
सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले शेयर अप्लाइ गर्नका लागि छुट्टै एप्लीकेशन अथवा माध्यमको प्रयोग गर्नु नपर्ने भएको छ ।
बैंकले ग्राहकहरूका लागि मोबाइल बैंकिङमार्फत नै आईपीओ, एफपीओ, राइट शेयर तथा डेभेन्चर अप्लाइ गर्न सक्ने व्यवस्था गरेको हो ।
सिटिजन्स बैंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरूले सीआरएन(कस्टमर रजिस्ट्रेसन नम्बर) लगइन गरेर मोबाइल बैंकिङबाटै शेयर अप्लाइ गर्न सक्नेछन् ।
यसले ग्राहकहरूलाई आईपीओ भर्नका लागि छुट्टै एप्लीकेशन अथवा प्लेटफर्मको प्रयोग गर्न नपर्ने बनाइएको छ ।
कसरी हुन्छ मोबाइल बैंकिङबाट शेयर अप्लाइ ?
मोबाइल बैंकिङबाट शेयर अप्लाइ गर्नका लागि डी म्याट खाता, मेरो शेयर खाता र बैंकमा खाता खोलेको हुनुपर्ने छ । तर यसमा डिम्याट खाता र मेरो शेयर खाता जुनसुकै स्थानबाट खोलोको भए पनि हुन्छ ।
नयाँ ग्राहक अथवा कुनै पनि खाता नभएकाले सिटिजन्स बैंकबाटै डी म्याट खाता खोलेर मेरो शेयर खोल्न सक्नेछन् । यसका लागि ग्राहकको डिम्याट खातामा भएको नाम र मोबाइल नम्बर तथा सिटिजन्स बैंकको खातामा भएको नाम र मोबाइल नम्बर मिल्नुपर्ने छ । अर्थात् डिम्याट अकाउन्टमा भएको नाम र मोबाइल नम्बर एउटै हुनुपर्ने छ ।
सिटिजन्स बैंकको मोबाइल बैंकिङमा रहेको ‘माईआसबा’ अप्सनमा जानुपर्ने हुन्छ । माईआसबामा ग्राहक रजिस्ट्रेसन नम्बर(सीआरएन) रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ । उक्त रजिस्ट्रेसन गरिसकेपछि त्यहाँबाट खुलेका भर्न मिल्ने आईपीओ, एफपीओ र राइट शेयर अप्लाइ गर्न सकिने बैंकले जनाएको छ ।
एक पटक ‘माईआसबा’मा सीआरएन नम्बर रजिस्टर गरेपछि पुन: गर्नुपर्ने आवश्यक हुने छैन । ग्राहकले सिधै मोबाइल बैंकिङको ‘माई आस्बा’बाटै शेयर अप्लाइ गर्न सक्नेछन् ।
यसका साथै शेयर अप्लाइ गरेको केही मिनेट भित्रै अप्लाइ भए/नभएको जानकारीसमेत प्राप्त गर्न सकिन्छ । त्यस्तै, शेयर बाँडफाँटपछि पनि आवेदन दिएको शेयर परेको र नपरेको समेत ‘माईआसबा’मार्फत जानकारी पाउन सकिन्छ ।