
एउटा महिला शिक्षिका दुधे बच्चा बोकेर कति टाढासम्म स्कूल जान सक्लिन् ? तपाईंले भन्नुहोला दुई/चार वा १०/१५ किलोमिटर ! तर, होइन, रूपन्देहीकी शिक्षक सुनिता भुसाल दुधे बच्चा बोकेर दैनिक एक सय किलोमिटर यात्रा गर्छिन् ।
पिठयूमा छोरी बोकेर उनी दैनिक सार्वजनिक गाडीमा हिँड्छिन् । उनले कहिले उभिँदै एउटा हातले बच्चा र अर्को हातले गाडी समातेर र कहिले अरूले छोरी समाइदिएर आफू उभिएर बुटवलदेखि भैरहवा, लुम्बिनी हुँदै कपिलवस्तु पुग्नुपर्छ ।
दुई/तीन ठाउँमा सार्वजनिक गाडी परिवर्तन गर्दै कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित मोतिभारी माध्यमिक विद्यालय पुग्नु सुनिताको दैनिकी हो । तिलोत्तमा–२ शंकरनगरस्थित सुनिताको घरबाट स्कूलसम्मको दुरी ४८ किलोमिटर छ । गाडीबाट झरेर पनि केही मिनेट पैदल हिँडेर स्कूलमा पुग्नुपर्छ । स्कूल जाँदा र आउँदा उनको दैनिक छोरीसँगको शिक्षण यात्रा १०० किलोमिटर हुन्छ । अर्घाखाँची छत्रदेव–४ स्थायी घर भएकी सुनिता विस.२०७९ मा नियुक्त भएकी प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक हुन् । गएको वर्ष फागुन ३ गते छोरी जन्मिएपछि उनी ९८ दिन पाउने सुत्केरी बिदापछि छोरीलाई बोकेर दैनिक स्कूल आउजाउ गर्छिन् ।
‘डेलीभरी’ हुनुभअघि पनि उनले यहीँ दुःख गर्दै यात्रा गरिन् । बिहान ५ बजे उठेर आफू र छोरीको सम्पूर्ण काम दुई घण्टामा सकेर ‘रेडी’ हुनुपर्छ । बेलुका घर आइपुग्दा ६ बज्छ । खाना बनाउनेदेखि छोरीलाई खुवाउन तयार भई बिहान सवा ८ बजे भैरहवाका लागि गाडी चढ्नुपर्छ । यो आफ्नो दैनिक यात्रालाई सुनिता सुःख दुःखको संयोग ठान्छिन् । ‘यसलाई दुःख माने दुःख हो, सुख माने सुःख हो,’ सुनिता भन्छिन्, ‘अहिले मैले जिम्मेवारी र कर्तव्य एकैपटक निर्वाह गर्नुपरेको छ ।’
घरमा छोरी हेरिदिने मान्छे नहुँदा उनले बोकेर हिँड्नुपरेको हो । सुनिताजस्ता केही महिला शिक्षकले बच्चा लिएर स्कूल जाने गरे पनि दैनिक यति लामो यात्रा गरेर स्कूल जाने चाहिँ अहिलेसम्म उनले पनि देखेकी छैनन् ।
विस.२०७७ मा विवाह गरेकी सुनिताका श्रीमान यादवचन्द्र विष्ट पनि सरकारी सेवाको निजामती क्षेत्रअन्तर्गत बुटवल उपमहानगरपालिका रूपन्देहीमा कार्यरत छन् । सासू ससुरा पहाड गुल्मीमा रहँदा सुनिताको छोरी हेरचाह गरिदिने कोही भएनन् । ‘घरमा बच्चा हेरचाह गर्न विश्वासिलो मान्छे पाइँदैन,’ सुनिताले भनिन्, ‘किनकी आफन्त वा परिवार नजिकको मान्छे चाहिने रहेछ ।’
बाहिरको कोही छोरी हेरचाह गर्ने विश्वासिलो मान्छे पनि पाउन गाह्रो हुने हुँदा समस्या भएको उनले बताइन् । गणित शिक्षक सुनिता स्कूलमा छोरीलाई ‘लेजर पिरियड’ भएका कोही शिक्षकलाई हेर्न दिएर पढाउन कक्षामा जान्छिन् । अरूको खाली ‘पिरियड’ नभएमा छोरी बोकेरै पढाउँछिन् ।
दैनिक घरबाट छोरीलाई लिटो, उमालेको स्याउ र दुध पनि लैजान्छिन् । ‘इन्टरभल’को समय र लेजर पिरियडमा छोरीलाई खुवाउँछिन् । तराईमा कहिले उकुशमुकुस गर्मी हुने चमेनागृह (क्यान्टिन)मा दूध र लिटोसम्मको तातो हावासहितको गर्मी त, कहिलो बाक्लो हुस्सुसहित शीतलहरले गर्दा ५/७ डिग्रीसम्म अत्याधिक चिसोमा छोरीलाई लिएर दैनिक लामो शिक्षण यात्रा गर्दा छोरी पटक–पटक बिरामी पर्छिन् ।
सानैदेखि बोकेर हिडँदा छोरीलाई पटक–पटक चिसोले भेट्यो । अहिले पनि चिसोले गर्दा हप्तामा तीन दिन छोरीलाई बाफ लगाउनुपर्छ । ‘हप्तामा ६ दिन स्कूल जानुपर्छ, छोरी बिरामी हुँदा घरबाट बिहान ७ बजे हिँड्ने, एक घण्टा हस्पिटलमा बाफ लगाउने अनि फेरि ८ बजे गाडी चढेर स्कूलको यात्रा गर्ने गर्छु’ सुनिता भन्छिन्, ‘स्कूलबाट फर्किंदा पनि हस्पिटलमा पसेर एक घण्टा बाफ लगाएर घर जाने गर्छु ।’ छोरी बिरामी हुँदा छुट्टी लिएर पनि बस्नुपरेको छ ।

विद्यालय नजिकै डेरा लिएर बस्ने चाहना भए पनि सो क्षेत्रमा आफूले सुरक्षित महसुस गर्न नसकेर संघर्ष गर्दै बुटवलबाट आउने/जाने गर्नुपरेको सुनिताको भनाइ छ । उनले पढाउने स्कूल मोतिभारी मावि कपिलवस्तको सिमावर्ती क्षेत्रमा पर्ने भएकोले त्यहाँ पहाडी मूलमा मानिसहरूको बसोबास छैन । जहाँ उनले बच्चासहित बस्न सहज ठानिनन् । सुनिता र श्रीमान यादवचन्द्र दुवै जागिरे भएकोले घरमा आएपछि घरको काम पनि मिलेर गर्छन् । ‘म स्कूलबाट ४ बजे छुटेँ पनि घर आउँदा ६ बजिसकेको हुन्छ, उहाँ (श्रीमान) ५ बजे कार्यालयबाट छुटेर आउँदा सँगसँगै जस्तै हुन्छौं,’ सुनिता भन्छिन् । सुनिता र यादवचन्द्रको स्थायी घर गुल्मीको इस्मा गाउँपालिका–४ दोहली हो ।
अघिल्लो सरकारका शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको कार्यविधिले जेष्ठतालाई प्राथमिकता दिँदा आफूजस्ता धेरै शिक्षकहरूले सुरुवा हुन ठूलो समस्या भएको सुनिता बताउँछिन् । अहिलेको शिक्षक सरुवा कार्यविधि संशोधन हुने आशामा सुनिताजस्ता धेरै शिक्षकहरू छन् ।
महिलालाई दोहोरो जिम्मेवारी छ । पहुँचयुक्त सडक भए पनि बुटवल हुँदै लुम्बिनी जाने गाडी नचल्दा आफूजस्तो धेरै शिक्षक कर्मचारीलाई असुविधा भएको उनी बताउँछिन् । सुनिताले पहिलो पटकको प्रयासमै खुल्लाबाट शिक्षक सेवा आयोगमा नाम निकालेकी थिइन् । गणित विषयमा स्नातकोत्तर सुनिता पछिल्लो समय खुलेका निम्न माध्यमिक तह (निमावि) र माध्यमिक तह (मावि) मा खुलेका आयोगका विज्ञापनमा जागिर र दिनभरको हिँडाइले तयारी गर्न नपाउँदा दिन पाएकी छैनन् ।
विद्यालय तहको शिक्षण पेशमा महिला शिक्षकको संख्या बढ्दो छ । प्राथमिक तहमा पुरूषभन्दा महिला शिक्षकको संख्या दोब्बर बढी भए पनि उनीहरूले घर परिवार, बालबच्चा र पेशागतगरी दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ । बालबच्चासहित शिक्षकलाई घरपायक पर्ने स्कूलमा सहज सरुवा नहुँदा आफूजस्ता धेरै शिक्षकले ठूलो समस्या भोग्न बाध्य रहेको सुनिताको भनाइ छ । व्यक्तिगत र पारिवारिक रूपमा शिक्षकलाई घरपायक सकारात्मक हुनुपर्ने सुनिताजस्तै धेरै शिक्षकहरूले आवाज उठाउँदै आएका छन् ।
मुलुक संघीयतामा गएपछि संविधानत: शिक्षाको अधिकार स्थानीय तहमा आएको छ । नीतिगत रूपमा पालिकामा विद्यालय शिक्षाको जिम्मेवारी आए पनि शिक्षक व्यवस्थापनको सवालमा अवलम्बन गरिएको शिक्षक सरुवा ऐन अव्यवहारिक र विभेदकारी रहेको सुनिताजस्ता धेरै शिक्षकहरूको गुनासो छ ।