![मतान्तर कम होला तर चुनाव मैले जित्छु, नारायणकाजी फस्नुभो : बाबुराम [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/baburam-election_Mx1f0RT5Nh.png)
गोरखा, ४ मंसिर – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा बाबुरम भट्टराईले मत अन्तर कम भएपनि चुनाव आफैले जित्ने दाबी गरेका छन् ।
शनिवार राति गोरखाको पालुङटारमा लोकान्तरसँगको छोटो तर विशेष कुराकानीमा भट्टराईले भने, ‘मप्रति गोरखाली जनताको अपार माया र सद्भाव छ, कमै मतले भएपनि चुनाव जित्दैछु ।’
अर्थमन्त्री र प्रधानमन्त्री रहँदा पूर्वाधार विकासको काम गरेको र प्रत्येक महिना जिल्ला आइरहेका कारण मतदाताले आफूलाई रोज्ने भट्टराईले दावी गरे ।
नारायणकाजी श्रेष्ठले काठमाडौंका केही बुद्धिजिवीलाई वक्तव्य निकाल्न लगाएर आफूलाई मत नदिन आग्रह गरेको घटनालाई आफूले श्रेष्ठको पराजयको पूर्व संकेतका रुपमा बुझेको भट्टराइको भनाइ छ । ‘उहाँप्रति मेरो सद्भाव छ । गोरखामा नआउनुहोस् भनेर मैले पनि उहाँलाई सम्झाए । तर मान्नु भएन । उहाँ हार्दै हुनुहुन्छ । फस्नु हुने भो ।’
गाउँको गोठालो (आफैलाई गोठालोसँग तुलना गर्दै) एसएलसीमा बोर्ड फष्ट भएदेखि नै आफूले गोरखाली जनताको माया र स्नेह पाएको उनले बताए ।
‘कुनै पार्टीको कार्यकर्ताको रुपमा मात्र नभइ गोरखाली जनताको छोराको रुपमा माया र स्नेह पाएको छु’ उनले भने ।
उनले आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठमा वोल्ने कला भएको तर गोरखाली जनतासँग कुनै साइनो नभएको आरोप लगाए ।
‘उहाँ (नारायणकाजीजी) आर्टिकुलेट (राम्रो वोल्न सक्ने क्षमता) भएको व्यक्ति हो । मिडियामा राम्रै प्रचार गर्न खप्पिस हुनुहुन्छ,’ भट्टराइले थपे, ‘गोरखाका जनतासँग उहाँको कुनै साइनो छैन । नआउनुहोस् भन्दा भन्दै खै कस्को के रणनीतिमा उहाँ यहाँ आउनुभयो । तर उहाँ फस्नु हुने भो किनभने उहाँ चनुाव हार्दै हुनुहुन्छ ।’
भट्टराइसँगको पूरै कुराकानी हेर्न भिडियो क्लिक गर्नुहोस्ः