
बुटवलमा रहेको सुप्रिम सहकारी ठगीको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
रूपन्देही जिल्ला अदालतमा आइतबार अभियोजन पत्र दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले लोकान्तरलाई जानकारी दिइन् ।
अभियोजन पत्र दायर गरिएको र दर्ताको प्रक्रियामा रहेको उनले बताइन् । सहकारीको पैसा गोरखा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको भन्दै प्रहरीले लामिछानेसँग बयान लिएको थियो ।
यसअघि सहकारीका व्यवस्थापकसहितलाई मुद्दा दायर भइसकेकोमा लामिछानेविरुद्ध पूरक अभियोजन गरिएको हो ।
बुटवललमा रहेको सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ९४ लाख रुपैयाँ रकम आएको थियो । तर, लामिछानेले सो रकमबारे आफूलाई जानकारी नभएको बताउँदै आएका छन् ।
यसअघि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालत र स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिसकेको छ ।
दुवै अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेका थिए ।
सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन हिरासत बसाइपछि पुस २५ गते रिहा भएका थिए ।
त्यसपछि पनि उनी काठमाडौं जिल्ला अदालतको आदेशले ३ दिन थुनामा बसेका थिए ।