०५ साउन २०८३, मंगलबार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न न्यायाधीश समाजको माग

त्रिपाठीको अभिव्यक्तिमा भने जनाइयो आपत्ति
माघ १०, २०८१
काठमाडौं
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न न्यायाधीश समाजको माग

न्यायाधीश समाज, नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेको छ। 

माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराध गरेको मुद्दामा थुनछेक बहसपश्चात अदालत हाता बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको समाजले जनाएको छ । 

‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगको रूपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्यमाथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो। उक्त दिन काठमाडौं जिल्ला अदालत परिसर बाहिर वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानूनी कारबाही गर्नको लागि माग गर्दछ’, न्यायाधीश समाजका महासचिव टेकनारायण कुँवरले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, सो घटनापश्चात वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको अभिव्यक्तिप्रति भने समाजले आपत्ति जनाएको छ । विभिन्न सञ्चार माध्यममा सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा बदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वार्ता दिएको समाजको आरोप छ ।

‘कुनै न्यायाधीश विशेषबाट कानून बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारबाही कानून विपरीत भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानून बमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुन जान्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरीत हुने गरी आदेश गर्ने न्यायाधीशउपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको देखियो ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपालले खेद प्रकट गरेको महासचिव कुँवरले बताएका छन् ।

null

 

salt training

कमेन्ट गर्नुहोस्