०४ साउन २०८३, सोमबार

शैक्षिक गुणस्तर सुधार्न सूर्योदयमा ‘१२ महिना, १२ कार्यक्रम’

माघ २, २०८१
इलाम
शैक्षिक गुणस्तर सुधार्न सूर्योदयमा ‘१२ महिना, १२ कार्यक्रम’

इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ शुरू गरेको तीन वर्ष पुगेको छ । कार्यक्रम अन्तर्गत ‘गणितसँग खेलौं, गणितीय धारणा बसाऔं’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जानकारी दिए । उनका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन् । 

‘यी कार्यक्रमले विद्यालयबीच स्वास्थ्य प्रतिस्पर्धा बढाएको छ । विद्यार्थीको अतिरिक्त क्रियाकलापमा क्षमता मापन गरिने भएकाले क्षमता वृद्धि भइरहेको पाएका छौ’, नगर प्रमुख राईले भने । 

‘गणितसँग खेलौं, गणितीय धारणा बसाऔं’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १० का विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै आइएको नगरप्रमुख राईले बताए ।

‘कक्षा ८, ९ र १० मा दश हजार चार सय ४३ विद्यार्थी छन् । एक पटक तीन वटाका दरले कापी दिँदा सबै विद्यार्थी उत्साहित भई अभ्यास गर्छन् । वर्षमा तीन पटक वितरण गरिरहेका छौं”, उनले भने, ‘फुर्सद मिलाएर सबै विद्यालयमा पुग्ने गरेको छु । पछिल्लो समय अधिकांश विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्न छोडेका छन् ।’

कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक तथा विद्यार्थीले प्रतिक्रिया दिएका छन् । सूर्योदय–१० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा विन्दा ढुङ्गेलले पहिले निकै गाह्रो लाग्ने गणित विषय आजभोलि सजिलो लाग्न थालेको बताइन् । 

‘पहिले पास गर्नै गाह्रो हुन्थ्यो । अहिले नगरप्रमुख स्कुलमा आएर तीन वटा कापी दिँदै एक महिनामा सक्नुपर्छ भन्नुहुन्छ । धेरै अभ्यास भइरहेकाले होला, आजभोलि गणित सजिलो लाग्छ’, विन्दाले भनिन् । उनी मात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थीले गणित सजिलो लाग्न थोलेको बताउँछन् ।

१२ महिना १२ कार्यक्रम अन्तर्गतका सबै कार्यक्रम प्रभावकारी भइरहेका शिक्षक बताउँछन् । हिमालय माध्यमिक विद्यालय गोर्खेका शिक्षक विशाल मास्केले भने, ‘वर्षको एकपटक नगरका सबै विद्यालयका विद्यार्थी भेला गरेर विज्ञान र गणित प्रदर्शनी गर्ने गर्दछौं । प्रतिभाको खोजी कार्यक्रम अन्तर्गत लुकेका कला, क्षमता प्रस्फुटन गराउन प्रतियोगिता गराइन्छ । हरेक महिना फरक किसिमका खेलकुद प्रतियोगिता सञ्चालन हुन्छन् ।’

परीक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न शुरू गरिएको अभियान प्रभावकारी बन्दै गएको नगरप्रमुख राईले बताए । ‘पहिला गणितलाई अप्ठ्यारो ठान्ने विद्यार्थी अहिले सजिलो छ भन्न थालेका छन् । नतिजामा पनि विगतमा भन्दा सुधार आएको छ’, उनले भने, ‘हामीले अङ्ग्रेजी, गणित र विज्ञान विषय प्राथमिकतामा राखेर सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएका छौं । कोरोना कहरका बेला विद्यार्थीको पढाइमा ठूलो क्षति पुगेपछि नतिजा सुधार्न अभियान शुरू गरेका हौं ।’

सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ । यहाँबाट उत्पादन भएका जनशक्तिलाई नगरले कम्तीमा एक सय दिन रोजगारी दिइरहेको छ । नगरले दुवैखाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड निःशुल्क दिएको नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले बताए । 

नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दा विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ ।  

नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालयमा गरी ११ हजार छ सय १२ विद्यार्थी छन् । शिक्षा शाखाका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दीमा छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन् । 

यीबाहेक विद्यालयले निजी स्रोतबाट समेत शिक्षक राखेको छ । सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेस्रो र मुलुकको दशौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो । 
 

salt training

कमेन्ट गर्नुहोस्