३० जेठ २०८३, शनिबार
सुन्तलाले फेर्दै गाउँको परिचय

सुन्तलाले फर्काउन सक्छ रित्तिएका पहाडी बस्तीमा बहार– सिजनमै २५ लाख आम्दानी

माघ ८, २०८१
बुटवल
सुन्तलाले फर्काउन सक्छ रित्तिएका पहाडी बस्तीमा बहार– सिजनमै २५ लाख आम्दानी

अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ सिम्लेका किसान खगेन्द्र पौडेल माघ लागेसँगै सुन्तला टिप्ने काममा व्यस्त छन् ।

बिहान खाना खाइनसक्दै बुटवलबाट आएका सुन्तला व्यापारी तथा ठेकेदारले घरनजिकै आइपुगेर हर्न बजाउँछन् । प्रतिकेजी ९० रुपैयाँमा सुन्तला बेचिरहेका खगेन्द्रको बगैँचामा यो वर्ष झण्डै २५० क्विन्टल सुन्तला फलेका छन् ।

‘गत वर्षभन्दा यो वर्ष राम्रो फलेको छ,’ खगेन्द्रले खुशी हुँदै भने, ‘गएको साल २२ लाखको सुन्तला बचेको हुँ । अहिले २५ लाख रुपैयाँसम्म आउँछ कि भन्ने लागेको छ ।’

उनको बगैँचामा ७०० वटा सुन्तलाका बोटमध्ये अहिले ५०० बोटमा राम्रोसँग फल लागेको छ । ‘सुन्तला जति ढिलोसम्म रूखमा राख्न सक्यो उति महंगो पर्दै जान्छ,’ गाउँका एग्रोभेट सञ्चालक समेत रहेका खगेन्द्र सुनाउँछन्, ‘अर्को वर्ष सबै बोटले उत्पादन दिँदा अझै कमाइ बढ्नेछ । गत वर्ष चिस्यान केन्द्र (कोल्ड स्टोर) मा पठाउँदा कुहिएर खेर गयो । यो वर्ष त्यता झञ्झट गरिएन, सिधै बिक्री गरियो । खुसी छु । यहीँ आनन्द छ । मन खुसी छ । मलाई त पशुपति शर्माले गाएको गीतझैँ अमेरिका पनि यहीँ, जापान पनि यहीँ छ ।’ 

null

खगेन्द्रजस्तै सिम्लेका ४५ घरधुरी व्यावसायिक सुन्तला खेतीमा रमाइरहेको छ, जसबाट बर्सेनि ७ करोड नगद गाउँ भित्रिनुका साथै बसाइँसराइ रोकिएको छ । 

‘२५ लाखलाई ‘डिभाइड’ गर्दा सबै खर्च बचाएर पनि मासिक डेढ लाखभन्दा बढी बच्छ । समग्र कमाई त मासिक २ लाखभन्दा बढी भएन र ?’ पौडेलले भने ।

सिम्लेसहित पोखराथोक, पटौती, पणेनालगायतका ठाउँमा पहेलपुर सुन्तला पाकेको देखिन्छ । सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै जिल्लाका कृषक खुशी छन् । 

खगेन्द्रसँगै सोही वडाको पोखराथोकका चिरञ्जीवी पौडेलले २८ लाख, भस्कर पौडेलले ८ लाख रुपैयाँ सुन्तला बिक्रीबाट यही सिजनमा हात पारे । पाणिनी– १ अहिले मौसमी फल सुन्तलाको ‘सुपर जोन’ बनेको छ । 

null

****

गुल्मीको धुर्कोट गाउँपालिका– २ पिपलधाराका विष्णुप्रसाद खनालको २९ रोपनी जग्गामा १ हजार १०० सुन्तलाका बोट छन् । तीमध्ये यो वर्ष ८०० बोटमा फल लाग्यो । खनालले यो सिजनमा १५ लाख रूपैयाँको सुन्तला बिक्री गरे । 

‘हामीले अलि छिटो बिक्री गरियो । गत वर्ष ५० रूपैयाँ परकेजीले बिक्री गरेको थिएँ । अहिले ६० मा किन्न आए । मंसिर र पुस तेस्रो सातासम्ममा बेचेर सकियो । लामो समय राख्दा बाँदरबाट जोगाउन पनि हम्मे–हम्मे भयो ।’

गाउँको गणेश माविका स्थायी शिक्षक समेत रहेका उनी बिहान–बेलुकाको समय सुन्तला खेतीलाई दिने गर्छन् । 

‘मलाई त सुन्तलाले दिने खुसीभन्दा बढी अरू केही छैन । छोराछोरी पढ्न शहर/बजार झरे पनि हामी झर्दैनौं । १५० घरधुरीमध्ये ३० घर बाँकी छौं । सबै सुन्तला खेतीमा रमाइरहेका छौं । बचेका हामी अब कहीँ नचल्ने भनेर एकमत भएका छौं ।’

धुर्कोटको नयाँ गाउँ, पिपलधारा, हाडहाडे, रजस्थल अहिले सुन्तला खेतीको ‘हब’ बनेको छ । गुल्मीमा यो वर्ष फुल्ने बेलामा असिनाले केही क्षति पुर्‍यायो । तर, पनि उत्पादन अपेक्षाकृत हुँदा किसान दंग देखिन्छन् ।

null

गर्जो टार्ने हिसाबले भन्दा व्यावसायिक रूपमा लागेमा सुन्तलामा ठूलो सम्भावना देखिएको खनालको भनाइ छ । गुल्मीका १२ स्थानीय तहका ९३ वडामध्ये ४५ वडामा सुन्तला खेती रहेको कृषि ज्ञान केन्द्र गुल्मीको तथ्यांक छ ।

३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू छ । सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँ गाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृंङ्गा, रेसुंगा नगरपालिकाको भाडगाउँ, रुरु क्षेत्रको मुसीडाँडा, चौतारा, मुसीकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी र जयखानी, चन्द्रकोटकोे रेमी र सत्यवती तथा मदानेको भनभने मुख्य पकेट क्षेत्रका रूपमा रहेको जिल्लाका वरिष्ठ बाली विकास अधिकृत प्रकाश मरासिनीको भनाइ छ ।

मरासिनीका अनुसार समग्रमा यो वर्ष गुल्मीमा ४ प्रतिशतले उत्पादन बढेको छ । गुल्मीमा यो वर्ष सुन्तला बिक्रीबाटै किसानले २० करोड आम्दानी गरेका छन् । 

null

‘गुल्मीको धुर्कोटस्थित ‘कोल्ड स्टोर’मा सुन्तला राखेका किसानको दुई वर्षसम्म क्रमशः १० र ५० प्रतिशतसम्म सुन्तला क्षति भयो,’ अधिकृत मरासिनी भन्छन्, ‘कोल्ड स्टोर सञ्चालनसम्बन्धी प्राविधिक ज्ञानको कमी, टिपाइको तरिका, पाक्ने समय आदि कारणले नोक्सान भएको थियो ।’ 

****

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ४ अमलाबासकी कमला कंडेल १०० क्विन्टल सुन्तला प्रतिकेजी ९० रूपैयाँमा बिक्री गर्ने तरखरमा छिन् । रूखले धान्न नसक्ने गरी फलेको सुन्तला बगैँचामा टेको लगाएर राखिएको छ ।

‘चाँडो बेचेको भए मूल्य पर्दैनथ्यो,’ कमला भन्छिन्, ‘हामीले बल्ल बिक्री शुरू गरेका छौं । यो वर्ष १०/१२ लाख आम्दानी हुन्छ भन्ने लागेको छ । १३ रोपनीमा सुन्तलाको बगैँचा छ । हाम्रोमा एउटा बोटमा २५० केजीसम्म सुन्तला फलेका छन् ।’

null

श्रीमान दुर्गाप्रसाद कँडेल गाउँको एउटा गैरसरकारी संस्थामा काम गर्छन् । कमला सुन्तलाको स्यहारसुसार गर्छिन् । दुर्गाले पनि बिहान/बेलुकाको समयमा सघाउँछन् ।

‘सुन्तला खेतीबाट पूर्ण सन्तुष्ट छौं । सुन्तला एक वर्ष अलि बढी र अर्को वर्ष कम फल्ने रहेछ । हामीले माघ तेस्रो हप्तासम्ममा सुन्तला बेचिसक्छौं,’ कंडेलले भनिन् ।

‘अहेव’ र कृषि ‘जेटीए’ समेत अध्ययन पूरा गरेकी कमला राजनीतिक कारणले जागिर नपाएपछि सुन्तला खेतीमा लागेकी थिइन् । अहिले साँच्चै सही बाटो समाइएछ भन्ने उनलाई लागेको छ ।

‘विदेश गए पनि पैसा फल्ने होइन, यही घरमा परिवारसहित बसेर मासिक १ लाखसम्म कमाइ भएपछि के चाहियो ?’ उनले उत्साहका साथ भनिन् ।

null

रैनादेवी छहराको अमलाबासका ३२ घर अहिले पूर्णरूपमा व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । कँडेल परिवारले जस्तै उनीहरूले पनि सुन्तला बिक्रीबाट यो सिजनमा कम्तीमा ७/८ लाख रूपैयाँ घर भित्र्याउँदै छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँची, गुल्मी, पाल्पा र प्यूठानमा अहिले सुन्तला खेती फस्टाएको छ । कात्तिकदेखि माघसम्म चार महिनालाई सुन्तलाको मूल सिजन मानिन्छ । यो वर्ष गुल्मीबाट अहिलेसम्म ७ हजार ७१८.४ मेट्रिक टन सुन्तला निर्यात भएको छ । 

मल, सिँचाइ तथा सुन्तलाको बोट काँटछाँट गर्नुपर्छ । कृषकले सुन्तलाको बगैँचामा बिरुवा नै रोप्ने गरेका छन् । कलमी गरेको बोटले भन्दा बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिरुवा लगाउँदै आएका हुन् । 

null

‘सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । नेपालमा पछिल्लो समय सुन्तला उत्पादन बढ्दो छ । सुन्तला निर्यातमा राज्यले नीति बनाउन सकेको छैन’ कृषक भाष्कर पौडेल भन्छन्, ‘राज्यले अब निर्यातमा ध्यान दिनुपर्छ । भारतीय आयात रोक्ने र आफ्नो उत्पादन निर्यात गर्ने वातावरण चाहिन्छ । त्यसका साथै बाँदरको आतंक पनि रोक्नुपर्ने आवश्यकता छ ।’

लुम्बिनीका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानमा झण्डै १ अर्बको सुन्तला उत्पादन हुने गर्छ । अर्को वर्ष १ अर्ब १० करोड पुग्ने कृषकहरूको अपेक्षा छ । प्यूठानमा गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादन बढेर २ हजार ४६७ मेट्रिक टन पुगेको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । गत वर्ष २ हजार ३३५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । प्युठान नगरपालिका– १० छेपाने, झिमरुक गाउँपालिकाको चुधारा र तुषारा क्षेत्रमा सुन्तला खेती गरिन्छ । 

null

सुन्तला ढुवानीका लागि समस्या हुने गरेको छ । व्यवस्थित गाडी नहुँदा केही किसानले डोकोमा टिपेर मालबाहक ट्रक, यात्रुवाहक बसमा हालेर पठाउँछन् । केही ठाउँमा ठेकेदार आफैँ बगैँचासम्म गाडी लिएर पुग्छन् । डोकोमा टिप्दा सुन्तलामा चोट लागेर नोक्सानी पनि हुने गरेको छ । 

लुम्बिनीमा उत्पादन भएको सुन्तला भण्डारण गर्न यहाँ शीत भण्डारको सुविधा केही पालिकामा भए पनि किसानले विश्वास गर्न छाडेका छन् । अघिल्ला वर्षहरूमा पाणिनी गाउँपालिका– २ पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखिएको सुन्तला कुहिएर नष्ट भएको थियो ।

null

सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पणेनाको सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टनमध्ये ६० मेट्रिक टन सुन्तला ढुसीले नस्ट गरेको थियो । लुम्बिनीको सुन्तलाको बजार बुटवल, नेपालगञ्ज र काठमाडौं हो । 

वैदेशिक रोजगारीमा गएका युवाहरू पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । पाल्पाको रैनादेवीका दुर्गा कँडेल १० वर्ष यूएईमा रोजगारी गरेर फर्किएपछि अहिले सुन्तला खेतीमा लागेका हुन् ।

उनी आफ्नो बगैँचा बढाउँदै लैजाने तयारीमा छन् । उनका अनुसार जिल्लामा व्यावसायिक सुन्तला खेतीलाई अर्ग्यानिक मल, औषधि र प्राविधिकजस्ता आधारभूत सुविधा छैन ।

पश्चिम नेपालको प्रमुख शहर बुटवलमा ‘ए ग्रेड’का सुन्तला अहिले २००, ‘बी ग्रेड’ १५० र ‘सी ग्रेड’ १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

null

प्राकृतिक दृष्टिले सुन्तला खेतीका लागि लुम्बिनीका ३ जिल्ला उपयुक्त स्थान भए पनि सुन्तला खेती प्रबर्द्धनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग स्पष्ट नीति र कार्यक्रम नहुँदा व्यावसायिक खेती बढ्न सकेको छैन ।

लुम्बिनी प्रदेशमा यो वर्ष सुन्तलाको उत्पादन कति भयो भन्ने यकिन तथ्यांक प्रदेश सरकारसँग देखिन्न । सुन्तला पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी भेगको हावापानीमा फल्ने गर्छ । नेपालका ६६ जिल्लामा सुन्तला खेती सम्भव रहेको बागवानी अधिकृत सन्देश धिताल बताउँछन् । लुम्बिनीमा सुन्तला उत्पादन र उत्पादकत्व वृद्धि, कीरा नियन्त्रण, बगैँचा सुदृढीकरणमा सरकारको केन्द्रित रहेको धितालको भनाइ छ । 

नेपालमा मौसमी हिसाबले कात्तिकदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुन्तला उत्पादन भइरहेको पाइन्छ ।

सुन्तला टिपिसकेपछि बोटलाई कटिङ गर्नुपर्छ । सुकेका, भाँचिएका हागाबिँगा हटाउने, जिंक हाल्ने, कम्पोस्ट मलमा रासायनियक मल पनि मिलाएर हाल्ने काम गर्नुपर्छ । सुन्तलाका लागि समशीतोष्ण हावापानी उपयुक्त हुन्छ । ग्रीष्म तथा तातो हावा नचल्ने ठाउँ उपयुक्त मानिन्छ । हरेक वर्ष करोडौंको सुन्तला आयात हुँदा त्यसलाई रोक्न राज्यको ध्यान जानुपर्ने किसानहरूको माग छ । 

salt training

कमेन्ट गर्नुहोस्