
अछाममा दुई किशोरी मृत फेला परेको घटना अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली अछाम जाने भएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीबाट विज्ञ र सीआईबीको टोली अछाम आउन लागेको अछाम प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार दुवै टोली आज साँझसम्म अछाम पुग्ने छ । टोली पुगेपछि घटनाको सुक्ष्म अनुसन्धान हुने प्रहरीको भनाइ छ ।
दुई किशोरीको नियोजित हत्या गरिएको निष्कर्ष प्रहरीले निकालेको छ । तर, उनीहरुको बलात्कारपछि हत्या भएको हो/होइन भन्नेबारे विधि विज्ञान प्रयोगशालाको रिर्पोटमा मात्रै खुल्ने प्रहरी स्रोतले जनाएको छ ।
उनीहरूमाथि बलात्कार भएको हो वा होइन भन्ने परीक्षणका लागि भेरी अस्पतालले स्वाब संकलन गरेर विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले एक जना किशोरीले बिहे गर्न नमानेपछि उनको हत्या भएको देखिएको छ । पक्राउ परेका १७ वर्षीय किशोरले मृत भेटिएकामध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए । तर, ती किशोरीले बिहे गर्न अस्वीकार गरेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १७ वर्षीय किशोर बिहेको दबाब दिन किशोरीहरू गोठाला गएको जंगलमै पुगेका थिए । उनका साथमा अरु साथीहरू पनि थिए । उनले बिहेका लागि निकै दबाब दिए । तर, किशोरीले मानिनन् । नमानेपछि भीरबाट खसालिदिए । घटनाबारे अर्की किशोरीले देखेपछि उनलाई समेत त्यसरी नै भीरबाट खसालिएको प्रहरीले जनाएको छ ।
अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी शनिबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेका थिए । उनीहरू बाख्रा चराउन जंगल गएका थिए ।
शुक्रबार जंगल गएका उनीहरू शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो । त्यसक्रममा गोठाला गएको जंगलमा करिब १६ मिटरको फरकमा दुई किशोरीको शव फेला परेको थियो ।