
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६ बस्ने नन्दलाल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी साक्षीको रूपमा पेश गरिएका पौडेलले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
घुस लिई भ्रष्टाचार गरेको अभियोगमा अमृता कोइरालासहित प्रतिवादी रहेको मुद्दामा आयोगले उनलाई सरकारी साक्षी बनाएको थियो ।
आयोगका अनुसार उक्त भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण पौडेललाई सजायमा छुट दिई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो ।
तर, विशेष अदालतमा बकपत्र गर्दा आयोगमा अनुसन्धानका क्रममा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पौडेलले सञ्चालन गरेको एप्लस मेडिकोबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल- भरतपुर, चितवनमा औषधि सप्लाइ गरेबापत प्राप्त गर्नुपर्ने भुक्तानी रकमका लागि प्रतिवादी अमृता कोइरालाले १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजारको चेक गरी जम्मा ६ लाख रुपैयाँ घुस लिएको पाइएको थियो ।