०१ साउन २०८३, शुक्रबार
विशेष स्टोरी

प्रहरीमा २८ हजार दरबन्दी थप्ने प्रस्ताव गृहमा अलपत्र– उपत्यकादेखि प्रदेशसम्मै अपुग

हजारभन्दा बढी भीआईपीको सुरक्षामा, अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी
पुस २५, २०८१
काठमाडौं
प्रहरीमा २८ हजार दरबन्दी थप्ने प्रस्ताव गृहमा अलपत्र– उपत्यकादेखि प्रदेशसम्मै अपुग
प्रहरीमा रिक्त र थप्नुपर्ने दरबन्दीको संख्या दर्जाअनुसार

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रहरी दरबन्दी संख्या १ हजार ११३ हो । तर, अहिले त्यहाँ १ हजार ८३५ जना कार्यरत छन् । 

उपत्यकामा बढ्दो सवारीको चाप र सडक अनुपात नमिल्दा ट्राफिक प्रहरीले प्रविधि (सीसीटीभी, ट्राफिक लाइट लगायत)लाई मात्रै प्रयोगमा ल्याएर व्यवस्थापन गर्न सक्ने अवस्था छैन । दिनदिनै निकालिने ‘चेकिङ’ मा ‘म्यानुअली’ नै ट्राफिकले कारबाही गर्दै आएको छ । 

उपत्यकामा अहिले १५ लाखभन्दा बढी सवारीसाधन गुडिरहेका छन् । कार्यरत ट्राफिक प्रहरीको संख्या हेर्दा एकजना ट्राफिक प्रहरीले ८ सय १७ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने देखिन्छ । थोरै दरबन्दीका बावजुद प्रहरीलाई नै ट्राफिकसम्बन्धी तालिम दिएर फिल्डमा खटाइएको छ । 

काठमाडौंमै रहेको अर्को कार्यालय काठमाडौं जिल्ला प्रहरी परिसरको दरबन्दी ४ हजार १६ हो । तर, एसएसपीको कमान्डमा ३ हजार ३ सयको हाराहारीमा मात्रै प्रहरी कार्यरत छन् । राष्ट्रिय जनगणना अनुसार काठमाडौंको जनसंख्या २० लाख ४२ हजार हाराहारीमा छ । जनसंख्या र प्रहरी संख्याको अनुपात हेर्दा १ जना प्रहरीले ६२ जनाको सुरक्षा दिनुपर्ने हुन्छ । त्यसो त काठमाडौंमा अपराधका घटना वृद्धि हुँदै गएका छन् । विशेषगरी आर्थिक अपराध र त्यसमा साइबरको प्रयोगबाट हुने अपराध नियन्त्रणमा चुनौती उत्तिकै देखिन्छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको दरबन्दी संख्या ३ सय २३ जना हो । कार्यरत संख्या भने ३ सय मात्रै छ । चोरी, लुटपाट, कुटपिट, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, ठगीजस्ता अपराध अनुसन्धानमा दख्खल राख्ने अनुसन्धान अधिकृतको पनि कमी छ । 

सिंगो प्रशासन र संघीय सरकारी कार्यालय रहेको काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीमा अहिले ७९ हजार ५ सय ४१ जनाको दरबन्दी छ । तर, कार्यरत संख्या ७४ हजार ८ सय ६७ जना मात्र छ । 

अझै २८ हजार दरबन्दी आवश्यक रहेको भन्दै प्रहरी मुख्यालयले संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी गृह मन्त्रालयमा परिपत्र गरेको छ । 

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले प्रहरी मुख्यालयले ओएनएम गरेर गृह मन्त्रालयमा परिपत्र गरिएको लोकान्तरलाई बताए । 

उनले भने, ‘हामीले कहाँ कति दरबन्दी आवश्यक छ भनेर ओएनएम गरी विवरण गृह मन्त्रालयमा पठाएका छौं । मन्त्रालयले होमवर्क गरिरहेको होला भन्ने हाम्रो अपेक्षा छ ।’ 

गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी निरीक्षक, असई र जवानको भर्ना खुलाएर दरबन्दी पूर्ति गर्ने काम भइरहेको बताए । उनले भने, ‘एकैपटक सबै दरबन्दी पूर्ति गर्न सकिँदैन, विस्तारै गर्ने हो । आवश्यकता र औचित्यका आधारमा मात्रै दरबन्दी पूर्ति गर्दै जान्छौं ।’ 

प्रहरी मुख्यालयका एक उच्च अधिकृतका अनुसार भीआईपी (पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री र पूर्व सांसद)को सुरक्षाका लागि छुट्टै प्रहरी परिचालन मात्रै नभएर पीएसओ समेत प्रहरी नै खटाउँदा दैनिक कामकाजमा प्रहरीको अभाव खट्किएको हो । त्यस्तै, संसद् चल्दा र समितिहरू चल्दा समेत मर्यादापालकको रूपमा समेत प्रहरी खटाइँदै आएको छ । 

प्रहरी मुख्यालयका अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७  अनुसार १ हजार २ सय ५९ जना सुरक्षाकर्मी भीआईपीको सुरक्षामा खटिएका छन् ।

null

सातवटै प्रदेशमा दरबन्दी अपुग

प्रहरी मुख्यालयका अनुसार सातवटै प्रदेशमा दरबन्दी अनुसार प्रहरी अपुग छन् । कोशी प्रदेशमा कूल १० हजार ७ सय १७ जनाको दरबन्दी हो । तर, कार्यरत संख्या १० हजार ४० मात्रै छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी बाहेक एसएसपीदेखि प्रहरी कार्यालय सहयोगीसम्मको दरबन्दी कम छ । सिनियर प्रहरी अधिकृतहरू दरबन्दी अनुसार नहुँदा प्रहरी खटन–पटनमा समस्या छ । 

मधेश प्रदेशको कुरा गर्दा त्यहाँ ९ हजार १ सय ५२ जनाको दरबन्दी छ । तर, कार्यरत संख्या ८ हजार ८ सय २६ मात्रै छ । बागमतीमा ७ हजार ३ सय ४ जनाको दरबन्दीमा ६ हजार ६ सय ८७ जना, गण्डकीमा ६ हजार ७ सय ४५ जनाको दरबन्दीमा ६ हजार ३ सय ४ जना कार्यरत छन् ।

त्यस्तै, लुम्बिनीमा ९ हजार ४ सय ४४ जनाको दरबन्दीमा ८ हजार ८ सय २७ जना, कर्णालीमा ५ हजार ४ सय ४५ जनाको दरबन्दीमा ५ हजार १ सय २४ जना र सुदुरपश्चिममा ५ हजार ९ सय १ जनाको दरबन्दीमा ५ हजार ६ सय ३३ जना मात्रै कार्यरत रहेको प्रहरी मुख्यालयले जनाएको छ । 

प्रदेशमध्ये धेरै दरबन्दी रहेको कोशी हो । तर समग्रमा सबैभन्दा धेरै दरबन्दी प्रहरी प्रधान कार्यालयकै देखिन्छ । मुख्यालयमा १३ हजार ७२ जनाको दरबन्दी छ । तर, कार्यरत संख्या १२ हजार २ सय ९० छ ।

मुख्यालयको प्रत्यक्ष मातहत केन्द्रीय अनुसन्धान ब्यूरो, साइबर ब्यूरो, मानव बेचबिखन ब्यूरो पर्छन् । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय र त्यसअन्तर्गतका प्रहरी परिसर, वृत्त, प्रभागलगायत कार्यालयमा काम गर्ने प्रहरीको दरबन्दी संख्या ११ हजार ७ सय ४९ जना रहेको छ । तर, कार्यरत संख्या ११ हजार १ सय ३६ जना छ । 

नयाँ कार्यालय स्थापनाका लागि १६ हजार दरबन्दी आवश्यक

प्रहरी मुख्यालयका अनुसार काठमाडौं उपत्यकासहित सातवटै प्रदेशमा नयाँ प्रहरी युनिट स्थापनाका लागि १६ हजार ४ सय ४ जनाको दरबन्दी आवश्यक रहेको छ । प्रहरी निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी (प्रकास)सम्मको दर्जा समेटिएको छ ।

प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालय हुँदै प्रहरी मुख्यालयमा आएको परिपत्रअनुसार नयाँ प्रहरी युनिट स्थापनका लागि यो दरबन्दी आवश्यक परेको जानकारी प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले दिए । 

उनका अनुसार कोशीमा ४ हजार ५ सय २२, मधेश प्रदेशमा १ हजार ७ सय ४९, बागमतीमा १ हजार नौ सय ९७, गण्डकीमा १ हजार ३ सय ३५, लुम्बिनीमा २ हजार ७ सय ७९, कर्णालीमा १ हजार ३ सय ९४, सुदूरपश्चिममा २ हजार ३ सय ३३ र काठमाडौं उपत्यकामा २ सय ९५ जनाको दरबन्दी आवश्यक रहेको छ । 

स्तरवृद्धिका लागि झण्डै ११ हजार दरबन्दी आवश्यक 

प्रहरी मुख्यालयका अनुसार जनघनत्व र अपराधको प्रकृति अनुसार प्रहरी कार्यालयको स्तरवृद्धि गर्नुपर्ने देखिएको छ । गृह मन्त्रालयसँगै प्रदेश प्रहरी कार्यालयबाट समेत स्तरवृद्धिका लागि निवेदन परेका छन् ।

जसअनुसार स्तरवृद्धिका लागि उपत्यकासहित सातवटै प्रदेशमा कूल १० हजार ९ सय ४ जनाको दरबन्दी आवश्यक देखिएको छ । स्तरवृद्धिका लागि डीएसपीदेखि प्रहरी कार्यालय सहयोगीसम्मको दर्जा समेटिएको छ । 

प्रहरी प्रवक्ता अधिकारीका अनुसार स्तरवृद्धिका लागि कोशी प्रदेशमा १ हजार ९ सय ६५ जना, मधेश प्रदेशमा १ हजार ९ सय ७१, बागमती प्रदेशमा १ हजार ८ सय ५९, गण्डकी प्रदेशमा १ हजार १ सय ६९ जना, लुम्बिनी प्रदेशमा १ हजार १ सय ७८ जना, कर्णाली प्रदेशमा ९ सय ६८ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ७७ जना र उपत्यका प्रहरी कार्यालयमा ३ सय १७ जना जनशक्ति आवश्यक रहेको छ । 

प्रहरीमा रिक्त र थप्नुपर्ने दरबन्दीको संख्या

एआईजी– २

डीआईजी – २

एसएसपी – २४

एसपी – १५

डीएसपी – ७७

इन्स्पेक्टर – ३०४

वरिष्ठ सई – २८७

सई – ५३८

असई – २,९६९

वरिष्ठ हवल्दार – १,८४२

हवल्दार – ४,२७५

सहायक हवल्दार –  ४,५९१

जवान – १५,५३९

प्रकास – १,६२७

कुल : ३२,०८४

salt training

कमेन्ट गर्नुहोस्