तामा गएर त्यहाँका कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको निर्देशक सेनले बताए ।
‘बलिदान चलचित्रका लागि हामीलाई एउटा अद्वितीय देवीको मूर्ति चाहिएको थियो । कथाको मागअनुसार, दानव प्रवृत्तिको संहार गर्ने प्रतीकका रूपमा देवी काली र तिनको रौद्र/चण्डी स्वरूपलाई दर्साउने एउटा विशाल मूर्ति’, सेनले भनेका छन्, ‘देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहना अनुसारको मूर्ति पाएनौं । अन्ततः हामी भारतको कलकत्ता पुग्यौं । त्यहाँका कुशल कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गर्यौं । यो एउटा चुनौतीपूर्ण यात्रा थियो ।’
मूर्ति स्थापित गरिएपछि बूढासुब्बा मैदान ‘काली चौर’का नामले प्रख्यात हुन थालेको छ । अहिले यहाँ एउटा ठूलो मञ्च र २०० भन्दा बढी स्टलहरू छन् ।
‘यसले स्थानीयलाई रोजगारी दिएको छ भने यहाँ एउटा मिनी बजार पनि सञ्चालन भइरहेको छ । यहीँबाट हामी ‘बलिदान’का विशेष दृश्यहरू खिच्दैछौं’, सेनले भने ।
अब केही समयपछि टिजरसहित चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने निर्देशक सेनले जानकारी दिए । चलचित्रको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।
आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।