पेट्रोलियम पदार्थ अन्वेषणमा नेपालले उपलब्धि हासिल गरेको छ ।
दैलेखको भैरवी गाउँपालिकामा गरिएको ड्रिलिङमा प्राकृतिक ग्यास भेटिएको छ भने पेट्रोल समेत फेला पर्नेमा खानी तथा भूगर्भ विभाग आशावादी देखिएको छ ।
दैलेखमा ४ हजार १३ मिटर खन्दा पेट्रोलियम पदार्थ भेटिने संकेत मिलेको हो । ४ हजार मिटर गहिराइबाट निकालिएको पदार्थलाई परीक्षणका लागि चीन पठाइएको छ ।
दैलेखमा पेट्रोल भए/नभएको ४ महिनामा थाहा हुने खानी तथा भूगर्भ विभागका प्रवक्ता मोनिका झाले जानकारी दिइन् । वैशाख २८, २०८१ बाट ड्रिलिङ गरिएकोमा ९ महिनामा लक्षित ४ हजार मिटर ड्रिल गर्न सफल भएको हो ।
नेपालमा ५० वर्षदेखि अध्ययन शुरू भएकोमा अहिलेको उपलब्धि हासल भएको झाले बताइन् । २०४५ सालमा मोरङमा ३ हजार मिटर ड्रिल गरिएकोमा त्यहाँ पेट्रोलियम पदार्थ फेला नपरेपछि रोकिएको थियो ।
‘दैलेखको भैरवी गाउँपालिकामा गरिएको ड्रिलिङले आशावादी बनाएको छ । २७ सय मिटरमा प्राकृतिक ग्यास भेटियो,’ विभागकी उपमहानिर्देशक समेत रहेकी झाले लोकान्तरसँग भनिन्, ‘स्पाम्पलका आधारमा त्यहाँ ग्यास प्रचुर मात्रामा रहेको देखियो, त्यहाँ बलिरहेको अखण्ड ज्योतिले पनि इन्डिकेट गरेको थियो ।’
प्रयोगशालामा परीक्षण गरेर ४ महिनामा रिपोर्ट प्राप्त गरेपछि व्यावसायिक उत्पादन गर्न सम्भव हुने/नहुनेबारे निर्क्यौल हुने उनले बताइन् ।
‘प्राकृतिक ग्यास रहेको पाइयो । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ,’ उनले भनिन् ।
कति परिणाममा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लागेपछि मात्र व्यावसायिक उत्पादनका लागि अध्ययन हुनेछ । बजारमा उपलब्ध हुने इन्धनभन्दा प्रतियुनिट लागत कम भएको खण्डमा मात्र यसको व्यावसायिक उत्पादन हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक उत्खननको कामलाई अगाडि बढाइने बताएका छन् ।
‘दैलेखको भैरवी गाउँपालिका– १ स्थित जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन् गरी पेट्रोलियम पदार्थको नमूना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खननको काम अघि बढाइने छ,’ ओलीले पुस २० गते सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
ड्रोन भिडियोमा हेर्नुहोस्, पेट्रोल उत्खननमा भएको उपलब्धि :